अमेरिकाका पूर्वविदेशमन्त्री तथा पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन भएको छ। अन्तर्राष्ट्रिय सम्बन्धमा महानतम ‘यथार्थवादी’ कूटनीतिज्ञका छवि बनाएका उनी चीनसँग अमेरिकाको सम्बन्ध सुधारका सूत्रधार थिए।
त्यस्तै १९७३ मा अरब–इजरायल युद्ध अन्त्यका लागि सहयोग गरेका उनलाई भियतनाम युद्धबाट अमेरिकालाई पछि हटाएको जस पनि दिइन्छ। धेरैले अनेकौँ मुलुकमा कार्पेट बमबारी, सैन्य कू र हिंसात्मक विद्रोह गराएर दसौँ लाखको हत्याका लागि जिम्मेवार ठहर्याउने किसिन्जरलाई नोबेल शान्ति पुरस्कार पनि दिइएको थियो।
खासगरी ल्याटिन अमेरिका र पूर्वी एसियामा उनलाई खलनायकका रुपमा हेर्ने गरिन्छ।
किसिन्जरको मृत्युलाई लिएर सामाजिक सञ्जालमा यही दुई मत देखिन्छ। कतिपयले अन्तर्राष्ट्रिय सम्बन्धमा उनको योगदानको प्रशंसा गरेका छन् भने थुप्रैले कटु आलोचना। उनलाई विश्वका सञ्चारमाध्यमले कसरी सम्झिए त?
द न्युयोर्क टाइम्सले किसिन्जरले अमेरिकाको ‘शीतयुद्धको इतिहासलाई आकार दिएको’ उल्लेख गरेको छ। विश्वयुद्धपछिको सबैभन्दा शक्तिशाली विदेशमन्त्रीका रुपमा उनको प्रशंसा र भर्त्सना दुवै हुने गरेको टाइम्सले उल्लेख गरेको छ।
‘विद्वानबाट कूटनीतिज्ञ बनेका हेनरी किसिन्जरले चीनका लागि अमेरिकाको ढोका खोल्ने योजना बनाए, भियतनामबाट बाहिर निस्किन वार्ता गरे, शीतयुद्धको चरमोत्कर्षमा सोभियत संघसँग अमेरिकाको शक्ति सम्बन्धको पुनर्रचना गर्न चलाखी, महत्वाकांक्षा र बुद्धिको उपयोग गरे। सो क्रममा कहिलेकाहीँ लोकतान्त्रिक मान्यताहरुलाई पनि कुल्चिए,’ ११ हजार शब्दको अबिच्युरीमा टाइम्सले लेखेको छ।
किसिन्जरले मिश्रित विरासत छाडेको टाइम म्यागेजिनको ठहर छ।
‘१९७३ को सर्वेक्षणअनुसार एक पटक अमेरिकाको सबैभन्दा प्रशंसित व्यक्ति थिए उनी। जुन वर्ष उनले पेरिस शान्ति सम्झौताका लागि उत्तर भियतनामी समकक्षी ले डक थोका साथ नोबेल शान्ति पुरस्कार पाए। उनलाई युद्ध अपराधीका रुपमा पनि चर्को आलोचना गरिन्छ,’ म्यागेजिन लेख्छ।
सीएनएनले ‘अमेरिकी विदेशी नीतिका प्रभावशाली र विभाजनकारी शक्ति हेनरी किसिन्जरको सय वर्षको उमेर निधन’ शीर्षकमा अबिच्युरी छापेको छ।
द वासिङ्टन पोस्टले ‘दुई राष्ट्रपतिको मातहत विश्व मामिलालाई आकार दिएका किसिन्जरको’ निधन भएको उल्लेख गरेको छ।
बेलायती पत्रिका द गार्डियनले किसिन्जरलाई ‘अद्वितीय कूटनीतिक कौशल, अथक उर्जा र आफ्नो देशको हितको रक्षाका लागि क्रुर इच्छा भएका कूटनीतिज्ञ’ भनेको छ।
फरेन पोलिसी म्यागेजिनले ‘अमेरिकाको इतिहासका सबैभन्दा प्रभावशाली राजनेता’ भनेको छ।
बीबीसीले लेखेको छ, ‘विभाजनकारी कूटनीतिज्ञ, जो विश्व मामिलामा छाए।’
बेलायती पत्रिका फाइनान्सियल टाइम्सले किसिन्जरले प्राज्ञ छँदा पढाएको÷सिकाएको यथार्थवादी कूटनीतिलाई राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेशमन्त्री रहँदा करिब एक दशक व्यवहार उतारेको उल्लेख गरेको छ।
‘१९६९ देखि १९७७ सम्म अमेरिकी राष्ट्रपतिहरु रिचर्ड निक्सन र जेराल्ड फोर्डको मातहत किसिन्जर निर्विवाद रुपले आफ्नो समयका प्रमुख अन्तर्राष्ट्रिय राजनेता थिए। उनका हरेक वाक्यको विश्वभर विश्लेषण भयो र उनका हरेक यात्रालाई उत्सुकतासाथ पछ्याइयो,’ फाइनान्सियल टाइम्सले लेखेको छ।
दि इकोनोमिस्टले किसिन्जरले अमेरिकाको प्रतिकूल हुँदै गएको अन्तर्राष्ट्रिय वातावरणलाई कसरी अनुकूल बनाए भनेर स्मरण गरेको छ।
‘१९७२ मा अमेरिका कमजोर थियो। विदेशमा अपमानित र घरमा विभाजित। यसको प्रतिक्रियामा उनले सोभियत संघ र चीनबीच बढ्दो दुस्मनीको फाइदा उठाएर नयाँ सन्तुलन कायम गरे, जसमा यी दुवै मुलुकले आफ्नो स्थिति बलियो बनाउन अमेरिकाको सहयोग लिए,’ दि इकोनोमिस्ट लेख्छ, ‘...उनले अमेरिकालाई चालक सिटमा बसाए, जतिबेला सबथोक अमेरिकाविरुद्ध थियो।’
‘धन्यवादमा उनले के पाए? उनलाई शंका गर्ने र बौद्धिकहरुले उनले अमेरिकाको सिद्धान्त र दस लाखभन्दा बढीको ज्यान बलिदान दिएको बताए। उनले अमेरिकी ‘विश्वसनीयता’ का खातिर भियतनाममा लडाइँ लडे र युद्धलाई कम्बोडिया र लाओससम्म पुर्याए। उनले बंगलादेशमा पाकिस्तानको नरसंहारलाई अनुमोदन गरे, किनकि चीनसँग सम्बन्ध सुधारका लागि पाकिस्तानले उनलाई मद्दत गरिरहेको थियो। उनले चिलीमा कू र हत्याहरुको षड्यन्त्र रचे भने एंगोलामा विद्रोहको। जब उनले १९७३ मा नोबेल शान्ति पुरस्कार जिते, बेलायती पत्रकार क्रिस्टोफर हिचेन्सले भने, किसिन्जरलाई युद्धअपराधको मुद्दा चलाइनुपर्छ। यो आरोप सदा कायम रह्यो।’
अमेरिकी म्यागेजिन रोलिङ स्टोन्सको अबिच्युरीको शीर्षक निकै कटु छ : ‘अमेरिकी शासकवर्गको प्रिय युद्ध अपराधी किसन्जर अन्ततः मरे।’
‘निक्सनका विदेश नीतिका वास्तुकारको कुख्याति इतिहासका सबैभन्दा खराब आमनरसंहारकारीहरुको कुख्याति समान छ। उनको प्रशस्ति गाउने मुलुकमा अझ ठूलो लज्जा जोडिएको छ,’ म्यागेजिन लेख्छ।
किसिन्जरको मृत्युमा सबैभन्दा चर्को प्रतिक्रिया जनाएको छ अमेरिकी समाजवादी म्यागेजिन ज्याकोबिनले। यसले ‘वन्ली द गुड डाइ योङ’ शीर्षकमा किताबजत्रै ‘एन्टिअबिच्युरी’ प्रकाशन गरेको छ। जसमा अनेक लेखकले लेखेका छन्।
खासमा यो एन्टिअबिच्युरी केही वर्षपहिले नै लेखिएको थियो। यसको हजारौँ प्रति प्रकाशित गरेर ज्याकोबिनले उनको मृत्युको प्रतीक्षा गरेको थियो।
उनको मृत्युलगत्तै उक्त पुस्तक अनलाइन अर्डर समेत गर्न सकिने ज्याकोबिनले जनाएको छ। यो म्यागेजिनको उनको मृत्युको अवसरमा म्यागेजिन सब्स्क्राइबका लागि आग्रह पनि गरेको छः किसिन्जर डेड। ज्याकोबिन अलाइभ। सब्स्क्राइब।’
हङकङको साउथ चाइना मर्निङ पोस्टले अमेरिका–चीन सम्बन्ध गाँस्ने ‘आकर्षक र विवादास्पद’ कूटनीतिज्ञका रुपमा हेनरी किसिन्जरको सम्झना गरेको छ।
अमेरिकी प्रगतिशील म्यागेजिन द नेसनले ‘अ पिपुल्स अबिच्युरी अफ हेनरी किसिन्जर’ शीर्षकमा दशकौँसम्म किसिन्जरले अमेरिकी सैन्यवादलाई अघि बढाएको उल्लेख गरेको छ।
Shares
प्रतिक्रिया