सम्झना राईले आफ्नो पतिलाई पहिलो पटक ‘ब्लाइन्ड डेट’मा भेटेकी थिइन्। उनका पति दक्षिण कोरियाबाट नेपाल पुगेका थिए। पहिलो भेटको तीन दिनपछि नै उनीहरु विवाहबारे छलफल गरिरहेका थिए।
विवाहपछि त्यही वर्ष उनीहरु दक्षिण कोरिया सरे।
उनका अनुसार विवाहका लागि होस् या कामका लागि– नेपाली युवाहरुमा विदेश जाने चाहना हुन्छ। किनभने नेपालमा अवसर सीमित छ।
११ वर्षपछि सम्झना अहिले दक्षिण कोरियामा प्रहरी अधिकृत छिन्। उनी गैर–कोरियाली जातिबाट प्रहरी बनेका सीमित व्यक्तिमध्ये एक हुन्।
‘मलाई कोरियाली मूलका जत्तिकै गतिलो प्रहरी नठान्ने मानिसहरु हुन सक्छन्। तर, तिनका बारेमा सोच्ने फुर्सद मलाई छैन,’ ३१ वर्षीया उनी भन्छिन्।
कोरियाको नागरिकता लिएपछि उनले नाम परिवर्तन गरेर र किम हाना राखेकी छन्।
‘जब म बर्दी लगाउँछु र कम्मरमा पेस्तोल भिर्छु, तब म ‘कोरियालीजस्तो नदेखिँदा’ कसैलाई कुनै समस्या हुन्छजस्तो लाग्दैन,’ उनी भन्छिन्।
उनी विदेश मामिलासम्बन्धी अधिकृत हुन्। उनले अहिले नेपाली र कोरियाली समुदायबीचको पुलको काम गरिरहेकी छन्।
दक्षिण कोरियामा विवाह गर्नुलाई करिबकरिब सामाजिक उत्तरदायित्वकै रुपमा लिइन्छ। सन् १९९० को दशकदेखि सरकारले कोरियाली पुरुषलाई विदेशी महिलासँग विवाह गर्न उत्प्रेरित गर्दै आएको छ। सुरुमा यो नीति जोडा नभेट्टाएका ग्रामीण क्षेत्रका पुरुषहरुका लागि लागू गरिएको थियो।
तर, विवाह गरेर कोरिया बसाइँ सरेका महिलाहरुको जीवन सहज छैन। कसैकसैले विभेदको सामना गर्नु परिरहेको छ। त्यसमाथि घरेलु हिंसा र दुर्व्यवहारका घटना पनि सार्वजनिक भएका छन्।
यसरी कोरिया आउने महिलामध्ये थुप्रै त भाषा समेत नसिकी आएका हुन्छन्। तैपनि तिनले कोरियाली समाजमा आफ्ना लागि बलियो स्थान बनाइरहेका छन्। किम हाना तिनैमध्येकी एक हुन्।
कोरियाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाहरुको संख्या पछिल्ला वर्षहरुमा निरन्तर बढिरहेको छ। यस्ता महिलाको संख्या २००७ मा करिब १ लाख २० हजार थियो। २०१९ मा त्यो संख्या २ लाख ८७ हजार पुगेको छ।
नेपाली साथीहरुसँग किम हाना
यस्ता महिलाप्रतिको नकारात्मक धारणा अझै कायम छ। कतिपयले तिनलाई ‘हुलाकबाट झिकाइएका बेहुली’ वा पतिसँग ‘बेचिएका’ भन्ने गर्छन्।
‘मलाई के सम्झना छ भने मेरो छोरो सानो हुँदा बसमा चढ्दै गर्दा एउटा मान्छेले मलाई ‘भियतनाम, यहाँ आएर बस’ भनेर कराएको थियो,’ किम हाना भन्छिन्।
कोरियाली पुरुषसँग विवाह गर्ने विदेशी महिलामध्ये एक तिहाइ भियतनामका छन्।
तथापि, यस्ता व्यवहारलाई बेवास्ता गर्न किम हाना सफल भएकी छन्। फरकफरक सांस्कृतिक पृष्ठभूमिका मानिसहरु समावेश हुँदै जाँदा कोरियाली समाजले पनि प्रगति गरेको उनको बुझाइ छ।
२००८ देखि सरकारले बहुसांस्कृतिक सहायता केन्द्र स्थापना गरेको छ।
‘अहिले कोरियामा विशाल विदेशी समुदाय छ। कामको सिलसिलामा मैले फरकफरक मानिसहरु भेटेकी छु,’ उनी भन्छिन्।
आप्रवास अधिकारकर्मी
वन ओक कुमले आफ्नो पतिलाई भियतनाममा भेटेकी थिए। किसानकी छोरी उनले अहिले कानुन विषयमा स्नातकोत्तर गरिसकेकी छन्। केही पहिले उनी राजधानी सोलको मानार्थ मेयर समेत थिइन्।
गत वर्ष सत्तारुढ डेमोक्रेटिक पार्टीका तर्फबाट सांसद पदमा चुनाव समेत लडेकी थिइन्। तर, उनी पराजित भइन्।
पराजित भए पनि आप्रवासी कामदारविरुद्धको विभेद न्यूनीकरण गर्ने कानुनको पक्षमा उनले अभियान चलाइरहेकी छन्।
खराब अवस्थामा काम गर्न बाध्य भियतनामी कामदारहरुले हड्ताल गर्दा उनीहरु पक्राउ परेका थिए। तिनलाई सहयोग गरेपछि उनको पनि बाटो बदलिएको थियो।
वन ओक कुम
‘भियतनाममा शक्तिमा भएकालाई जिम्मेवार ठहर्याउन सकिन्छ भन्ने सोच्न मैले कहिल्यै सक्दिनथेँ। तर, दक्षिण कोरियामा कामदारहरुले मुद्दा जितेपछि मलाई लाग्यो, परिवर्तन ल्यान सकिन्छ,’ उनले भनिन्।
तर, उनले पनि असफलताको सामना गर्नुप¥यो। हालै आप्रवासी कामदारको भिसा अवधि थप गर्ने प्रयास गरिरहँदा अध्यागमनका एक कर्मचारीले उनलाई सम्मानपूर्वक सम्बोधन गर्न अस्वीकार गरे।
‘मलाई त्यसरी व्यवहार गरिन्छ भने आप्रवासीहरुलाई कस्तो व्यवहार गरिन्छ, कल्पना गर्नुहोस्,’ उनी भन्छिन्।
दोभासे
काइला (नाम परिवर्तन) २४ वर्षको उमेरमा फिलिपिन्सबाट १९९९ मा सोल आएकी थिइन्। त्यतिबेला उनी आफ्नो पतिसँग पनि बोलचाल गर्न सक्दिनथिन्। उनी विदेश कहिल्यै गएकी थिइनन्। यो उनको पहिलो सम्बन्ध थियो।
फिलिपिन्सस्थित युनिफिकेसन चर्चले उनीहरुको जोडा गाँसिदिएको थियो। केही वर्षपछि उनको विवाह टुट्यो।
पतिले जाँड खान थाले र अन्ततः उनले घर छाडे। उनी र तीन सन्तानलाई खर्च पनि दिन छाडे।
‘उनले सम्बन्धविच्छेद मागे। तर, फिलिपिन्समा सम्बन्धविच्छेद गर्ने चलन थिएन। त्यसैले सुरुमा मैले अस्वीकार गरेँ,’ काइला भन्छिन्।
सरसहयोग नभएपछि उनले शिक्षकका रुपमा काम गर्न थालिन्।
‘म घण्टौँघण्टा काम गर्थेँ। तैपनि खर्च चलाउन पुग्ने कमाइ हुँदैनथ्यो,’ उनी सम्झिन्छिन्।
आज काइला अर्कै ठाउँमा सरेकी छन् र कोरियाली पुरुषसँग विवाह गरेर आउने आप्रवासी पत्नीहरुलाई परामर्श दिने काम गर्छिन्। प्रहरी र अध्यागमनमा जाँदा उनी दोभासेको काम पनि गर्छिन्।
आप्रवासीहरुलाई उनी भन्छिन्– तपाईंहरु परिवारभित्र मात्र होइन, नयाँ संस्कृतिसँग विवाह गर्दै हुनुहुन्छ। अहिले बहुसांस्कृतिक केन्द्रले पनि ठूलो सहयोग पुर्याइरहेको उनको भनाइ छ।
‘बहुसांस्कृतिक परिवार सुरु गर्नुको अर्थ के हो भन्नेबारे कोरियाली पुरुषहरुले पनि शिक्षा पाउन थालेका छन्। पहिले त्यस्तो हुँदैनथ्यो,’ उनी भन्छिन्।
आफ्ना सन्तानले पनि कोरियाली बालबालिकाले जत्तिकै अवसर पाऊन् भन्ने काइलाको चाहना छ।
उनकी छोरी के–पप स्टार बन्न तालिम लिइरहेकी छन्। उनको कान्छो छोरो एक आईटी कम्पनीमा काम गर्छन्। उनको जेठो छोरो अनिवार्य सैन्य सेवामा छन्।
‘छोराछोरीका लागि मैले गर्नसक्ने जति सबैथोक गरेकी छु,’ उनी भन्छिन्।
(बीबीसीबाट)
Shares
प्रतिक्रिया