भारत-नेपाल सीमा क्षेत्र पानीट्यांकी बंगलादेशी नागरिकहरूका लागि अनुप्रवेशको बाटो साबित भइरहेको छ। पछिल्लो एक वर्षमा करिब एक दर्जन बंगलादेशी नागरिक पक्राउ परिसकेका छन्।
केही महिनायता अझ भारत-नेपाल सीमा पानीट्यांकीबाट भटाभट बंगलादेशी नागरिक पक्राउ परिरहेका छन्। अवैध रूपमा नेपालको भूमि भएर भारत तथा भारतीय भूमि भएर नेपाल प्रवेश गर्ने कोशिश गरिरहेको अवस्थामा ती बंगलादेशी नागरिकहरू पक्राउ परिरहेका हुन्। अहिलेसम्म पक्राउ परेका सबै बंगलादेशी नागरिक वैध दस्तावेजबिनै अवैध रूपमा भारत-नेपाल छिर्ने कोशिश गरिरहेका थिए।
यसै क्रममा सशस्त्र सीमा बल (एसएसबी)-को ४१औँ बटालियनका जवानहरूले आइतवार थप दुईजना बंगलादेशी नागरिकलाई पक्राउ गरेका छन्। दुवै बंगालदेशी नागरिकलाई भारत-नेपाल सीमा पानीट्यांकीबाट पक्राउ गरिएको हो।
एसएसबी सूत्रका अनुसार पक्राउ पर्ने बंगलादेशी नागरिकद्वयको नाम मोहम्मद हसन र सिकिफुल हो। दुईमध्ये एकजना भारतको बाटो भएर नेपाल भित्रिरहेको तथा अर्का नेपालको बाटो भएर भारत छिरिरहेको अवस्थामा पक्राउ परेको एसएसबी सूत्रले बताएको छ। दुवैलाई थप अनुसन्धानका लागि खोरीबारी प्रहरी चौकीमा सुम्पिएको छ। उनीहरू दुवैसँग वैध दस्तावेज नभएकोले पक्राउ गरिएको बताइएको छ।
उल्लेखनीय छ, पछिल्लो असोज १४ को दिन पनि एसएसबीका जवानहरूले भारतीय भूमि भएर नेपाल प्रवेश गर्ने कोशिश गरिरहेका दुई बंगलादेशी नागरिक मोहम्मद बच्चुमियाँ र मोहम्मद रफिकुल इस्लामलाई पक्राउ गरेका थिए। बच्चुमियाँ बंगालदेशको गाजीपुरनिवासी तथा रफिकुल ढाकानिवासी थिए। यसको केही दिन अघि पनि नेपालको बाटो भएर अवैध रूपमा भारत छिरिरहेका दुई बंगालदेशी नागरिक पक्राउ परेका थिए।
प्रतिक्रिया