पहिलो होस् या दोस्रो विश्वयुद्धमा गोरखा लाहुरेले आँट देखाए, वीरताको इतिहास लेखाए।
इतिहासका पानामा गोरखा लाहुरेका कथा धेरै लेखिएको छ। कतै बहादुरीको कथा त कतै इमानदारीताको। तर, लाहुरेनीको कथा नेपथ्यमै हराइरह्यो।
गोली, बारुद र खुकुरीको धारमा होमिने लाहुरेका आत्मविश्वास बनेका लाहुरेनीहरु जहिल्यै छायामै रह्यो।
मीना गुरुङलाई त लाहुरेनीप्रतिको हेर्ने दृष्टिकोणले आत्मा दुखाएको छ।
‘कथाव्यथा, लाहुरेनीको योगदानलाई उसले निभाएको अहम् भूमिकालाई कसैले पनि चासो दिएनन्। इतिहासविद्हरु, राजनीतिकर्मीहरुले, साहित्यकारहरुले ध्यान दिएनन्,’ गण्डकी प्रदेश सभाको पूर्वसदस्यसमेत रहेकी गुरुङले गुनासो गरिन्।
गोरखा महिलाले वेदनापूर्ण जीवन बिताएको उनले स्मरण गरिन्। आफ्नो सपना निमोठेर बाँच्नुपरेको मीना स्वयमको भोगाइ छ।
लाहुरेनीका सुख–दुःखबारे चित्र कोर्दै आइरहेकी चित्रकार सुजना थापा श्रीष २०७ वर्षपछि बल्ल गोरखा महिलाबारे थोरै भए पनि चर्चा हुन थालेको बताउँछिन्। लामो इतिहासमा लाहुरेनी हराएको उनले बताइन्।
‘कथाहरु लाहुरेकै आयो बहादुरीको, विजयको। तर, हामीले भावनात्मक, आर्थिक, अलिकति सामाजिक कुरालाई छाड्यौँ,’ अनुसन्धानकर्मीसमेत रहेकी सुजनाले भनिन्। गोरखा इतिहासलाई पाठ्यक्रममै समेट्न नसक्दा लाहुरेनी गुमनाम भएको उनको ठम्याइ छ।
शब्द र कथाले बुनेको गोरखा इतिहासमाथि गहिरो अनुसन्धानको आवश्यकता सुजनाले औँल्याइन्।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक महासचिव डा. चन्द्रबहादुर गुरुङ गोरखा महिलाले लडाँइमा श्रीमान गुमाएर पनि पेन्सन नपाएको सुनाए। गाउँमा एकाथरी नाम पल्टनमा अर्कोथरी नाम हुँदा आर्थिक रुपमा चेपुवामा परेको उनले बताए।
‘प्रेमी फर्केर आउँछ भन्दाभन्दै जीवन बित्यो। पेन्सन पनि पाएनन् समाजले पनि नानाथरी लाञ्छना लगायो,’ उनले भने।
गोरखाका महिलाको पीडा सुनाइसाध्य नरहेको चन्द्रबहादुर बताउँछन्। उनीहरु पोखरामा जारी साहित्य महोत्सवको लाहुरेनीको कथा सेसनमा गफिएका हुन्।
Shares
प्रतिक्रिया