दार्जिलिङ पहाडमा पनि कोरोना भाइरस चढ़ेको छ। यसअघिसम्म दार्जिलिङ जिल्लाका समतल क्षेत्र र कालेबुङ जिल्लामा मात्र कोरोना भाइरस संक्रमणको मामिला देखिएको थियो।
तर आज खरसाङ क्षेत्रका चारजना कोरोना संक्रमित रहेको पुष्टि भएपछि दार्जिलिङ पहाड़मा पनि कोरोना चढ़ेको हो। दार्जिलिङका जिल्लापाल एस. पन्नामबालमका अनुसार कोरोना संक्रमितमध्ये दुईजना खरसाङ नगरपालिका क्षेत्रका तथा दुईजना सोनादास्थित पचेङका हुन्।
जानकारीका अनुसार पछिल्लो मे १८ का दिन उनीहरूको रालको नमूना संकलन गरी उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा रहेको भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल) पठाइएको थियो। आज उनीहरूको जाँच रिपोर्ट आएको हो।
उनीहरू चारैजना बाहिरबाट घर फर्केका थिए। कोरोना संक्रमित रहेका उनीहरू सबैलाई आजै सिलगढ़ीस्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा भर्ना गरिएको छ।
एकैदिनमा चारजना कोरोना संक्रमित पाइएपछि दार्जिलिङ पहाड़मा आतंक सिर्जना भएको छ।
Shares
प्रतिक्रिया