ad ad

ग्लोबल


इरानले मंगलबार राति इजरायलमा गरेका सयौँ मिसाइल प्रहारले कति भयो क्षति?

इरानले मंगलबार राति इजरायलमा गरेका सयौँ मिसाइल प्रहारले कति भयो क्षति?

इरानले मंगलबार राति इजरायलतर्फ दर्जनौँ मिसाइल प्रहार गरेको छ।


नेपालखबर
असोज १६, २०८१ बुधबार ११:१७, काठमाडौँ

इरानले मंगलबार राति इजरायलतर्फ सयौँ मिसाइल प्रहार गरेको छ।

बीबीसीका अनुसार कम्तीमा यीमध्ये केही मिसाइल इजरायली क्षेत्रमा खसेका छन्।

यो वर्ष इजरायलमा इरानको दोस्रो आक्रमण हो। अप्रिलमा पनि इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो।

इजरायली सेनाका अधिकारीहरूले इरानको आक्रमण अब रोकिएको र अहिले कुनै खतरा नरहेको बताएका छन्।

तर यस आक्रमणबाट के कति क्षति भयो भन्ने अझै खुल्न सकेको छैन।

तर, इजरायलको विदेश मन्त्रालयले मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल प्रहार गरेको र त्यसमा एक प्यालेस्टाइनीको मृत्यु भएको भनेर एक्समा पोस्ट गरेको छ।

इजरायलले यसको एक भिडिओ पनि पोस्ट गरेको छ, जसमा एक व्यक्ति सडकमा हिँडिरहेका बेला उनीमाथि आक्रमण भएको देखिन्छ।

यो भिडिओ इजरायलले कब्जा गरेको वेस्ट बैंकको रहेको बताइएको छ।

यसैबीच इजरायलले इरानको शासन खतरनाक र विश्व शान्तिका लागि खतरा भएको आरोप लगाएको छ।

इरानको यो आक्रमण कति ठूलो?
बीबीसीका अनुसार यो अप्रिलको तुलनामा अलिकति ठूलो आक्रमण हो। पाँच महिनाअघि अप्रिलमा इरानले इजरायलविरुद्ध करिब ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइल प्रहार गरेको थियो।

इजरायली टीभीमा देखाइएको फुटेजमा स्थानीय समयअनुसार बेलुका ७:४५ बजे आसपास तेल अभिभ र आसपासका क्षेत्रमा मिसाइल उडिरहेको देखिएको थियो। 

आक्रमणका क्रममा केही क्षेप्यास्त्र लक्ष्यमा पुगेको सैन्य अधिकारीहरूले पुष्टि गरेका छन्। सेनाका प्रवक्ताले मिसाइल आक्रमण इजरायलको मध्य र दक्षिणी भागमा भएको बताएका छन्।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आफ्नो सेनाले पहिलोपटक हाइपरसोनिक मिसाइल प्रयोग गरेको र ९० प्रतिशत प्रोजेक्टाइल्स (मिसाइल/ड्रोन) ले ठीक लक्ष्यमा प्रहार गरेको दाबी गरेको छ। 

आईआरजीसी स्रोतहरूले इरानको सरकारी मिडियासँग भनेका छन्-  आक्रमणका लक्ष्य तीन इजरायली सैन्य आधार थिए।

तर इजरायली सेनाले इरानले प्रहार गरेका मिसाइल ‘ठूलो संख्यामा’ नष्ट भएको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .