नेपालीको रोजगार गन्तव्य कुवेतमा कोरोना भाइरस (कोभिड—१९) बाट संक्रमित हुने नेपालीको संख्या दिन प्रतिदिन बढिरहेको छ। मंगलबारसम्म त्यहाँ कोरोना संक्रमित हुने नेपाली ५१ पुगेका छन्।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार एकै दिन ६ जना नेपालीमा कोरोना संक्रमण देखिएको हो। वितेको ७ दिनमा कुवेतमा कोरोना संक्रमित हुने नेपाली २० थप भएका हुन्। वैशाख ११ सम्म त्यहाँ ३१ नेपाली कोरोनाबाट संक्रमित थिए। वैशाख ८ मा यो संख्या १९ थियो।
नेपालको श्रम गन्तव्य कुवेतमा ८० हजार नेपाली रहेका छन्।
संक्रमित नेपालीको कुवेती नागरिक सरह उपचार भइरहेको नेपाली दूतावासकी द्वितिय सचिव जानकी ओझाले टेलिफोनमा बताइन्।
खाडी मुलुकमा संक्रमित हुने नेपाली मध्ये यो दोस्रो ठूलो संख्या हो। बहराइनमा १३६ नेपाली संक्रमित छन्। कुवेतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोनाका कारण त्यहाँ २३ जनाले ज्यान गुमाएका छन्।
हेर्नुहोस् कुवेती स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटः
मंगलबारसम्म कूल संक्रमित हुनेको संख्या ३ हजार ४४० पुगेको छ। ती मध्ये ३० जनाको अवस्था चिन्ताजनक रहेको कुवती स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयद्वारा जारी कोरोना अपडेटअनुसार स्थिति गम्भीर भएका ३० जनाको आइसियुमा उपचार भइरहेको छ। मन्त्रालयकाअनुसार कुवेतम संक्रमित भएकामध्ये बुधबारसम्म १ हजार ३७९ जना निको भएका छन्।
कुवेतमा कोरोना संक्रमणमा पर्नेमध्ये अधिकांश आप्रवासी छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार एकै ठाउँमा धेरै कामदार बस्ने हुनाले आप्रवासी कामदार बढी जोखिममा परेहका हुन्। कुवेत सरकारले उनीहरु रहेका ठाउँलाई निगरानी बढाएको छ। गल्फन्युज अनलाइनका अनुसार कुवेतमा १ हजार ३ सय भारतीय संक्रमणमा परेका छन्।
४१८ नेपालीले लिए ट्राभल डकुमेन्ट
कुवेतस्थित नेपाली दूतावासका अनुसार नेपाल फर्किन चाहने नेपालीले ट्राभल डकुमेन्ट बनाइरहेका छन्। गैरकानुनी हैसियतमा बसोबास गर्दै आएकाहरुलाई ३० अप्रिलसम्म प्रक्रिया सुरु गरे आफ्नो देश फर्किन दिने नीति कुवेतले ल्याएपछि ६५० नेपालीले स्वदेश फिर्ताको लागि आवेदन गरेका छन्।
दूतावासका अनुसार मंगलबारसम्म ४१८ जनाले ट्राभल डकुमेन्ट लिएका छन्। कुवेत सहर, खैतान, सुयोख, रिगाई, तथा फरमानियाका नेपालीले मंगलबार कागजापत्र बुझेका हुन्। दूतावासले अप्रिल ३० सम्म डकुमेन्ट वितरण गर्ने जनाएको छ।
प्रतिक्रिया