पोखराको मुख्य सहरी क्षेत्रबाट कास्कीकै दोस्रो ठूलो बेगनासतालको दूरी करिब २५ किलोमिटर रहेको छ। सडक राम्रो हुने हो भने यो दूरी नाप्न खासै समय लाग्दैन।
ठूलो महानगरभित्रैको यो क्षेत्रसँग बेगनासबाहेक रुपा, खास्टे, न्यूरेनी, दिपाङ,गुँदे र मैदी ताल पनि छन्। हालका बेलायती राजा चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेक पनि यही क्षेत्रमा पर्छ।
कविशिरोमणि लेखनाथ पौड्यालको जन्मथलोको नामबाट नगरपालिका बनेको पोखरा उपत्यकाको यो क्षेत्र पर्यटकीय गतिविधिले भने पछि परेको छ। बेगनास वरपरका क्षेत्रमा पर्यटकीय गतिविधि, होटल र रेस्टुराँहरु खुले पनि सो क्षेत्रको प्रवद्र्धन हुन नसकेको स्थानीयहरुको गुनासो छ।
यद्यपि, प्रवद्र्धनात्मक गतिविधि भने नभएका होइनन्। नेपाली नयाँवर्ष २०८१ कै अवसरमा पनि लेखनाथ केन्द्रीत हाफ म्याराथनको आयोजना गरियो। पोखरा महानगरपालिकाअन्तर्गतको खेलकुद समितिले सो क्षेत्रको प्रवद्र्धनकै लागि म्याराथन आयोजना गरेको समितिका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए।
उनका अनुसार दोस्रो संस्करणको म्याराथनको विजेता चाहिँ त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठ बने।
उनले १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा निर्धारित २१ किलोमिटर दूरी पार गरे। श्रेष्ठले ६० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए। १ घण्टा ६ मिनेट ३३ सेकेण्डमा दौड सकेर सशस्त्र प्रहरी बलका किरण बोगटी द्वितीय भए। उनले ३० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए।
प्रथम संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेतले १ घण्टा ९ मिनेट २९ सेकेण्डमा दौड सकेर तृतीय भएको आयोजक खेलकुद विकास समितिले जनाएको छ। सशस्त्रका खिमबहादुर खत्री १ घण्टा ९ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरेर चौथो र आर्मीका प्रताप खड्का १ घण्टा १० मिनेट ४१ सेकेण्डमा दौड सकेर पाँचौँ भए।
तृतीय, चौँथो र पाँचौँले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए।
१० किलोमिटर खुला पुरूष दौडमा आर्मीका श्रीकश राई विजेता, सुवास कार्की उपविजेता बने। गण्डकी मेडिकल कलेजका अजितकुमार यादव तृतीय, सोही कलेजका दिनेश बोगटी चौँथो र एपीएफका राजेन्द्र तामाङ पाँचौँ भए।
१० किलोमिटर महिला दौडमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने प्रथम, नेपाल पुलिसकी राममाया बुढा द्वितीय र आर्मीकी सिर्जना पाण्डे तृतीय भएको आयोजकले जनाएको छ। एपीएफकी पुष्पा भण्डारी चौथो र एपीएफकै आशा राउत पाँचौँ भए।
१० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौडको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गरे। तृतीय, चौँथो र पाँचौँ हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए।
भेट्रान्स ५ किलोमिटरमा काठमाडौँका धर्म महर्जन प्रथम, धादिङका रैवतबहादुर दाहाल द्वितीय र पोखराका विश्वलाल श्रेष्ठ तृतीय भए।
भेट्रान्सतर्फको विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीयले ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाएको सदस्य सचिव खड्काले जानकारी दिए।
विद्यालय छात्रतर्फ ५ किलोमिटर कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की प्रथम, कुमुदिनी होम्सका कृष्ण परियार द्वितीय, भद्रकाली माविका गंगा गुरूङ तृतीय, सोही विद्यालयका इमबहादुर गुरूङ चौँथो र छोरेपाटन माविका तेञ्जोन रोका पाँचौँ भए।
छात्रातर्फ रेन्बो एकेडेमीकी सर्मिला विक प्रथम, कालिका माविकी स्वीकृति कार्की द्वितीय, छोरेपाटन माविकी नारायणी भण्डारी तृतीय भएको आयोजकले जनाएको छ।
छोरेपाटन माविकी विष्णु थापा चौँथो र गौरीशंकर माविकी कविता मगर पाँचौँ भए। ५ किलोमिटर विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार, तृतीयले ५ हजार, सान्त्वनाले ३ हजार र पाँचौँले २ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे।
Shares
प्रतिक्रिया