सिक्किमका पूर्वमुख्यमन्त्री पवन चामलिङले आफ्ना पूर्खा नेपाली भएको दोहोऱ्याएका छन्।
सिक्किमको सत्तामा मुख्यमन्त्रीको रूपमा लगातार २५ वर्षसम्म बसेका चामलिङले एक महिनाअघि नेपाल भ्रमणका क्रममा आफ्ना पूर्खा नेपाल खोटाङका भएको बताएपछि विवादमा आएका थिए।
चमलिङले नेपालमा बोलेको उक्त कुरालाई लिएर सत्तारूढ दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले उनको नागरिकतामाथि प्रश्न उठाएको थियो। यसरी प्रश्न उठाउनेमा अहिलेका मुख्यमन्त्री पीएस गोले पनि थिए।
संसद र संसद बाहिर पनि आफ्नो भनाइको आलोचना भइरहेकै समयमा चामलिङले सोमबार गान्तोकस्थित पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै आफ्ना पूर्खाहरु नेपालका भएको दोहोर्याएका हुन्।
‘मेरा पूर्खा १७औं शताब्दी (करिब ३०० वर्षअघि) नेपालबाट दार्जीलिङ हुँदै सिक्किम आएका हुन्’, चामलिङले भने, ‘मैले त मेरा पूर्खा नेपालबाट सिक्किम आएका हुन् भनेर स्पष्टसँग बताइदिएँ। अब मेरो भनाइको विरोध गर्नेहरूले उनीहरूका पूर्खा कहाँबाट आएका हुन्, यदि सिक्किमकै हुन् भने कहाँका हुन्, प्रस्ट पारुन्।’
मानिस यायावर जाति भएकाले पुर्खौँदेखि घुम्दै हिँड्ने गरेको इतिहास रहेको चामलिङको भनाइ छ। त्यसैले मानिसका पूर्खाहरू एकै ठाउँमा बस्दै आएको इतिहास नरहेको उनले तर्क गरे।
‘विश्वकै सबैभन्दा शक्तिशाली देश अमेरिकाका सबै नागरिक ३०० वर्षअघि युरोपका देशहरूबाट त्यहाँ गएका हुन्’, चामलिङले विश्व उदाहरण पेश गर्दै थपे, ‘त्यहाँका सबै राष्ट्रपतिहरूले मेरा पूर्खाहरू युरोपका देशहरूबाट आएका हुन् भनेर गर्वका साथमा भन्छन्। भर्खरै राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरा बाबु जर्मनीबाट आएका हुन् भने।’
नागरिकतासम्बन्धी सत्तारूढ दल भाजपाले उठाइरहेको प्रश्न ‘सत्ताप्रेरित र साधारण जनतालाई भ्रमित गरी राजनीतिक फाइदा उठाउनका लागि हो भन्ने कुरा सिक्किमका नागरिक समाजले राम्रोसँग बुझिसकेको’ उनको भनाइ छ। सिक्किमका बुद्धिजीवी र सचेत नागरिक समाजले यस्ता प्रश्नलाई महत्त्व नदिने उनले बताए।
‘मेरो नागरिकतामािथ जसले प्रश्न उठाउँदैछन्, उनीहरू सबै सिक्किमविरोधी हुन्। सिक्किम र सिक्किमेली जनतालाई गलत बाटोतर्फ डोर्याएर सत्तामा बसिरहन चाहनेहरूले यस्ता प्रश्नहरू उठाइरहेका छन्’, उनले भने, ‘छोग्यालको राजमा सन् १९६१ मा सिक्किम सब्जेक्ट पञ्जीकरण गर्दा १५ वर्षदेखि सिक्किममा बसोबास गर्दै आएको प्रमाणपत्र देखाउनु भन्ने आदेश थियो। त्यसैले १९६१ भन्दा १५ वर्ष अघिदेखि सिक्किममा बसोबास गर्दै आएका सबै सिक्किमेली हुन्।’
यसैबीच उनले २०२४ मा आफ्नो पार्टी सिक्किम प्रजातान्त्रिक मोर्चा पुनः सत्तामा फर्किने दाबी गरेका छन्। सरकारले सिक्किमलाई अँध्यारोतर्फ लगिरहेका कारण जनताले आफ्नो पार्टीलाई मत दिने उनको दाबी थियो।
‘हामी सत्तामा नभएकोमा जनता नै पछुतो मानिरहेका छन्। उनीहरू सिक्किम प्रजातान्त्रिक मोर्चालाई पुनः सत्तामा ल्याउन चुनाव पर्खेर बसिरहेका छन्’, चामलिङले भने।
२२ सेप्टेम्बर १९५० मा दक्षिण सिक्किमको याङ्गाङस्थित राङगाङमा जन्मेका पवन चामलिङ ४० वर्षभन्दा अधिक समयदेखि सिक्किमको राजनीतिमा सक्रिय छन्।
यसअवधि उनी आठ पटक निर्वाचित भई सिक्किम विधानसभा छिरिसकेका छन्। लगातार ५ पटक अर्थात् २५ वर्षसम्म उनी मुख्यमन्त्री भइसकेका छन्।
पछिल्लोपटकको विधानसभा चुनावमा पीएस गोलेको नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले बहुमत प्राप्त गरेपछि उनी सत्ताबाहिर पुगेका हुन्। अहिले चामलिङ विधायक मात्र छन्।
प्रतिक्रिया