ad ad

ग्लोबल


शेख हसिनाविरुद्ध युनुस सरकारले गर्‍यो यस्तो निर्णय

शेख हसिनाविरुद्ध युनुस सरकारले गर्‍यो यस्तो निर्णय

फाइल तस्बिर : बंगलादेश अन्तरिम सरकार प्रमुख मोहम्मद मोहम्मद युनुस र अपदस्थ प्रधानमन्त्री शेख हसिना


नेपालखबर
भदौ २५, २०८१ मंगलबार १३:२६, काठमाडौँ

शेख हसिनाको सुपुर्दगीका लागि चालिएका कदमका बीच बंगलादेशको मोहम्मद युनुस सरकारले जुलाईमा भएको नरसंहारमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध हुने अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको छ। 

हालै बसेको सरकारको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको हो।

बंगलादेशको सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता तथा बंगलादेशका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणका नवनियुक्त मुख्य अभियोजक ताजुल इस्लामले पूर्वप्रधानमन्त्रीसहित नरसंहारमा संलग्न अभियुक्तहरूविरुद्धको मुद्दाको प्रगतिबारे पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्। 

बंगलादेश टाइम्सका अनुसार, ताजुल इस्लामले नरसंहारबारे जानकारी लिन देशका सबै उपायुक्त, प्रहरी उपरीक्षक, सिभिल सर्जनलाई पत्र पठाइएको बताएका छन्। अदालतको कारबाही पूर्ण पारदर्शिताका साथ गरिने र आवश्यक सबै प्रक्रिया पूरा गरिने उनको भनाइ छ।

गत जुलाईमा बंगलादेशमा भएको आन्दोलनमा १००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए। विद्यार्थी आन्दोलन चर्किएपछि अगस्ट ५ तारिख शेख हसिना प्रधानमन्त्री पद त्याग्दै भारत भागेकी थिइन्। 

त्यसपछि मोहम्मद युनुसको नेतृत्वमा देशमा अन्तरिम सरकार गठन गरिएको हो। बंगलादेश सरकारको आदेशमा शेख हसिनाविरुद्ध १०० भन्दा बढी मुद्दा दर्ता गरिएको छ, जसमा नरसंहार, हत्या, अपहरणजस्ता धारा समावेश गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .