ad ad

गण्डकी


‘बालेनको प्रशंसामा तीज गीत गाउँदा’ कर्मचारीको सरुवा!

भ्रामक प्रचार, गीतको भ्युज बढाउने प्रपञ्च : पोखरा महानगरपालिका
‘बालेनको प्रशंसामा तीज गीत गाउँदा’ कर्मचारीको सरुवा!

गायिका तथा कर्मचारी चन्द्रावती वाग्ले


वाशुदेव मिश्र
भदौ ३, २०८१ सोमबार ११:२६, पोखरा

कर्मचारीको सरुवा-बढुवामा आम मान्छेको खासै चासो रहँदैन। कर्मचारी स्वयं पनि यसलाई नियमित प्रक्रिया नै मान्छन्।

तर, पोखरा महानगरपालिकाकी एक कर्मचारीको सरुवा अहिले चर्चामा छ।

सरुवा त ४२ जनाको भएको थियो तर महानगरको सामाजिक शाखामा कार्यरत सातौँ तहकी अधिकृत चन्द्रावती वाग्लेचाहिँ ‘भाइरल’ बनिन्।

कारण- काठमाडौँका मेयर बालेन शाहका प्रशंसामा गाइएको तीजेगीत।

चन्द्रावतीले हरेक वर्ष तीजेगीत निकाल्छिन्। यसपटक भने उनले काठमाडौँका मेयर बालेन शाहको प्रशंसा गर्दै तीजेगीत सार्वजनिक गरिन्। साउनको पहिलो सातातिर सार्वजनिक गीतमा ८ वटा टुक्का छन्।

‘सबै नेता उतै भुले, जता चाटे गुलियो 
चारैतिर बालेनको चर्चा चुलियो’

‘कति नेता आए गए, सबको काम हेरियो  
 बालेन आए काठमाडौँको रूप फेरियो। 

लुटिएका कैयौँ जमिन सरकारमा सार्दै छन् 
साँघुरा ती सडकपेटी चाक्ला पार्दै छन्।

सबैजसो टुक्का बालेनको प्रशंंसामा खर्चिएकी चन्द्रावतीले बालेनसँग अरू नेताले सिक्नुपर्ने जिकिर पनि गरेकी छन्।

बालेनको प्रशंसा गर्न पाउनु उनको अधिकार हो । तर, गीत निक्लेको करिब ३ सातापछि महानगरले निकालेको सरुवाको सूचीमा उनको पनि नाम पर्‍यो। 

पोखराको सबैभन्दा सुगम वडा नम्बर ३ को सचिवबाट ३ महिनाअघि सामाजिक विकास शाखामा सरुवा भएकी उनलाई पोखरा २३ मा पठाइयो। जुन ग्रामीण वडा हो। पोखरालाई महानगर बनाउने क्रममा चापाकोट, रुपाकोटलगायत गाउँपालिका महानगरका वडा बने। 

चन्द्रावती स्वयंले आफूले बालेनको प्रशंसामा गीत गाएपछि महानगरका मेयर धनराज आचार्यको सोझो आदेशमा सरुवा गरिएको आरोप लगाएकी छन्। यति मात्र होइन, उनले उक्त गीत युट्युबबाट हटाउन दबाब दिइएको दाबी पनि गरेकी छन्।

महानगरमा झण्डै ३० वर्ष काम गरिसकेकी उनले गीतचाहिँ नहटाउने बरु जागिर छाड्ने सार्वजनिक अभिव्यक्ति दिएपछि यो विषय झन् चर्चामा आयो। सामाजिक सञ्जालमा मेयर आचार्यविरुद्ध अभिव्यक्ति आउन थालेपछि महानगरले आइतबार राति विज्ञप्ति नै जारी गरेको छ। 

महानगरका प्रवक्ता मोतीराज तिम्सिनाले जारी गरेको विज्ञप्तिमा आर्थिक वर्ष २०८१/०८२ को प्रारम्भसँगै पोखरा महानगरपालिकाले ४२ जना कर्मचारीको पहिलो चरणको आन्तरिक सरुवा गरेको तथा कर्मचारी सरुवा कुनै व्यक्ति वा गीत-संगीतप्रति लक्षित नभएको उल्लेख गरिएको छ। 

सरुवा नियमित प्रक्रिया भएको जिकिर  गर्दै विज्ञप्तिमा चन्द्रावती वाग्लेले आफ्नो गीतको दर्शक बढाउन यो प्रपञ्च रचेको आरोप पनि लगाइको छ।

‘इन्टरनेटमा अपलोड गरिएका सामग्रीहरूको भ्युज बढाउने मनसायले गरिएका यस प्रकारका भ्रामक प्रचार तथा टिकाटिप्पणीहरूको पछाडि नलाग्नु हुन पोखरा महानगरपालिका सबैमा अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

तर चन्द्रावतीले आफूलाई तीन महिनाअघि मात्र सरुवा गरिएको र अहिले गीतकै कारण फेरि सरुवामा पारिएको आरोप लगाएकी छन्।

‘सामान्यतया तीन महिनामै सरुवा हुँदैन, कि मैले गलत गर्नुपर्‍यो’, उनले भनिन्, ‘मेयर आफैँले अनुशासनमा नबस्ने, आफ्नो मेयरको गीत नगाउने तर अर्काको गाउने भन्ने प्रश्न गर्दै सरुवाको कागजमा रातो कलमको टुप्पोले लेख्नुभएछ। मैले बालेनको गीत गाएको हो, पोखराका मेयरविद्ध केही त गरेको छैन नि!’

वाग्ले नेपाली कांग्रेसनिकट कर्मचारी हुन्। २०७२ सालतिर उनीविरुद्ध अनियमितताको आरोप लागेको थियो।

तर, नायब सुब्बाबाट बढुवा हुन रोक्न तत्कालीन समयमा आफूविरुद्ध प्रतिशोधपूर्ण तरिकाले आरोप लगाइएको र सफाइ पाइसकेको उनको भनाइ छ।

सो पुरानो समाचारलाई सेयर गर्न मेयरले नै उर्दी जारी गरेको पनि उनले जिकिर गरेकी छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘एउटा निरीह कर्मचारीलाई दु:ख दिएर आफूलाई महान् शासक सम्झनेहरू हो!सामान्य कर्मचारीलाई यो वा त्यो बहानामा लुटिरहेका कुरा बाहिर ल्याउन नपरोस्। अझ सबै कर्मचरीलाई न्युज सेयर गर्नु भनेर उर्दी जारी गर्ने!’

वाग्लेले हरेक तीजमा गीत सार्वजनिक गर्छिन्। अघिल्लो वर्ष उनले कृषि प्रधान देश, फेरि पनि आयो तीज मन दुखाउन शीर्षकका गीत ल्याएकी थिइन्।

२०७४ मा ‘आइन छोरी’ गीत सार्वजनिक गरेकी गीतकार वाग्लेले यसबीच नरोए आमा, जागिरे नारीको पीडा भाग-१, गरिनँ गुनासो, जागिरे नारी भाग-२, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आऊ संगी रमाइलो गरौँ बरी लै, रमाइलो माइतैमा, जँड्याहा पोइ, शून्य छ जन्मेको घर बरी लैलगायत गीत सार्वजनिक गरिसकेकी छन्। 

गीतको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .