ad ad

ग्लोबल


चीनको मध्यस्थतामा १४ प्यालेस्टिनी समूहबीच मतभेद अन्त्य गर्ने सहमति

चीनको मध्यस्थतामा १४ प्यालेस्टिनी समूहबीच मतभेद अन्त्य गर्ने सहमति

नेपालखबर
साउन ८, २०८१ मंगलबार १५:५२,

१४ प्यालेस्टिनी समूहहरूले चीनको बेइजिङमा मतभेद अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। हमास र फतहसहितका समूहले ‘मतभेद अन्त्य गर्दै प्यालेस्टिनी एकता मजबुत तुल्याउन’ सो सम्झौता गरेका हुन्।

चीनले ती १४ समूहलाई निम्त्याएर वार्ता गराएको थियो। आइतबार सो वार्ता सुरु भएको चीनको विदेश मन्त्रालयले जनाएको छ। 

‘वार्ताको प्रमुख उपलब्धि भनेको पीएलओ (प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन) नै सम्पूर्ण प्यालेस्टिनी जनताको एक मात्र वैध प्रतिनिधि हो भन्ने स्पष्ट भएको छ,’ चिनियाँ विदेशमन्त्री वाङ यीले भने।

उनले गाजा युद्धपछि सरकार गठन र शासन सञ्चालनका विषयमा सहमति भएको पनि जानकारी दिए।

तर, पीएलओको सदस्य नरहेको हमासको भूमिका के हुने भन्ने वाङको टिप्पणीबाट स्पष्ट हुँदैन। पीएलओ १९९३ मा इजरायलसँगको शान्ति सम्झौतामा हस्ताक्षर गर्ने विभिन्न समूहहरूको गठबन्धन हो। जसमा फतह हाबी छ।

गाजामा हमास र फतहबीच दुस्मनी पनि थियो। यी दुई समूहले अनेकपटक सहमतिको प्रयास गरे पनि सफल भएको थिएन।

सन् २००७ यता गाजामा हमासको पकड छ। 

इजरायलले गाजामा हमासविरुद्ध भन्दै थालेको नरसंहारकारी युद्धमा दसौँ हजार निर्दोषको ज्यान गइसकेको छ। 

चीनले यसअघि अप्रिलमा पनि हमास र फतहबीच बेइजिङमा वार्ता गराएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .