नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा भर्खरै विजयी भएका छन् रोल्पा निवासी अमरसिंह पुन। उनी कांग्रेसको इतर समूहबाट प्रदेश सभापतिमा विजयी भएका हुन्। शेरबहादुर देउवा र महामन्त्री बालकृष्ण खाणनिकट भरत साहलाई पराजित गर्दै प्रदेश सभापति बनेका उनी सबैभन्दा पहिले कार्यालय व्यवस्थापन गर्ने योजनामा छन्।
पहिलो पटक प्रदेश समिति अभ्यासमा गएको कांग्रेसले ६ वटा प्रदेशमा नेतृत्व छानिसकेको छ। पार्टीको आन्तरिक प्रतिस्पर्धामा पनि चुनावबाट सभापति बनेका पुनले आफ्ना लागि अनेक चुनौती देखेका छन्। अहिलेलाई उनी प्रदेशको अस्थायी राजधानी बुटवलमै प्रदेश कार्यालय खोल्ने योजनामा छन्। देउखुरीमा राजधानी सर्ने भएपछि आफूहरु पनि उतै लाग्ने पुनले बताए। हकी स्वभावका पुन प्रदेशको अधिकारमा केन्द्रले हस्तक्षेप गरेको सहने पक्षमा छैनन्। प्रदेशमा पनि संघीयता कार्यान्वयनको दायित्व रहेकाले त्यही अनुसार अघि बढ्ने योजना बनाएका पुनसँग नेपालखबरले गरेको कुराकानीको सम्पादित अंश :
कांग्रेस लुम्बिनीको पहिलो प्रदेश सभापति बन्नुभएको छ, पार्टीको लागि प्रदेशको नयाँ संरचना हो, अब कसरी कहाँबाट काम सुरु गर्नुहुन्छ?
प्रदेश अधिवेशन सम्पन्न भएपछि हाम्रो पहिलो प्राथमिकता भनेको प्रदेश कार्यालय व्यवस्थापन गर्ने हो। त्यसपछि पहिलो बैठक बसेर अगाडि बढ्छौँ। आज भोलि केन्द्रीय महाधिवेशनको चटारो छ त्यो काम गर्न अलि गाह्रो छ। महाधिवेशन सकिएपछि आएर पहिलो बैठक बस्छौँ। अस्थायी राजधानी बुटवल हुँदासम्म बुटवलमै हाम्रो कार्यालय व्यवस्थापन हुन्छ। स्थायी राजधानीको काम देउखुरीमा सुरु भयो हामी त्यतै कार्यालय व्यवस्थापन गर्छौं। अहिलेलाई कार्यालयको लागि बुटवलमै घर खोज्दैछौँ। कार्यालय तयार भएपछि बैठक बसेर आगामी योजना बनाएर अघि बढ्छौँ।
प्रदेश अधिवेशनमा प्यानल नै बनाएर लड्नुभयो। एकाध पदबाहेक सबैमा तपाईंको प्यानल विजयी भयो। तल्लो तहदेखि नै गुटगत प्रतिस्पर्धा हुँदा पार्टीभित्र असन्तुष्टि होला। त्यो असन्तुष्टिलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
पार्टीको विधानमा प्रदेश समितिलाई पनि थुप्रै अधिकार छ। केन्द्रले हस्तक्षेपबिना त्यो सबै अधिकार पालना गर्न सक्छु भन्ने यहाँलाई लाग्छ?
म पनि संविधान सभा सदस्य हुँ। मुलुक संघीयतामा गइसकेपछि यसलाई पूर्ण रुपमा कार्यान्वयन गराउनुपर्छ भन्ने मान्यता पनि म मा छ। अहिले नेपाली कांग्रेसको परिमार्जित विधान मस्यौदा समितिको सदस्य भएर पनि मैले काम गरें। त्यसकारण कांग्रेसको विधान अक्षरशः पालना गर्नुपर्छ हुनुपर्छ र संविधान अनुसार देश चल्नुपर्छ। संघीयता के को लागि चाहियो? तल अधिकारको लागि होइन, अधिकार नै तल नदिने भए संघीयतामा गएको के अर्थ भयो? त्यसकारण हामीले संविधानमा जे व्यवस्था गरेका छौं जसको अधिकार जहाँ छ नेपाली जनताले जे चाहेको छ। त्यो भन्दा तलमाथि गर्दैनौं। पार्टीको विधानमा लेखिए बमोजिम संविधानको कार्यान्वयन गर्ने कुरामा दुई मत हुँदैन। कसैको अधिकार कसैले खोस्न पाइन्न। जिल्लाको अधिकार जिल्लाले पाउनुपर्छ। प्रदेशको अधिकार प्रदेशले पाउनुपर्छ। केन्द्रीय नेतृत्वले हस्तक्षेप गर्न खोज्यो भने त्यो सह्य हुँदैन।
अहिलेसम्म यसको जस–अपजस केन्द्रीय नेतृत्वलाई दिने गरिन्थ्यो। विधानमा प्रदेश समितिलाई धेरै अधिकार छ। अब पार्टीको अस्त व्यस्तताको जिम्मेवारी प्रदेशले लिएर यी समस्या समाधान गर्न सक्षम छ?
केन्द्रीय समितिलाई पनि मजबुद बनाउँदै हाम्रो अधिकार हामीले सुनिश्चित गर्ने र अधिकारले पाएको काम गर्ने हो। तलका साथीहरुलाई कस्तो जिम्मेवारी दिँदा संगठन मजबुत बनाउन सक्छन् त्यस कुरामा हाम्रो ध्यान हुन्छ। कांग्रेसको सिंगो पार्टी र लुम्बिनी प्रदेशका जनतालाई केन्द्रविन्दु राखेर हामीले काम गर्ने हो। यहाँका जनतालाई के गर्दा राम्रो बनाउन सकिन्छ, कसरी आकर्षित गर्न सकिन्छ भन्ने सोचका साथ लुम्बिनी प्रदेश कार्यसमिति चल्छ। त्यसैगरी प्रदेशभित्रका भातृ, तथा शुभेच्छुक संगठन सबैलाई हामी चलायमान गर्छौं। भातृ र शुभेच्छुक संगठनलाई आमन्त्रित रुपमा हामीले कार्यसमिति बैठकमा पनि बोलाउँछौँ। जिल्ला सभापतिहरूलाई कार्यसमिति बैठकमा बोलाएर छलफल गर्छौं।
पार्टीको विधानले ४ र संविधानले ५ वर्षको कार्यकाल तोकेको छ। तपाईंको यो कार्यकालमा लुम्बिनीमा कांग्रेसको संगठन कस्तो हुने छ?
यो कार्यकाल भित्र मैले पार्टी संगठनमा चुस्त दुरुस्त बनाउँछु। पाँच वर्षभित्र स्थायी राजधानीमा जग्गा व्यवस्थापन गरेर प्रदेश कार्यालय बनाउने एउटा प्राथमिकता हुन्छ। दोस्रो २६ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५२ वटै प्रदेश निर्वाचन क्षेत्रमा कसरी कांग्रेसलाई मजबुद बनाउन सकिन्छ भन्ने योजनाका हामी अघि बढ्छौँ। त्यसलाई ध्यान दिएर हामीले प्रदेश कार्यसमितिका घुम्ति बैठकहरू राख्छौँ। जस्तो यो पटक रुपन्देहीमा बैठक बस्यो भने अर्को बाँके, अर्को रुकुम रोल्पा हुन सक्छ। हाम्रा कार्यसमिति सदस्यहरुलाई ५२ वटै प्रदेश निर्वाचन क्षेत्रको लागि इन्चार्ज तोकेर जिम्मा दिन्छौं। त्यसले पार्टीलाई समन्वयकारी र चलायमान बनाउँछ। लुम्बिनीमा कांग्रेस सशक्त र बलियो बनाउने हाम्रो योजना छ।
Shares
प्रतिक्रिया