गत ३ मेदेखि अशान्त पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर टाढा रहेको भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ। सेना अधिकारी र विद्रोही समुहबीच गोली हानाहान भएको छ।
मणिपुरको सेरोमा सोमबार मध्यराति ५ देखि ६ पटक गोलाबारी भएको रिपोर्ट गरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। गोलाबारीमा सीमा सुरक्षा बल (बीएसएफ) का एक जवानको मृत्यु भएको छ भने असम राइफल्सका दुई जवान गम्भीर घाइते भएका छन्।
घटना कङचुप क्षेत्रमा भएको हो। गोलाबारीमा कुल ४ जना घाइते भएका छन्। उनीहरूलाई इम्फालको अस्पतालमा भर्ना गरिएको छ।
हिंसा सुरु भएयता मणिपुरको सुग्नुरसेराउ क्षेत्रमा असम राइफल्स, बीएसएफ र प्रहरीले विशेष अपरेसन चालिरहेको छ। सोमबार राति विद्रोही समूहले गोली चलाएपछि सुरक्षा बलले जवाफी फायरिङ गरेका थिए। सोमबार र मंगलबार मध्यराति पटकपटक गोलाबारी भएको जनाइएको छ।
मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने मागलाई लिएर स्थानीयवासीले गत मे ३ मा राज्यका १० जिल्लामा ‘आदिवासी एकता मार्च’ आयोजना गरेपछि हिंसा भड्किएको थियो। झडप मुख्यतया मेइतेई र कुकी समुदायबीच भएको थियो।
यसैगरी सुरक्षा बलले कारबाहीका क्रममा लुटिएका ७९० अत्याधुनिक र स्वचालित हतियारसहित १० हजार ६४८ हतियार बरामद गरेको जनाएको छ। मे ३ मा राज्यमा जातीय हिंसा भड्किएपछि प्रहरी र अन्य सुरक्षा बलहरूबाट ती हतियार लुटिएका थिए।
Shares
प्रतिक्रिया