ad ad

ग्लोबल


भेनेजुएलामा चुनावपछि भाँडभैलो, दुवै पक्षले गरे जितेको दाबी

भेनेजुएलामा चुनावपछि भाँडभैलो, दुवै पक्षले गरे जितेको दाबी

नेपालखबर
साउन १५, २०८१ मंगलबार १८:४७,

चुनावको नतिजामा प्रश्न उठाउँदै भेनेजुएलामा प्रदर्शन सुरु भएको छ। प्रदर्शनकारी र प्रहरीबीच ठाउँठाउँमा झडप समेत भएको छ। राष्ट्रपति निकोलस मदुरोले चुनावमा धाँधली गरेको आरोप लगाउँदै विरोध भएको हो। 

आइतबार भएको चुनावलाई भेनेजुएलाको भविष्यका लागि महत्त्वपूर्ण मानिएको थियो। कतिपय विपक्षीहरूले यो चुनाव पनि मदुरोले जिते देश छाड्ने बताएका थिए। 

यसले गत २५ वर्षमा मुलुकको संस्थापन शक्तिविरुद्ध विपक्षीहरू एकजुट भएका थिए।

मदुरोले निष्पक्ष चुनाव गराउने वाचा गरेका थिए। तर, चुनावमा व्यापक धाँधली गरिएको विपक्षीको आरोप छ। केही विपक्षी नेताहरूलाई उठ्नै प्रतिबन्ध लगाइएको थियो। 

चुनाव आयोगले औपचारिक रुपमा मदुरोलाई विजेता घोषणा गरेको छ। तर, विपक्षीहरूले सो नतिजालाई अस्वीकार गरेका छन् 

छिमेकी मुलुकहरूले पनि चुनावको नतिजा स्वीकार गरेका छैनन्।

कोको लडेका थिए चुनाव?
ह्युगो चाभेजको मृत्युपछि २०१३ मा सत्तामा आएका थिए। फेरि पदमा कायम भए यो उनको तेस्रो कार्यकाल हुनेछ। 

उनको विपक्षमा एकजुट भएका विरोधीहरू छन्। उनीहरूले आफ्नो अभियानलाई तीव्रता दिएका छन्।

निरन्तरको आर्थिक संकटपछि ८० लाख जनताले मुलुक छाडिसकेका छन्। 

मरिया कोरिन माचाडोलाई चुनावमा उठ्न प्रतिबन्ध लगाइएपछि पूर्वकूटनीतिज्ञ एडमुन्डो गोन्जालेज विपक्षी उम्मेदवार बनेका थिए। तर, अझै पनि विपक्षी समूहको नेतृत्व माचाडोको हातमै रहेको बताइन्छ।

चुनावपछि दुवै पक्षले जित दाबी गरे। चुनाव आयोगले ८० प्रतिशत मतगणना भएपछि मदुरोले ५१.२ प्रतिशत र गोन्जालेजले ४४.२ प्रतिशत मत पाएको घोषणा गर्‍यो। अन्तिम नतिजा अझै सार्वजनिक भएको छैन।

विपक्षीले आफूले जितेको दाबी गर्‍यो। गोन्जालेजले ७३ प्रतिशत मत पाएको उनीहरूको दाबी छ।

चुनावको पर्यवेक्षणमा कार्टर सेन्टर, राष्ट्रसंघलगायत संस्था खटिएका थिए। उनीहरूले बुथपिच्छेको नतिजा सार्वजनिक गर्न माग गरेका छन्।

विगतमा पनि मदुरोविरुद्ध धाँधलीको आरोप विपक्षीले लगाउने गरेको छ।

सरकारले भने विपक्षीहरू विदेशी सरकारबाट परिचालित भएको आरोप लगाउने गर्छ।

मदुरोका समर्थकहरूले नतिजा घोषणापछि खुसियाली मनाए। विपक्षीले राजधानी काराकाससहित अनकौँ सहरमा प्रदर्शन गरे।

मदुरोले प्रदर्शनको योजना अमेरिकामा बनेको, प्रदर्शनकारीहरू अपराधी भएको र हिंसा मच्चाउनेहरूले कसरी तह लगाउनुपर्छ, सरकारलाई थाहा भएको बताएका छन्।

२०१७ र २०१९ मा पनि सरकारले विपक्षीहरूको आन्दोलनलाई दमन गरेको थियो।

अमेरिकाले नतिजा स्वाभाविक नदेखिएको भन्दै सबै विवरण सार्वजनिक गर्न माग गरेको छ। ल्याटिन अमेरिकी मुलुकहरू अर्जेन्टिना, चिली, कोस्टारिका, पेरु, पानामा, डोमिनिकन रिपब्लिक र उरुग्वेले चुनावलाई मान्यता दिन अस्वीकार गरे। तिनका कूटनीतिज्ञलाई मदुरोले निष्कासन गरेका छन्। 

पानामा र डोमिनिकन रिपब्लिकसँगको उडान पनि उनले रद्द गरेका छन्।

चीन, क्युबा, इरान र रुसले भने मदुरोलाई बधाई दिएका छन्।

अमेरिका र ईयूले भेनेजुएलामाथि कठोर नाकाबन्दी लगाएका छन्। र, तेलको मूल्यमा गिरावट आएदेखि नै यो मुलुक लामो समयदेखि आर्थिक कठिनाइसँग जुधिरहेको छ। अत्यावश्यक सामानको अभावको सामना पनि यहाँको जनसंख्याले गरिरहेको छ। 

गतवर्ष निष्पक्ष चुनाव गराउने सर्तमा अमेरिकाले नाकाबन्दी केही खुकुलो पारेको थियो। तर, चुनावमा धाँधलीको आरोप लागेसँगै फेरि नाकाबन्दी कस्सिने त्रास पैदा भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .