विद्यालय जान सडकछेउ बस कुरिरहेका बेला तनहुँको बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा ट्रकको ठक्करबाट घाइते ६ बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ।
पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रकको ठक्करबाट बुधबार घाइते भएका ६ बालबालिकाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। उनका अनुसार ती बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ।
दुर्घटनामा बन्दीपुर गाउँपालिका–५ बस्ने ६ वर्षीया आयुषा भुजेल, १० वर्षीया जस्मिन भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय समीर भुजेल र ५ वर्षीय सन्तोष भुजेल घाइते भएका थिए।
उक्त दुर्घटनामा सोही ठाउँका १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेलको मृत्यु भएको थियो। उनीहरु आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा पढ्थे। बालबालिका सधैँझैँ उक्त दिन पनि विद्यालय जान बिहान ९:३० बजे सडक छेउमा उभिएका थिए।
यत्तिकैमा अचानक डुम्रेबाट आएको ट्रकले बालबालिकालाई ठक्कर दियो। उक्त ट्रकले बालबालिकासँगै सडक छेउमै रहेको एक घरमा पनि ठक्कर दियो। ठक्करबाट विद्यालय जान तयारी गरिरहेका विद्यार्थी र अन्य दुई जना घाइते भएका थिए।
उक्त घटनाप्रति बन्दीपुर गाउँपालिकाले दुःख व्यक्त गरेको छ। दुर्घटनामा मृत्यु भएका तीन जनाप्रति समवेदना व्यक्त गर्दै गाउँपालिकाले घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ। रासस
Shares
प्रतिक्रिया