गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय सहर पोखरामा रात्रिकालीन व्यवसाय सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । उनले पर्यटकीय क्षेत्रका होटल, रेष्टुरेन्टहरु निश्चित मापदण्ड बनाएर चौबीसै घण्टा खोल्ने वातावरण बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन पनि दिएका छन्।
‘शान्ति सुरक्षा कमजोर हुन्छ कि भनेर १० बजे नै होटल, रेष्टुरेन्ट बन्द गराउने होइन,’ मुख्यमन्त्री पाण्डेले भने, व्यवसायीले चाहन्छन् भने पर्यटकीय ठाउँका होटल, रेष्टुरेन्ट निश्चित मापदण्ड बनाएर २४ सै घण्टा खोल्न दिनुपर्छ, शान्ति सुरक्षा हाम्रो दायित्व हो।’
मुख्यमन्त्री पाण्डे सोमबार पोखरामा आयोजित प्रदेश शान्ति–सुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीतिसहितको गुरुयोजना निर्माणसम्बन्धी गोष्ठीमा बोल्दै थिए ।
पोखरामा रात्रिकालीन व्यवसाय सञ्चालनको आवाज उठ्न थालेको धेरै अगाडिदेखि हो। यसअघिका मुख्यमन्त्रीहरुले पनि रात्रिकालीन व्यवसाय सञ्चालनको लागि निर्देशन दिँदै आएका थिए।
कतिसम्म भने निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले त पर्यटनसँग सम्बन्धित एउटा कार्यक्रमबाटै कास्कीका प्रहरी प्रमुखलाई फोन गरेर तत्काल रात्रिकालीन व्यवस्था मिलाउन निर्देशन दिएका थिए।
तर, पोखरामा रात्रिकालीन व्यवसाय सञ्चालनमा आउन सकेको छैन। केही क्लबहरुले अदालतको आदेशसँगै अबेरसम्म व्यवसाय सञ्चालन गरे पनि साना व्यवसायलाई भने प्रहरीले १०–११ बजे रातितिर बन्दै गराउँदै आएको छ। पोखरा एयरपोर्टमा पछिल्लो समय रात्रिकालीन उडान हुँदै आएको छ।
बेलैमा होटल र रेष्टुरेन्ट बन्द हुँदा रात्रिकालीन उडानबाट पोखरा झर्ने पर्यटकहरुले खाना र बस्न असुविधा भोग्दै आएका छन्। आइतबार मात्र पोखराका मेयर धनराज आचार्यले पर्यटन व्यवसायीहरुसँगको कार्यक्रममा रात्रिकालीन उडान गर्ने तर खाना र बस्नको व्यवस्था नहुने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखेका थिए।
‘कम्तिमा लेकसाइड ढिलोसम्म र सके २४ सै घण्टा खुल्नुपर्छ, पर्यटक बोलाउने तर भोकभोकै बाटोमै बस्न बाध्य बनाउन मिल्दैन,’ उनले भनेका थिए,‘ यसको लागि लेकसाइडको निश्चित क्षेत्रलाई आवासीय हैन कि व्यावसायिक बनाउनु जरुरी छ।’
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको मुख्य क्षेत्र अहिले पनि स्थानीयले आवासकै रुपमा प्रयोग गर्दै आइरहेका छन्। रात्रिकालीन व्यवसायले आफ्नो निद्रा खल्बलिएको एवं शान्ति–सुरक्षामा असर पारेको उनीहरुको गुनासो छ। रेष्टुरेन्ट व्यवसायीहरु भने निर्वाध व्यवसायको पक्षमा छन्।
गण्डकी प्रदेशका डीआइजी बुद्धिराज गुरुङले चाहिँ मेयर उपस्थिति कार्यक्रममै शान्ति–सुरक्षाको सवालमा सम्झौता नहुने बताए। मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र कानून मिच्ने छुट कसैलाई नभएको उनको भनाई थियो।
Shares
प्रतिक्रिया