सिंगो युरोपभर दक्षिणपन्थी पपुलिस्ट लहर आइरहँदा बेलायतमा भने मतदाताहरूले मध्य–वामपन्थी पार्टीलाई सत्ताको साँचो सुम्पेका छन्।
गत महिना भएको युरोपेली संसदको चुनावमा चरम दक्षिणपन्थी पार्टीहरूले ऐतिहासिक संख्यामा सिट जितेका थिए। त्यो नतिजाले यति ठूलो भद्रगोल सिर्जना गर्यो कि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले डराएर अग्रिम चुनाव घोषणा गरे। चुनावको पहिलो चरणमा चरम दक्षिणपन्थी पार्टी नेसनल र्यालीले सबैभन्दा बढी मत ल्याएको छ।
यसैसाता नेदरल्यान्ड्समा चरम दक्षिणपन्थीहरू सम्मिलत गठबन्धन सरकार गठन भएको छ। इटलीको सरकारको नेतृत्व युद्धताकाका फासीवादी नेता बेनिटो मुसिलोनीपछिकै सबैभन्दा दक्षिणपन्थी नेतृको हातमा छ।
यी चुनावी जितहरूले के देखाउँछन् भने युरोपमा दक्षिणपन्थीहरू निर्वाचित हुनु आश्चर्यको कुरा होइन।
यो पपुलिजमको उदयका विभिन्न कारण छन्। जुन मुलुकैपिच्छे फरक छन्। तर, समग्रतामा कुरा गर्ने हो भने अनेकौँ युरोपेली मुलुकहरू आर्थिक मन्दी, उच्च आप्रवासी संख्या, महँगो उर्जाजस्ता साझा समस्याबाट पीडित छन्।
पपुलिस्ट राष्ट्रवादीहरूले यो सबको कारक ईयू भएको आरोप लगाउँछन् र ईयूविरोधी भावना भड्काउने कोसिस गर्छन्।
यस्तो स्थितिमा ईयू नै छाडेको बेलायतमा भने किन विपरीत प्रवृत्ति देखियो त?
ख्याल गर्नुपर्ने एउटा कुरा के हो भने लेबर पार्टीको भारी बहुमतसहितको जितका बाबजुद बेलायतमा दक्षिणपन्थ बलियै छ। ऐतिहासिक हार बेहोरे पनि कन्जरभेटिभ पार्टीले चुनावअघिको अपिनियन पोलहरूमा भन्दा राम्रो नतिजा ल्याएको छ। कतिपय सर्वेक्षणहरूमा सो पार्टी १ सय सिटमुनि खुम्चिने अनुमान गरेका थिए।
त्यस्तो दक्षिणपन्थी पपुलिस्ट पार्टी रिफर्म यूकेले अपेक्षाभन्दा ज्यादा हासिल गरेको छ। सो पार्टीका नेता तथा डोनाल्ड ट्रम्पका मित्र नाइजल फराजले आठौँ प्रयासमा चुनाव जितेका छन्।
कन्जरभेटिभ पार्टीले जम्मा १२१ र रिफर्म पार्टीले ४ सिट मात्र जितेका छन्। तर, यी दुई पार्टीले पाएको मतको हिस्सा ४ सयभन्दा बढी सिट जितेको लेबर पार्टीको भन्दा ज्यादा छ।
निस्सन्देह बेलायतको आगामी राजनीतिमा यसले प्रभाव पार्नेछ। चुनावअघि रिफर्म पार्टी गठन र फराजको दबाबमा कन्जरभेटिभ पार्टी थप दक्षिणतिर ढल्केको थियो।
फराजले इङ्लिस च्यानल पार गरेर आउने आप्रवासीहरूको विषयलाई प्रमुख मुद्दा बनाएका थिए। जसका कारण त्यसरी आएकाहरूको दाबी प्रक्रियामा जाउन्जेल उनीहरूलाई रुवान्डा पठाउने एउटा विवादास्पद नीति सरकारले सुरु गरेको थियो।
कन्जरभेटिभ पार्टीलाई अब नयाँ नेता चाहिएको छ। सुनकपछि को नेता बन्छ भन्ने कुराले पार्टीले कस्तो नीति समात्छ भन्ने संकेत गर्नेछ।
थुप्रै कन्जरभेटिभले फराजलाई गएको मत तान्न पार्टी अझ दक्षिणतर्फ ढल्किनुपर्ने बताउनेछ। अरुले फराजसँग सहकार्य गर्नुपर्ने राय राख्लान्। कोही उनीसँग कुनै सम्बन्ध नचाहलान्।
तर, जे भए पनि कन्जरभेटिभ पार्टीको नेतृत्व छनोटमा फराजको ठूलो प्रभाव रहनेछ। उनले आफ्ना राजनीतिक सफलतामध्ये अधिकांश सांसद नरहँदै प्राप्त गरेका हुन्। अब त उनी मात्र सांसद छैनन्, नयाँ प्रधानमन्त्री किअर स्टारमरमाथि आक्रमण गर्ने सानो जत्था पनि उनीसँग छ।
हुन त स्टारमरलाई यति ठूलो जित दिलाउनमा फराजको पनि हात छ किनकि उनले दक्षिणपन्थी मतलाई विभाजित तुल्याए। त्यसैले उनीहरू फेरि एकमत हुन समय लाग्न सक्छ।
बेलायती राजनीतिको कुनै पार्टीले पाएको मत प्रतिशत सिट प्रतिशतमा रूपान्तरण हुँदैन। जित्ने उम्मेदवारले प्रायः ५० प्रतिशतभन्दा कम मत पाएका हुन्छन्।
बेलायत तिनै समस्याहरूबाट ग्रसित छ, जसबाट अन्य युरोपेली मुलुक पीडित छन्। यदि प्रधानमन्त्रीका रूपमा स्टारमर असफल भए भने युरोपका अन्य मुलुकमा जस्तै जनमत दक्षिणपन्थी पपुलिस्टहरूले कब्जा गर्ने सम्भावना उच्च छ। सीएनएन
Shares
प्रतिक्रिया