ad ad

ग्लोबल


राष्ट्रपतिको शपथ लिँदै दिसानायकेले भने : म जादुगर होइन, तर सकेसम्म राम्रो गर्छु

राष्ट्रपतिको शपथ लिँदै दिसानायकेले भने : म जादुगर होइन, तर सकेसम्म राम्रो गर्छु

नेपालखबर
असोज ७, २०८१ सोमबार १५:३४,

शनिबारको निर्वाचन जितेका अनुरा कुमारा दिसानायकेले श्रीलंकाको नयाँ राष्ट्रपतिको शपथ लिएका छन्। आइतबार निर्वाचन आयोगले उनलाई विजेता घोषित गरेको थियो।

कोलम्बोस्थित राष्ट्रपति कार्यालय भवनमा सोमबार बिहान उनले शपथ लिएका हुन्।

उनले श्रीलंकाले भोगिरहेको समस्याको जटिलता आफूले बुझेको र जनताको आशा पूरा गरी उनीहरूको विश्वास जित्न कडा मेहनत गर्ने वाचा गरे।

‘राजनीतिकर्मीहरूमा जनताको विश्वास फर्काउन म आफ्नो क्षमताले भ्याएसम्म सबैथोक गर्नेछु,’ शपथपछि उनले भने, ‘म जादुगर होइन। मैले जानेका कुरा छन्, नजानेका कुरा पनि छन्। तर, म सर्वोत्कृष्ट सल्लाह लिनेछु र सकेसम्म राम्रो गर्नेछु। त्यसका लागि मलाई सबैको सहयोग चाहिन्छ।’

जेभीपी नामक पार्टीका यी ५५ वर्षीय नेताले नेसनल पिपुल्स पावर नामक गठबन्धन बनाएर चुनावमा भाग लिएका थिए। उनले ४२.३१ प्रतिशत मत प्राप्त गरेका थिए।

भ्रष्टाचार निवारण गर्ने र श्रीलंकाको राजनीति शुद्धीकरण गर्ने वाचाका साथ उनी चुनावमा उठेका थिए। 

श्रीलंकामा अहिले अन्तर्राष्ट्रिय मुद्राकोषको सहायतामा स्थिति केही सुधार भएको छ। तर, मितव्ययिताका कडा सर्त पालना गर्दा गरिब जनताले ठूलो आर्थिक कठिनाइ बेहोर्नु परिरहेको छ। 

जेभीपीले विगतमा दुईपटक सशस्त्र संघर्ष गरेको थियो। असफल ती विद्रोहहरूमा ८० हजारभन्दा बढी मानिस मारिएका थिए।

पार्टी नेतृत्वमा आएपछि दिसानायकेले पार्टीको छवि बदल्ने कोसिस गरेका थिए। उनी चे ग्वेभारा लगायत क्रान्तिकारीहरूलाई आफ्नो नायक मान्ने गर्छन्। 

राजनीतिमा उदाएपछि उनले आफ्ना केही नीति नरम पारेका छन्। खुला अर्थतन्त्रलाई समर्थन र निजीकरणको विरोधलाई नरम तुल्याएका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .