मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले हमाससँगको ऐतिहासिक सम्बन्धका लागि आफूले माफी नमाग्ने बताएका छन्। उनले इजरायल–प्यालेस्टाइन द्वन्द्व अक्टोबर ७ मा सुरु नभएको पनि बताए।
३० हजारभन्दा बढीको ज्यान जानेगरी इजरायलले गाजारमा जारी राखेको आक्रमणको सबैभन्दा चर्को विरोधीमध्ये एक हुन् उनी।
इजरायलको बलियो समर्थक मानिने जर्मनीको भ्रमणका क्रममा अनवरले मानिसहरुलाई समस्याको जरो बुझ्न पनि आग्रह गरे।
‘म यो संकथन, यो आवेगलाई म अस्वीकार गर्छु– मानौँ सबै समस्या ७ अक्टोबरपछि सुरु भएको थियो,’ जर्मन चान्सलर ओलाफ सोल्जसँगको पत्रकार सम्मेलनमा उनले भने, ‘दशकौँदेखि प्यालेस्टिनीहरुमाथि अत्याचार, लुटपाट भइरहेको छ।’
मलेसियाले इजरायललाई मान्यता दिएको छैन। लामो समयदेखि मलेसियाले प्यालेस्टाइनलाई सहयोग गर्दै आएको छ। यासेर अराफातदेखि हमासको राजनीतिक शाखा इस्माइल हनिया र खालिद मसाललाई पनि मलेसियाले स्वागत गरेको थियो।
यसअघि अस्ट्रेलिया पुगेर उनले पश्चिमा मुलुकहरुले भन्ने नियममा आधारित व्यवस्थाको आलोचना गरेका थिए।
थुप्रै मलेसियालीले इजरायललाई सहायता पुर्याउने कम्पनीको व्यवसाय नै बहिष्कार गरेका छन्। मलेसियामा म्याकडोनाल्ड र स्टारबक्स कफजस्ता कम्पनीले ठूलो घाटा बेहोर्नुपरेको छ। एजेन्सी
Shares
प्रतिक्रिया