पाकिस्तानमा नेशनल एसेम्बलीर प्रान्तीय चुनावका लागि बिहीबार भएको निर्वाचनको पछिल्लो परिणाम इमरान खान समर्थक निर्दलीय उम्मेदवारहरूले १०० सिट कटाएका छन्।
तर सुरुवाती रूझानको फराकिलो अग्रता जोगाउन नसक्दा इमरान नेतृत्वको पाकिस्तान तेहरिक इन्साफ पार्टी समर्थकहरू बहुमत ल्याउन भने चुकेका छन्।
जेलमा रहेका इमरान खान समर्थक निर्दलीय उम्मेदवारहरूले शनिबार दिउँसोसम्म १०० सिटमा जित निकालेका छन्।
कुल २६६ सिटमध्ये २५२ को नतिजा आइसक्दा इमरान नेतृत्वको पाकिस्तान तेहरिक इन्साफ पार्टी समर्थक १०० उम्मेदवारले नेशनल एसेम्बलीका लागि स्थान पक्का गरेका हुन्।
सेना, अदालत र निर्वाचन आयोगले इमरानमाथि अनेक प्रतिबन्ध र जेल सजायसमेत दिँदा पनि जनमत उनकै पक्षमा गएको छ।
पाकिस्तान मुस्लिम लिग र पाकिस्तान पिपुल्स पार्टी इमरान समर्थकभन्दा धेरै पछि परेका छन्। यद्यपि यी दुई दल अहिले गठबन्धन सरकार बनाउने कसरतमा छन्।
पीटीआईले सरकार बनाउने विषयमा गठबन्धनका लागि अन्य दल र सांसदसँग शनिबार छलफल थाल्दैछ। त्यसका लागि पार्टी अध्यक्ष गौहर अली खान सक्रिय भएका छन्।
नवाज शरिफ र भाइ शहवाज शरिफको पकडमा रहेको पाकिस्तान मुस्लिम लिगले ७१ सिट जितेको छ।
पूर्वराष्ट्रपति असिफ अली जर्दारी र बेनजिर भुट्टोका छोरा बिलवाल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले हालसम्म ५२ सिट पक्का गरेको छ।
निर्वाचन परिणामलाई धाँधलीका रुपमा हेरेर पीटीआई समर्थकहरू पेशावर र क्वेटामा सडकमा उत्रिएका छन्।
पीटीआई समर्थक पाकिस्तान चुनावको नतिजाविरुद्ध सड़कमा उत्रिएका हुन्। पेशावरमा भोट फेरि गन्न माग गरिएको छ।
इमरानका २ हजार समर्थक पेशावरमा निर्वाचन अधिकृतको कार्यालयबाहिर जम्मा भएका छन्। क्ववेटामा समर्थक प्रदर्शनमा उत्रिएका छन्।
पीटीआई समर्थकले मुस्लिम लिगको जितलाई कहिले नस्वीकार्ने बताएका छन्। उनीहरूले कुनै चुनाव चिह्नबिना पनि आफूहरूको शानदार विजय भएको बताएका छन्। तर सेनासमेत मिलेर पीटीआईलाई हराउने काम भएको दाबी उनीहरूको छ।
पाकिस्तानको नेशनल एसेम्बलीमा जम्मा ३३६ सिट छन्। यिनमध्ये २६५ सिटमा चुनाव भएको हो। बाँकी ७० मध्ये ६० सिट महिला र १० सिट गैरमुस्लिमका लागि आरक्षित गरिएका छन्।
Shares
प्रतिक्रिया