अघिल्लो वर्ष पुस २५ गते एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमत्री नियुक्त भए। माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका उनले सोही दिन एमालेबाट सीता सुन्दास, माओवादीबाट हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पञ्चराम गुरुङलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए।
पुस २९ गते खगराजले विश्वासको मत लिए। माघ १० गते मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा उनले राप्रपाका गण्डकी अध्यक्षसमेत रहेका पञ्चराम गुरुङलाई सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सुम्पे।
केन्द्रमा सत्ता समीकरण भत्क्यो। माओवादी केन्द्रले कांग्रेस रोज्यो र सरकारलाई दिएको समर्थन फिर्ता लियो। २०८० साल वैशाख ९ गते विश्वासको मत लिने क्रममा राप्रपाले एमालेलाई छाडेन। विश्वासको मत दियो तर सरकार जोगिएन। १०५ दिन मुख्यमन्त्रीको रुपमा रहेका खगराजसँगै राप्रपा संसदीय दलका नेता पञ्चरामको मन्त्री पद पनि गयो।
अहिले केन्द्रीय राजनीतिमा राप्रपा र एमालेबीच सहमति छैन। त्यसको बाछिटा प्रदेशमा पर्ने नै भयो। तर, १०५ दिने सत्ता सहयात्राको क्रममा एमाले नेताहरुसँग राप्रपाका सांसद पञ्चराम गुरुङको आत्मियता झांगियो। संसदीय दलका नेता खगराजसँग उनी व्यक्तिगत रुपले नै नजिक भएको एमाले नेताहरू जिकिर गर्छन्। पञ्चराम स्वयं पनि एमाले नेताहरुसँगको हार्दिकता लुकाउँदैनन्।
यतिबेला गण्डकीमा एमाले–माओवादी गठबन्धन बनेको छ। राप्रपालाई भने केन्द्रदेखि यो गठबन्धन बाहिर पारिएको छ। जसले गर्दा आत्मिय सम्बन्ध भए पनि पञ्चराम एमालेबाट टाढै छन्।
परिस्थिति कस्तो छ भने, राप्रपाको समर्थनबिना यहाँ एमाले–माओवादी गठबन्धनले सरकार बनाउन मुस्किल छ। जसले गर्दा पञ्चरामलाई प्रभावमा पार्न एमाले नेताहरु हदैसम्मको प्रयास गरेका छन्। अनौपचारिक कुराकानीमा पञ्चरामले पनि ‘आफ्नो मन एमालेतिरै भएको’ अभिव्यक्ति दिँदै आएका छन्।
पञ्चरामको मन त्यतै होला तर बुधबार उनको पार्टीले भने वर्तमान सत्ता गठबन्धनविरुद्धमा उभिने निर्णय गर्यो। केन्द्रको निर्णयले पञ्चराम बाँधिए। केन्द्रको निर्णयले बाँधिए पनि पञ्चरामको विश्वास लिने एमालेको कसरत जारी छ।
यही उपक्रममा एमाले गण्डकीका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पञ्चरामको भेट गराएका छन्। एमाले कास्कीको ११ औं महाधिवेशनबाट विजयीहरूको सपथग्रहण समारोहमा भाग लिन शुक्रबार पोखरा आएका ओलीले व्यक्तिगत रुपमै पञ्चरामलाई फकाउने प्रयत्न गरेका छन्। औपचारिक कार्यक्रम अगाडि पोखराको एक होटलमा अध्यक्ष ओली र राप्रपा नेता गुरुङबीच भेटघाट भएको छ।
भेटको क्रममा ओलीले गण्डकीमा एमाले–माओवादी गठबन्धनलाई सघाउन पञ्चरामसँग आग्रह गरेका थिए। जवाफमा पञ्चरामले चाहिँ यही चैत २७ गते पार्टीको आह्वानमा हुन लागेको आन्दोलन र केन्द्रको निर्णयको हवाला दिँदै एक्लै केही निर्णय गर्न नसक्ने बताएका थिए।
‘उहाँहरु (एमाले) ले भेटौं भन्नुभयो, मैले मेरो कुरा राखेँ, उहाँ (ओली)ले देशका लागि मिलौँ भन्नुभयो,’ राप्रपा नेता गुरुङले भने।
एमाले स्रोतका अनुसार अध्यक्ष ओली आफ्ना विश्वासपात्र खगराज अधिकारी सत्तामा फर्केको देख्न चाहन्छन्। तर, २२ सांसद रहेको एमाले, सभामुखसहित ८ जना रहेको माओवादी केन्द्रको समर्थनले मात्र सरकार बन्दैन। सरकार बनाउन राप्रपा अनिवार्य सर्त हो।
उता, माओवादी केन्द्रको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा बिच्कन्छन् कि भन्ने त्रास पनि उस्तै छ। स्वतन्त्र सांसद दीपक मनाङेले यसअघि कांग्रेसलाई सघाउँदै मन्त्री बनेको परिस्थितिलाई राम्रोसँग बुझेकैले ओलीले केन्द्रीय समीकरण बिर्सेर/लचिलो बनेर पञ्चरामसँग सहयोग मागेका हुन्।
सरकार बनाउनै लागि एमालेले ‘पञ्चरामको पाउ मोल्ने’ अवस्थामा पुगेको हो? भन्ने नेपालखबरको प्रश्नमा भने एमालेका ती नेताले असहमति जनाए।
‘पाउ मोल्ने शब्दावली प्रयोग नगरौँ। राजनीतिमा सधैँ सबैलाई निषेध हुँदैन, आवश्यकता अनुसार सहकार्यको हात फैलाइन्छ, आज अध्यक्षज्यूले पञ्चरामलाई भेटेर त्यही काम गर्नुभएको हो,’ एमालेका ती नेताले भने,‘ मध्यावधिमा जान कोही तयार नभएको अवस्थामा राप्रपाले अन्त्यमा एमालेलाई नै साथ दिन्छ भन्ने विश्वास बाँकी छ।’
यता, पञ्चरामसँग सहयोगको अनुरोध गरेर पोखरा सभागृहमा आएका अध्यक्ष ओलीले हाल सत्ता गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र अर्का नेता झलनाथ खनाललाई सधैँ पद चाहिने भन्दै व्यङ्ग्य गरे तर राप्रपालगायतका अन्य दलबारे टिप्पणी गरेनन्।
उनले प्रचण्डसँग सहकार्य टुटेको र फेरि जोडिएको प्रसङ्गको क्रममा भने,‘मित्र भयो भन्दैमा सधैँ मित्र र मतभेद रह्यो भन्दैमा सधैँ मतभेद नै रहन्छ भन्ने हुँदैन।’
Shares
प्रतिक्रिया