चीनसँग अमेरिकाको सम्बन्ध थप बिग्रिँदै जाँदा राष्ट्रपति जो बाइडेनका विश्वस्त अधिकारी मानिने सीआईए निर्देशक बिल बर्न्सले मे महिनामा गोप्य रुपमा चीन भ्रमण गरेको खुलासा भएको छ।
पूर्वकूटनीतिज्ञ समेत रहेका बर्न्स चीन पुगे पनि उनले गुप्तचरहरुलाई मात्र भेटेको तर कूटनीतिक भेटघाट नगरेको बताइएको छ।
बाइडेन प्रशासनबाट चीन भ्रमण गर्ने उनी सबैभन्दा उच्च पदस्थ अधिकारी हुन्। चीनसँगको सम्बन्ध स्थिर पार्न उनी बेइजिङ गएको बताइएको छ।
‘गत महिना निर्देक बर्न्सले चीनको यात्रा गर्नुभयो, जहाँ उहाँले चिनियाँ समकक्षीलाई भेटेर गुप्तचर निकायका सम्पर्कमाध्यमहरु मार्फत आपसी सञ्चार खुला राख्न जोड दिनुभयो,’ एक अमेरिकी अधिकारीले भने।
यसबारे ह्वाइट हाउस र सीआईएले टिप्पणी गर्न अस्वीकार गरे।
बाइडेनले कठिन काममा बारम्बार बर्न्सलाई खटाउने गरेका छन्। नोभेम्बर २०२१ मा उनले मस्को पुगेर रुसी अधिकारीहरुलाई युक्रेनमा आक्रमण नगर्न चेतावनी दिएका थिए।
गत वर्ष सभामुख न्यान्सी पेलोसीलाई ताइवान नजान आग्रह गर्न पनि बाइडेनले बर्न्सलाई खटाएका थिए। तर, पेलोसीले भ्रमण गरिन् र चीनसँगको तनाव झन् बढ्यो।
त्यसपश्चात सम्बन्ध सुधारको प्रयासस्वरुप बाइडेन र सी चिनफिङबीच बालीमा भएको सहमतिअनुसार अमेरिकी विदेशमन्त्रीले चीन भ्रमण गर्ने तयारी भएको थियो। तर, फेब्रुअरीमा भएको बेलुन काण्डले सो प्रयासलाई पनि बिगारिदियो।
विदेशमन्त्री ब्लिन्केनले अचानक चीन भ्रमण रद्द गरे। त्यसयता बेइजिङले उनको भ्रमणलाई अझैसम्म स्वीकृति दिएको छैन।
चिनियाँ रक्षामन्त्री ली साङ्फुले समेत अमेरिकी समकक्षी लोइड अस्टिनसँग यसै सप्ताहन्तमा सिंगापुरमा आयोजित सांग्रिला डाइलगमा सहभागी हुने क्रममा द्विपक्षीय भेट गर्न अस्वीकार गरेका थिए।
उनीहरुबीच औपचारिक संवाद नभए पनि छोटो कुराकानी भने भएको पेन्टागनले जनाएको छ। फाइनान्सियल टाइम्सबाट
Shares
प्रतिक्रिया