रुसको एक अदालतले सरकारको आलोचना गर्ने विपक्षी नेता भ्लादिमिर कारा मुर्जालाई देशद्रोह र सेनाको बदनाम गरेको आरोपमा २५ वर्ष जेल सजाय सुनाएको छ। उनले पश्चिमा सरकारहरुसँग रुसमाथि नाकाबन्दी लगाउन आह्वान गरेका थिए।
रुसले युक्रेनमाथि आक्रमण गरेयताको यस्तो खालको यो सबैभन्दा ठूलो सजाय हो।
कारा मुर्जाले अमेरिकाको एरिजोना राज्यको प्रतिनिधि सभामा युक्रेनमाथि रुसी आक्रमणको भर्त्सना गरेका छन्। त्यसपछि उनीमाथि देशद्रोहको आरोप लगाइएको थियो।
रुसले आक्रमणलगत्तै सेनाबारे गलत सूचना फैलाउनुलाई अपराध घोषणा गर्दै कानुन बनाएको थियो।
४१ वर्षीय कारा मुर्जासँग रुसी र बेलायती पासपोर्ट छ। राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै आएका उनले रुसमाथि नाकाबन्दी लगाउन पश्चिमा सरकारहरुसँग हारगुहार गरेका थिए।
गिरफ्तार हुनुभन्दा केही घण्टाअघि सीएनएनसँग अन्तर्वार्ता दिँदै उनले रुसको सरकार ‘हत्याराहरुबाट सञ्चालित’ भएको आरोप लगाएका थिए।
अमेरिका र युरोप घुमेर उनले युक्रेनमा रुसले जानीजानी गैरसैनिक क्षेत्रमा बम खसाएको पनि बताएका थिए।
अदालतमा पनि उनले आफूले गरेका कामप्रति गर्व लागेको बताएका थिए। एजेन्सी
Shares
प्रतिक्रिया