३१ वर्षअघि ताप्लेजुङको सिनाममा जन्मिएका मण्डल थेबेलाई खानलाउन छेलोखेलो थियो। जमिन्दारका छोरा उनको बाल्यकाल जन्मस्थलमै बित्यो। तर समय सधैं एकनास हुँदैन। अप्रत्याशित अवस्था पनि आइलाग्छ। थेबेको परिवारलाई त्यस्तै भयो। अर्थात् उनको परिवार माओवादी जनयुद्दको मारमा पर्याे। फलतः थातथलो छाडेर इलाम बसाइँ सर्न बाध्य भयो।
कठिन परिस्थितिसँग पौठेजोरी खेल्दै थेबेले हाइस्कुल छिचोले। पढाइमा औसत राम्रो नतिजा ल्याएका उनी उच्च शिक्षा लिने र भाग्य अजमाउने धोको बोकेर इलामबाट धरान झरे। महेन्द्र बहुमुखी क्याम्पसमा उनले प्रमाण पत्र तह (प्लस टु) सजिलै सके र बीबीएस अध्ययन थाले। जेठो छोरो भएको हुँदा उनको काँधमा पारिवारिक जिम्मेवारी पनि थियो। आर्थिक अभावमा पिल्सिएको आफ्नो परिवारको स्थिति उकास्न जागिर खानु पहिलो प्राथमिकता थियो।
त्यसका लागि उनी सर्टिफिकेट बोकेर धेरैतिर धाए, तर कतै बिकेन। बल्लबल्ल नेपाली सेनामा भर्ना भए, तर त्यो जागिरले उँभो लाग्ने नदेखेपछि केही समयपछि नै छाडे। त्यसपछि उनी बेलायती सेनामा भर्नाका लागि छाती नपाउन पुगे। खाइलाग्दो ज्यान, अब्बल शैक्षिक योग्यता, पहिलो प्रयासमै भर्ती हुन सफल भए। यो सन् २००८ को कुरो हो।
उनकी आमाले सधैं भन्ने गर्थिन्, ‘छोरा ! बरु पैसा थोरै किन नहोस्, नेपालकै जागिर खानू, हामीबाट टाढा नजानू।’ यसैकारण थेबेले आफू ७ समुद्रपारि बेलायती सेनामा भर्ना हुन लागेको कुरा परिवारलाई सुनाएनन्। तर भर्ती भएपछि उनले वास्तविक कुरा नसुनाई सुख पाएनन्। बेलायत उड्नुअघि उनले आफ्ना आमा–बाबालाई पोखराको ब्रिटिस आर्मी क्याम्पमा बोलाए। लामो समयपछि त्यो पनि एकछिन छोरासँग भेट हुन पाउँदा उनकी आमा थेबेलाई अँगोलो हालेर रुन थालिन्। बाबाले पनि आँसु थाम्न सकेनन्।
ती दिन सम्झिँदै थेबे भन्छन्, ‘मैले बाबाका आँखामा पहिलोपटक आँसु देखें, त्यसपछि मैले पनि मन थाम्न सकिनँ, अनि हामी तीनै जना रोयौं।’ तर उनका बाबा–आमाले खसालेको त्यो आँसु पीडाको भन्दा धेरै खुसीको थियो। छोराले देश छाड्न लागेकामा थोरै पीडा त थियो, तर त्योभन्दा बढी छोराको भाग्य बन्न लागेको खुसी थियो।
बेलायती सेनामा भर्तीसँगै परोपकार सुरु
बेलायती सेनाको बेसिक ट्रेनिङ (आधारभूत तालिम) सकेलगत्तै उनले परोपकारी कार्य प्रारम्भ गरे। दिएर मानिस कहिल्यै गरिब हुँदैन भन्ने आफ्ना बुबाको भनाइबाट अभिप्रेरित उनमा सानैदेखि दीनदुःखीलाई सहयोग गर्नुपर्छ भन्ने भावना थियो। अहिलेसम्म उनले झन्डै १५ लाख बराबरको सहयोग गरिसकेका छन्।
भन्छन्, ‘समाजसेवा तथा परोपकारी काम नाम र सस्तो लोकप्रियताका लागि होइन, निःस्वार्थ भावले गर्नुपर्छ।’
उनले आर्थिक संकटमा परेका खेलाडी, दुर्घटना, दैवी प्रकोपमा परेका, बिरामी, खानलाउन नपाएका आदि मानिसलाई सहयोग गर्ने गरेका छन्।
गोलीका खोकाबाट कफलिङ्क बनाउँदै, दीनदुःखीलाई सहयोग गर्दै
आफ्नै खल्तीबाट दीनदुःखीलाई सहयोग गरिरहेका थेबेलाई अर्को परोपकारी काम गर्ने अवसर आयो। सन् २०१५ को कुरा हो। आफ्नो बटालियनमा परोपकारी कोष खडा गर्ने निर्देशन आयो। जसअनुसार जजसले जे जान्छ, त्यही गरेर कोष स्थापना गर्नुपर्ने भयो। त्यसपछि दौडन सक्नेले दौडेर, खाना पकाउन जान्नेले विभिन्न परिकार बनाएर रकम जुटाउने अभियान चल्यो।
अब के गर्ने भन्ने सोचिरहेका थेबेले राइफलका गोलीका खाली खोकाबाट कफलिङ्क बनाउन थाले। अनि जोर कफलिङ्कको २० पाउन्ड मूल्य तोके। जुन सामग्री निकै लोकप्रिय भयो। एक महिनामा उनले २१ सय पाउन्ड कमाए। जसमध्ये ५ सय पाउन्ड सैनिकलाई दिए भने बाँकी रकम अन्य परोपकारी काममा खर्चे। उनले लाखौं रकमका कफलिङ्क बिक्री गरिसकेका छन्। प्राप्त सबै रकम परोकारमै खर्च गर्ने गरेका छन्। उनले बनाएका कलात्मक कफलिङ्क सेनाका जर्नेलसम्मले लगाउने गरेका छन्। उनको सीपको वाहवाही भइरहेको छ।
कफलिङ्क बनाउन धेरै मेहनत गर्नपर्छ, सीप पनि चाहिन्छ, लिम्बूको छोरोले त्यस्तो काम कसरी गर्न सक्नुभयो त भन्ने प्रश्नमा उनी भन्छन्, ‘हो यो ह्यान्डमेड हो, निकै मेहनत गर्नुपर्छ, छिनो, रेती चलाउनुपर्छ। म सानैबाट अलि क्रान्तिकारी स्वभावको थिएँ। पहाडमा जग्गाजमिन धेरै भएकाले कृषि औजारको बढी नै आवश्यकता पर्थ्यो। त्यो काम विश्वकर्माहरूले गर्थे। तर समाजमा उनीहरूलाई अपहेलना गरिन्थ्यो। म त्यस्तो परम्पराको विरोधी थिएँ भने आफूलाई चाहिने सामग्री आफैं बनाउनुपर्छ भन्ने मान्यता पनि राख्थें। तसर्थ म आरनमा फलाम पोल्ने र त्यसलाई पिटेर आकारमा ढाल्नेलगायतका काममा उनीहरूलाई सघाउँथे।’
‘पेसा कसैको पेवा हुँदैन र पेसाका आधारमा कसैलाई भेदभाव गर्न हुँदैन, हामी सबै मानव हौं भन्ने मेरो मान्यता हो,’ उनी भन्छन्, ‘त्यस्ता कतिपय कृषि औजार म आफैं बनाउन सक्छु, यस्ता कार्यले मानिसलाई आत्मनिर्भर बनाउँछ।’
त्यही अनुभवले आफूलाई अहिले कफलिङ्क बनाउने ‘आइडिया’ आएको उनी बताउँछन्। अहिले उनले बनाएको कफलिङकको माग निकै बढेको छ। बजारमा अन्य कम्पनीले बनाएका कफलिङ्कको मूल्य महँगो ३७ सय पाउन्डसम्म पर्छ भने उनले बनाएका कलात्मक कफलिङ्क सस्तोमै अर्थात् २० पाउन्डमै पाउन सकिन्छ।
उनी आफ्ना उत्पादनलाई ‘युनिक’ भन्न रुचाउँछन्। उनको कफलिङ्कमा ‘इनग्रेभ’ वा चाहेको नाम वा संकेत राख्न सकिन्छ। गोलीका खोकाबाट कफलिङ्क बनाउने सम्भवतः उनी पहिलो व्यक्ति हुन सक्छन्। उनी आफ्ना उत्पादन सर्टमा मात्र नभई नेपाली पोसाक दौरा, सुरुवाल आदिमा पनि प्रयोग गरी ‘फ्युजन’ गर्न चाहन्छन्। उनी समयअनुसार मानिस परिवर्तनशील र रचनात्मक हुनुपर्ने बताउँछन्। आफ्ना उत्पादन कसैलाई उपहारका रूपमा पनि दिन मिल्ने खालको भएको उनी बताउँछन्। हालसम्म झन्डै २ सय जोर कफलिङ्क बिक्री गरिसकेका उनले आफ्ना उत्पादनलाई ‘लिमिटेड एडिसन’का रूपमा लिन्छन्।
भन्छन्, ‘मागअनुसार निर्माण गर्न सम्भव छैन, मास प्रोडक्सन गर्न सकिन्न, किनकि त्यो ट्रेनिङमा फायरिङ गरेका बेला मिलाएर खोका संकलन गर्ने हो, फेरि आर्मीबाट रिटायर्ड भएपछि कच्चा पदार्थ पाउन मुस्किल छ।’
कफलिङक बिक्रीबाट प्राप्त रकम शतप्रतिशत परोपकारी कार्यमा खर्च गरिरहेका उनी यसलाई भविष्यसम्म निरन्तरता दिने बताउँछन्।
खोजमूलक लेखलाई ५० हजार पुरस्कार घोषणा
उनी परोपकारका साथै सामाजिक अभियन्ताका रूपमा पनि अघि बढिरहेका छन्। पेसाका सिलसिलामा संसारका जुनसुकै ठाउँमा पुगे पनि आफ्नो मातृभूमि र समाजप्रति सदा वफादारी हुनुपर्ने उनको भनाइ छ। युवा पुस्ता ‘स्मार्ट’ हुनुपर्ने बताउने उनी फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालबाट युवालाई सुझाव, सल्लाह दिने गर्छन्।
आफू बेलायती सेनामा भर्ना हुनु रहर नभएर बाध्यता भएको बताउने उनी नेपाली युवालाई देशमै अवसर खोज्न आग्रह गर्छन्। तर बेलायती सेनामा भर्ना हुन थुप्रै नेपाली युवा लालायित छन्। पछिल्लो समय बेलायती सेनामा भर्ना गराइदिन्छु भन्दै ४० लाख रुपैयाँसम्म असुल्ने दलालसमेत देखापरेका छन्। त्यस्ता गिरोहविरुद्ध खोजमूलक उत्कृष्ट लेख लेख्ने लेखक/पत्रकारलाई आफ्नै खल्तीबाट ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा उनले गरेका छन्।
दलालको झुटो आश्वासनमा परेर कतिपय युवाले लाखौं रुपैयाँ स्वाहा पारेका छन्। उनी दाबी गर्छन्, ‘छनोट प्रक्रिया फेयर एन्ड फाइन हुन्छ, सबै कुरामा फिट छौं भने आफ्नै क्षमताले भर्ना हुन सकिन्छ, एक सुको खर्च गर्नुपर्दैन।’
आत्मसन्तुष्टिका लागि परोपकार
मान्छेहरू नामको निकै भोका हुन्छन्। तर थेबेलाई नामप्रति किञ्चित् लोभ छैन। तसर्थ आफूले नामका लागि नभई आत्मसन्तुष्टिका लागि दुःखीहरूको सेवा गरिरहेको उनी बताउँछन्। कसैका दुःख र पीडामा साथ दिन पाउँदा अत्यन्त आनन्द लाग्ने उनी सुनाउँछन्।
भन्छन्, ‘म एक्लैले कति पो गर्न सक्छु र, तर मैलेजस्तै अरूले पनि गरे भने धेरैको उद्धार गर्न सकिन्छ, द्रव्य नै दिनुपर्छ भन्ने छैन, ज्ञान हुनेले ज्ञान बाँडे पनि परोपकार नै हो।’
उनका अनुसार हाम्रो जात भनेको मान्छे हो र धर्म भनेको मानवता हो। यी कुरा अनुसरण गर्ने सके संसारलाई सुखी र शान्त बनाउन सकिन्छ।
Shares
प्रतिक्रिया