कम्बोडियामा खेमर रुज शासनकालमा भएका युद्ध अपराध हेर्न बनाइएको संयुक्त रास्ट्रसंघ समर्थित न्यायालयले १६ वर्षपछि आफ्नो काम सप्पन्न गरेको छ।
सन् १९७० को दशकमा अनुमानित १७ लाख मानिसको मृत्यु हुने गरी भएको युद्ध अपराधको मुद्दा किनारा लागेको हो। राष्ट्रसंघ समर्थित अन्तर्राष्ट्रिय अदालतले ३३ करोड ७० लाख अमेरिकी डलर र १६ वर्ष खर्चिएर आफ्नो काम पूरा गरेको छ।
अदालतले कम्बोडियाको खेमर रुज शासनकालको युद्ध अपराधमा तीनजनालाई दोषी ठहर गरेको छ। बिहीबार न्यायालयले खेमर रुजका अन्तिम तथा एकमात्र जीवित शासक खिउ साम्फानले गरेको अपिललई अस्वीकार गरेको हो।
उनलाई सन् २०१८ मा नरसंहार, मानवताविरुद्धको अपराध र युद्ध अपराधमा दोषी ठहर गरिएको थियो। उनलाई आजीवन जेल सजाय सुनाइएको थियो। उक्त फैसला बिहीबार न्यायालयको अन्तिम निर्णय बनेको हो।
बिहीबार साम्फानलाई अदालतमा उपस्थित गराइएको थियो। ह्वीलचेयरमा राखेर उनलाई अदातमा उपस्थित गराइएको थियो। साम्फान कम्बोडियाका मनोनित सरकारप्रमुख थिए। तर, न्यायालयमा उनले आफूसँग खेमर रुज शासनकालमा महत्वपूर्ण निर्णयको अधिकार भने नभएको बताएका थिए।
कम्बोडियामा एग्रागियन समुदायका मानिसहरुमाथि खेमर रुज शासनकालमा ज्यादती भएको थियो। शासकको ज्यादतीको कारण यो समुदायका मानिसको मानिसको सामूहिक हत्या, भोकमरी र औषधि अभावको कारण मृत्यु भएको थियो।
सन् १९७९ मा छिमेकी कम्युनिष्ट मुलुक भियतनामले कम्बोडियामाथि आक्रमण गरेर खेमर रुज शासन ढालेको थियो।
न्यायालयले फैसला सुनाएकामध्ये ९१ वर्षीय साम्फान मात्र जीवित छन्। खेमर रुजका दोस्रा शासक गुओन चेलाई पनि युद्ध अपराधमा दोषी ठहर गरिएको थियो। उनको ९३ वर्षको उमेरमा सन् २०१९ मा मृत्यु भएको थियो।
त्यस्तै टुओल स्लेङ जेलका कमान्डेन्ट काइङ गुएक इएभलाई पनि युद्ध अपराधमा दोषी पाइएको थियो। उनीमाथि १६ हजार मानिसलाई हत्या गर्नुभन्दा पहिला चरम यातना दिएको आरोप छ।
उनलाई सन् २०१० मा उक्त मुद्दामा दोषी ठहर गरिएको थियो। सन् २०२० मा उनको मृत्यु भएको थियो।
Shares
प्रतिक्रिया