संघीय राजधानी काठमाडौं र गण्डकी प्रदेशको राजधानी पोखरा उपत्यकाबीचको दूरी २ सय किलोमिटर रहेको छ। काठमाडौं र पोखरालाई पृथ्वी राजमार्गले जोड्छ।
राजमार्गको अवस्था सामान्य हुँदा यो दूरी सार्वजनिक यातायातको साधनले ६ घण्टामा छिचोल्थे। तर, अवस्था त्यस्तो छैन। अहिले यो दूरी छिचोल्न झण्डै १२ घण्टा लाग्छ। बर्खा लागेर हैन, राजमार्गको स्तरोन्नतिको क्रममा उत्पन्न अवरोधले यो अवस्था आएको हो।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा सन् १९६७ मा निर्मित सडक खण्डमध्ये मुग्लिन–पोखरा सडक खण्डको स्तरोन्नतिको काम थालियो। एसियाली विकास बैंकको तर्फबाट १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग उपलब्ध भएसँगै नेपाल सरकार थप ५ अर्ब ९० करोड लगानी गर्न तयार भयो।
कुल ८४३ मिटर लामो मुग्लिन–पोखरा सडक खण्डलाई ४० देखि ६० किलोमिटर प्रतिघण्टाको दूरीमा सवारी साधन गुडाउन मिल्ने गरी ४ लेनको सडकको ठेक्का दुई चिनियाँ कम्पनीले पाए।
मुग्लिनदेखि तनहुँको जामुनेसम्मको ४१ किलोमिटर पूर्वी खण्डको लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग २०७७ साल माघ १७ गते छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भयो। २०८१ साल वैशाखसम्म निर्माण सक्ने प्रतिवद्धतासहित कम्पनीले २०७८ साल वैशाख २ गतेदेखि निर्माण कार्य सुरु गर्यो।
पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्मको जिम्मेवारी चीनकै यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रसनले पायो। २०७८ जेठ २ गते सात अर्ब ४० करोड ४६ लाखमा गरिएको सम्झौताको म्याद २०८१ साल भदौसम्म कायम गरिएको छ। तर, सम्झौता अनुसारको समयावधि नजिकिँदै गर्दा पनि निर्माणले गति लिन सकेको छैन।
पूर्वी खण्डमा ३१.५ र जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा लगभव ५ प्रतिशत प्रगति भएको मुग्लिन– पोखरा सडक परियोजना (पूर्वी खण्ड) का प्रमुख इञ्जिनियर सीडीई नरेन्द्र सुवेदीको भनाइ छ।
निर्माणले गति नलिँदा यात्रुले पाउने सास्ती छ छँदैछ, ढुवानीमा लागत पनि बढेको छ। यसको प्रत्यक्ष मार पोखरा र समग्र गण्डकीले भोगिरहेको यस क्षेत्रका व्यवसायीहरुले गुनासो गरिरहेका छन्।
पोखरा उद्योग वाणिज्य संघले गण्डकीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीलाई भेटेर राजमार्ग स्तरोन्नतिको गति बढाउन माग गरेको छ भने पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद्ले राजमार्गको अवलोकनसहित समस्या समाधानमा सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा सहयोग पुर्याउने, काठमाडौं–पोखराको यात्रा अवधि छोट्याउने र यो क्षेत्रको आर्थिक एवं सामाजिक रुपान्तरणको लागि कोषेढुंगा सावित हुने अपेक्षासहित सुरु भएको निर्माणले गति नलिँदा पोखराको पर्यटन उद्योग नै धरापमा परेको छ।
‘सडक विस्तार कार्य अगाडि बढ्नु सकारात्मक पक्ष हुँदाहुँदै पनि निर्माण पक्षबाट भएको सुस्त र अव्यवस्थित विस्तार कार्यबाट सेवाग्राहीले थुप्रै कठिनाइ र झन्झटहरु भोग्दै आउनु परेको छ,’ साउने झरीबीच नै तनहुँको दमौलीमा आइतबार आयोजित पत्रकार सम्मेलन तथा छलफल कार्यक्रममा उनले भने,‘समयमा बाटो नबन्दा निजी क्षेत्रले बिक्रीयोग्य बस्तु, अन्य उत्पादन र कच्चा पदार्थ ढुवानीमा लामो समय खर्चनु परेको छ। भूकम्प र नाकाबन्दीपछि कोभिड– १९ को मार खेपेको पर्यटन र उद्योग वाणिज्य क्षेत्रका लागि पहुँचमार्गको यो अवरोध अर्को अभिसाप बन्न पुगेको छ।’
सडक सञ्जालको दुरावस्थाले औपचारिक रुपमै नेपालको पर्यटकीय राजधानी घोषणा हुन लागेको पोखराका लागि नकारात्मक असर परेको पनि उनले बताए।
मुग्लिन–पोखरा सडक खण्डको विस्तार र स्तरोन्नति पर्यटन व्यवसायीहरुको मुख्य चासो रहेको बताउँदै उनले सडक विस्तारको शैली परिवर्तन गर्न, एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारी साधनको सहज आवतजावतको वातावरण सिर्जना गर्न र विभिन्न सिफ्टमा काम गर्नुपर्नेमा पनि जोड दिए।
‘सम्भव भएका ठाउँमा वैकल्पिक मार्ग र डाइभर्सनहरुको व्यवस्था गरी यात्रालाई सहज र छिटो बनाउन सके झनै उत्तम हुने थियो,’उनले भने।
Shares
प्रतिक्रिया