भारत सरकारको अनुदान सहयोगमा तनहुँको घिरिङ गाँउपालिकामा अवस्थित दीपक माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ।
भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले भारत सरकारको अनुदान सहयोगमा तनहुँको घिरिङ गाँउपालिकामा अवस्थित उक्त विद्यालय भवन संयुक्त रुपमा उद्घाटन गरे।
भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको २ करोड १ लाख ९० हजार आर्थिक सहयोगमा सामुदायिक विकास परियोजनाको रुपमा भवन बनेको हो।
यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनामध्ये एक हो।
सन् १९७५ मा प्राथमिक विद्यालयको रुपमा स्थापित विद्यालय सन् २००० मा माध्यमिक विद्यालयको रुपमा स्तरोन्नति भएको हो।
यस विद्यालयमा १८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। जसमध्ये ६० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने दूतावासले जनाएको छ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ।
स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन्।
तीमध्ये तनहुँका ६ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन्। भारत र नेपालबीच बहुपक्षीय एवम् बहुपक्षीय विकास साझेदारी छ।
Shares
प्रतिक्रिया