रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक अर्थात् विपक्षी नेता अलेक्सी नभाल्नीकी पत्नीले आफ्ना पति बिते पनि लडाइँ नरोकिने बताएकी छन्।
युलिया नाभेलनायाले सोमबार पुटिनको शक्तिविरुद्ध आफ्नो पतिको लडाइँ जारी राख्ने घोषणा गरेकी हुन्।
बीबीसीका अनुसार उनले ‘स्वतन्त्र, शान्तिपूर्ण र सुखी रुसका लागि लडाइँलाई अझ बलियो बनाउने’ बताएकी हुन्।
४७ वर्षीया नवलनायाले युट्युबमा भिडिओ सन्देश जारी गर्दै आफ्ना पति नभाल्नीलाई आर्कटिक जेलमा विष खुवाएर मारिएको आरोप लगाएकी छन्।
उनले भनेकी छन्, ‘यो भिडिओमा म हुनुहुँदैनथ्यो। मेरो ठाउँमा अर्को मान्छे हुनुपर्थ्यो। तर उहाँ (नभाल्नी) लाई भ्लादिमिर पुटिनले मारे। तीन दिनअघि पुटिनले मेरा श्रीमान् अलेक्से नभाल्नीको हत्या गरे।’
उनले उक्त हत्याको वास्तविकता चाँडै खुल्ने दाबी पनि गरेकी छन्।
‘पुटिनले मेरा छोराछोरीको बुबाको हत्या गरे। पुटिनले मबाट मेरो सबैभन्दा मूल्यवान्, मेरो सबैभन्दा नजिकको व्यक्ति, जसलाई मैले सबैभन्दा धेरै माया गरेकी थिएँ, त्यो खोसे। पुटिनले अलेक्सीलाई तीन दिनअघि किन मारेका थिए, त्यो छिट्टै खुल्नेछ। यो अपराध कसले र कसरी गर्यो भन्ने थाहा हुनेछ। म तिनीहरूलाई तपाईंका अगाडि ल्याउनेछु।’
नभाल्नी पत्नीको भिडिओ
Shares
प्रतिक्रिया