अमेरिकाले आफ्नो लडाकु विमान किन्न प्रस्ताव गरेर भारतलाई रुसबाट अलग गराउने प्रयास थालेको छ। भारतलाई यतिबेला पाकिस्तान र चीनको तीव्र आधुनिकीकरण भइरहेको वायु सेनासँग प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता छ।
यही महिना बेंगलुरुमा आयोजित यस वर्षको एरो इन्डिया डिफेन्स शोमा अमेरिकाले पहिलो पटक आफ्नो सबैभन्दा आधुनिक लडाकु विमान एफ–३५ का साथमा एफ–१६ र बी–१बी बमवर्षक विमान पनि ल्याएको छ।
उक्त शोको २७ वर्षे इतिहासमा यसपालि अमेरिकाबाट सबैभन्दा ठूलो प्रतिनिधिमण्डल सहभागी भएको छ। यसलाई दुई देशबीचको बढ्दो रणनीतिक सम्बन्धको संकेत मानिएको छ। दशकौँदेखि भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता रुसबाट यसपटक नाम मात्रको उपस्थिति थियो। जसले विमान, ट्यांक, रेडार र ट्रकको नमुना मात्र प्रदर्शन गर्यो।
यद्यपि रोयटर्सका अनुसार गएको पाँच वर्षमा रुसले भारतलाई १३ अर्ब डलरको हतियार आपूर्ति गरिसकेको छ। अर्कोतिर सो अवधिमा अमेरिकाले भारतलाई ६ अर्ब डलरको हतियार बेच्ने निर्णय अनुमोदन गरेको छ।
अमेरिकाले भारतलाई हतियारमा रुसमाथिको निर्भरताबाट बाहिर निकाल्ने कोसिस गरेको यो पहिलो पटक होइन। भारतको नौसैनिक विमानको एउटा प्रतिस्पर्धी अमेरिकाको एफ÷ए–१८ पनि हो। जसले फ्रान्सको राफेलसँग स्पर्धा गर्दैछ। जमिनबाट उड्ने राफेल त भारतले किनिसकेको छ।
२०१९ मा पनि अमेरिकाले भारतलाई ११० वटा एफ–२१ विमान बेच्न खोजेको थियो। सो रिपोर्टमा एफ–१६ लाई एफ–२२ र एफ–३५ को प्रविधिमार्फत स्तरोन्नति गरेर एफ–२१ विमान तयार गरिएको उल्लेख थियो।
यसपालि अमेरिकाले बेच्न खोजेको एफ–३५ विमान क्षमतावान् भए पनि त्यसले भारतको खासखास आवश्यकता पुरा नगर्न सक्छ।
जुन २०२० मा हारुन आइदिनले टाढाटाढाको मिसनका लागि भनेर बनाइएको एफ–३५ सीमा सुरक्षामा जोड दिने भारतीय सैन्य सिद्धान्तसँग मेल नखाने उल्लेख गरेका थिए। उनले सो विमान बलियो प्रतिरक्षा भएको दुश्मनको हवाई क्षेत्र भेद्न स्टिल्थ प्रविधिसहित तयार गरिएको हुनाले भारतको सीमित बजेटका लागि त्यो अति महंगो भएको बताएका थिए।
सीमित संख्यामा एफ–३५ किन्ने पैसाले भारतले रुसको एसयू–३० एमकेआई वा फ्रान्सको राफेलजस्ता चौथो पुस्ताको पर्याप्त विमान किनेर पनि आफ्नै पाँचौँ पुस्ताको लडाकु विमान विकासका लागि खर्च बच्ने उनले बताएका थिए।
तर, सस्तै विमान किन्दा पनि भारतले खर्चकै कारण फ्रान्सलाई राफेलका लागि दिएको अर्डर घटाउनुपरेको थियो।
२०११ मा पनि अमेरिकाले एफ–१६ विमान किन्न प्रस्ताव गर्दा भारतले अस्वीकार गरेको एस्ली टेलिसले लेखेका थिए। उनका अनुसार पाकिस्तान वा चीनसँग द्वन्द्वको अवस्था आइपर्दा भारतलाई अमेरिकाले हतियार वा पार्टपुर्जा रोकिदिने डरले सो प्रस्ताव अस्वीकृत गरिएको थियो।
अमेरिकाले लामो समयदेखि पाकिस्तानलाई हतियार दिँदै आएकाले पनि भारतले अमेरिकी लडाकु विमान किन्न नखोजेको उनको तर्क थियो। सेप्टेम्बर २०२२ मा पनि पाकिस्तानको पुरानो हुँदै गएका एफ–१६ विमान स्तरोन्नति गर्न अमेरिकाले ४५ करोड डलरको प्याकेज स्वीकृत गरेको थियो।
पाकिस्तानको लडाकु विमान स्तरोन्नति गर्ने अमेरिकाको निर्णय युक्रेन युद्धपछि पनि रुससँग तेल किनिरहने भारतको कार्यप्रतिको अमेरिकी असन्तुष्टि हुन सक्छ। त्यस्तै, प्रविधि हस्तान्तरण पनि एउटा कारण हुनसक्छ। अमेरिकाको तुलनामा युरोपेली विमान निर्माताहरु प्रविधि हस्तान्तरणमा उदार देखिन्छन्।
भारतले आफ्नो नयाँ ५.५ पुस्ताको विमानमा भारतकै डीआरडीओ र फ्रान्सको सफ्रान कम्पनीले संयुक्त रुपमा विकास गरेको इन्जिन राख्ने बताइएको थियो। तर, सो परियोजनामा अमेरिकी इन्जिन राख्ने चर्चा पनि भइरहेको छ।
त्यसमाथि, आफ्नो रणनीतिक स्वतन्त्रता कायम राख्न पनि भारत अमेरिकी लडाकु विमान किन्नबाट बच्दै आएको टेलिसले उल्लेख गरेका छन्।
अमेरिकी हतियार किनेपछि ग्राहकले त्यसको मर्मत, प्राविधिक सहयोग, छुट र थप हतियार किन्न पनि अमेरिकालाई खुसी पारेर मात्र पुग्दैन, आफ्नो विदेश नीति र रक्षा नीतिको ठूलो हिस्सा अमेरिकी स्वार्थसामु समर्पण गर्नुपर्छ।
त्यसविपरीत रुसले आफ्नो हतियार बिक्रीमा कुनै राजनीतिक सर्त नजोडिएको दाबी गर्छ। जसले गर्दा रुस भारतका लागि आकर्षक विकल्प बनेको छ। टेलिसले उल्लेख गरेअनुसार भारत अमेरिकाको ग्राहकभन्दा पनि साझेदारका रुपमा सहकार्य गर्न चाहन्छ। र, ऊ अमेरिकालाई आफ्ना कयौँमध्ये एक रणनीतिक साझेदार मान्छ, एक मात्र होइन।
तर, जारी युक्रेन युद्धले रुसी हतियारको गुणस्तरमाथि शंका पैदा गरेको छ। विदेशी ग्राहकले दिएको अर्डरमा निर्मित हतियार युद्ध मैदानतर्फ पठाइने, नाकाबन्दीका कारण रुसले अर्डरअनुसारको हतियार दिन नसक्नेजस्ता सम्भावना पनि छन्।
मार्च २०२२ मा भारतले १२ वटा एसयू–३०एमकेआई लडाकु विमानको अर्डर दिएको थियो। तर, दुई महिनापछि पार्टपुजा उपलब्ध गराउन नसक्ने र भुक्तानीमा पनि समस्या हुने भन्दै त्यसलाई रद्द गरियो।
त्यसैले, भारतलाई यतिबेला लडाकु विमान प्राप्तिका लागि सहयोग आवश्यक हुन सक्छ। तर, चीन र पाकिस्तानसँग स्पर्धा गर्न, आफ्नो हतियारको स्रोत विविधिकरण गर्न, स्वदेशी विमान विकास गर्न र उसले लामो समयदेखि महत्व दिँदै आएको रणनीतिक स्वायत्ततालाई कायम राख्न पनि एफ–३५ भन्दा अरु गतिला विकल्प हुन सक्छन्।
(एसिया टाइम्सबाट)
Shares
प्रतिक्रिया