ad ad

गण्डकी


पर्वतमा पदम गिरीको दाबी : रवि लामिछानेको नाम नराखीकनै सहमति हुन्छ

पर्वतमा पदम गिरीको दाबी : रवि लामिछानेको नाम नराखीकनै सहमति हुन्छ

नेपाल पत्रकार महासंघले पर्वतमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी। तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस


नेपालखबर
जेठ १२, २०८१ शनिबार १३:८, पर्वत

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा आइतबारसम्ममा सहमति जुट्ने बताएका छन्। 

गृहजिल्ला पर्वत आएका मन्त्री गिरीले नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यादेशसहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षी दलको अडानका कारण समिति गठनमा विलम्ब भएको उल्लेख गर्दै सत्ता र प्रतिपक्ष लचिलो भएर टुङ्गोमा पुग्नुपर्ने बताए। 

उनले  आइतबारको संसद् बैठकअघि नै सहमति हुने र संसद्का काम/कारबाही सञ्चालन हुने दाबी गरे। बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गर्ने प्रावधानसहित सहमति गर्नुपर्नेमा सत्तापक्ष सकारात्मक रहेको उनले बताए। 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने प्रतिपक्षी दल आफ्ना अडानबाट पछि हटिसकेको भन्दै  मन्त्री गिरीले अपचलन गर्ने कम्पनी वा सहकारीको नाम भने लेख्न सकिने बताए।

उपप्रधान तथा गृहमन्त्री दोषी हो वा होइन भन्ने कुरा छानबिन पछि मात्र पुष्टि हुने भएकाले कुनै व्यक्तिको नाम तोकेर जाँदा गलत नजिर स्थापित हुने बताए। 

मन्त्री गिरीले आइतबार संसद्‌बाट नीति तथा कार्यक्रमको छलफल टुङ्ग्याएर पारित गरिने र १५ गते बजेट ल्याउने तयारीमा सरकार जुटेको बताए। उनले सरकार संसद् छलेर अध्यादेशबाट बजेट ल्याउने पक्षमा नरहेको बताए।

‘जेठ १५ गते जसरी पनि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ, यसमा प्रतिपक्षी दलले पनि सहयोग गर्नुपर्छ’, उनले भने।

फरक प्रसङ्गमा मन्त्री गिरीले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक चाँडै टुङ्गोमा पुग्ने दाबी पनि गरे।

विधेयकमा सबै राजनीतिक दलका शीर्ष नेता सकारात्मक रहेको तथा उनीहरू सहमतिको नजिक भएको दाबी गर्दै उनले विपक्षी दलको अवरोधका कारण संसद् सहज ढङ्गले सञ्चालन नहुँदा  दर्जनौँ विधेयक थन्किएका बताए।

विधेयक पारित नहुँदा स्थानीय र प्रदेश सरकारलाई काम गर्न कठिन भएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .