उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष हुन्– ६५ वर्षीय नेता अशोक राई। एक दशक अघिसम्म उनी नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष थिए। कोशी अञ्चलमा भूमिगत काम गर्दा मदन भण्डारी र विद्यादेवी भण्डारीका पारिवारिक साथी बनेका उनी बुढेसकालमा नेकपा एमालेमा अटाएनन्।
नेकपा एमालेको उपाध्यक्ष रहेका बेला आफूले जातीय समानताको पक्षमा वकालत गर्दा एमालेका नेताहरुले आफूलाई उल्टै ‘जातिवादी’ आरोप लगाएको पूर्वमन्त्री राईको गुनासो छ।
‘जातिवाद हटाउनुपर्छ भनेर म अगाडि सरिराखेको छु, मैले विचार ल्याइराखेको छु, मलाई नै जातिवादी भन्दिनुभो’, राईले नेपालखबरसँग भने, ‘सजिलो के रहेछ भने चोरले चोर–चोर भन्दै भाग्यो भने चोर चिन्न अलि गाह्रो हुँदोरहेछ क्या! यस्तो भैदियो।’
एमालेभित्रै रहेर वैचारिक बहस चलाउन खोज्दा नदिएपछि एमाले छाड्नुपरेको बताउँदै राई भन्छन्, ‘त्यसपछि मलाई एउटा अनुभूति के भयो भने साथीहरुले मेरा विरुद्ध जहाँ टेक्यो त्यहाँ पड्किने गरी बारुदी सुरुङ बिछ्याएछन्। अब मैले यो पार्टीमा बसेर यो पार्टीलाई सुुधार गर्न र मेरो विचारको पक्षमा लिएर आउन सम्भव छैन। त्यसकारण मैले यो पार्टी त्याग्नु, छोड्नु नै बेस छ। मैले बारम्बार भनेको छु, यो पार्टी मैले फोडेको हैन है, छोडेको हो।’
आफूले छाडेका बेलामा नेकपा एमाले ‘बोर्डर लाइन’ मा रहेको र अहिले अझ पश्चगामी बाटोतिर गएको राईको विश्लेषण छ।
नेकपा एमालेलेसँग विचार नमिलेर पार्टी छोडेको बताउने राई यसपालि सत्ता गठबन्धनका तर्फबाट धरान (सुनसरी) १ बाट प्रतिनिधिसभामा चुनाव लड्न ईच्छुक देखिएका छन्।
अघिल्लोपटक ०७४ को चुनावमा धरानमा नेकपाविरुद्ध जसपा र नेपाली कांग्रेसवीच गठबन्धन भएको थियो। त्यसबेला एमाले–माओवादी गठबन्धनबाट एमालेका जयकुमार राई (एमाले) ले ४४ हजार ५२२ मतका साथ जितेका थिए। अशोक राई २२ हजार १२३ मतका साथ दोस्रो बनेका भए।
यसपालि अशोकले दोस्रोपटक धरानबाटै चुनाव लड्ने मन गरेका छन्। तथापि सत्ता गठबन्धनले सुनसरी क्षेत्र नम्बर १ मा कसलाई टिकट दिन्छ, टुंगो लागिसकेको छैन। यसपालि पनि उम्मेदवार बनेको खण्डमा अशोकले कांग्रेस र माओवादीको समेत साथ पाउनेछन्। ०७४ मा माओवादीको साथ पाएको एमाले अहिले फुटेको अवस्था छ।
धरानमा मेयर हर्क साम्पाङका कारण स्वतन्त्र मत पनि निर्णायक बनेको छ। स्वतन्त्रको साथ आफूलाई रहने आश गर्दै अशोक भन्छन्, ‘हर्क साम्पाङमा म आफ्नो युवा कालको विद्रोही छवि प्रतिविम्वित भएको पाउँछु।’
आगामी दिनमा धरानमै बस्ने र धरानको विकासमा योगदान गर्ने आफ्नो इच्छा रहेको नेता राईले बताए। उनले भने, ‘धरानको बासिन्दाको नाताले म के भन्न चाहन्छु भने यो अलि भावनात्मक अभिव्यक्ति हुन जाला, बुढेसकालमा मैले घाम ताप्ने ठाउँचाहिँ धरानै हुन्छ भन्ने मेरो ठहर छ।’
प्रस्तुत छ, धरानको विकास एवं नेकपा एमाले छाड्नुको वैचारिक–राजनीतिक रहस्यबारे जसपा नेता राईसँग नेपालखबरले गरेको विस्तृत वार्ता :
तपाई यसपालि पनि धरानबाटै संसदीय चुनाव लड्न खोजिरहनुभएको छ। धरानसँग तपाईको खास साइनो के छ?
ऐतिहासिक कालमा धरान सेनबंशको राजधानी थियो। पछि नगरका रुपमा विकसित हुने क्रममा घोपा क्याम्पको भूमिका महत्वपूर्ण छ। घोपा क्याम्पमा मेरा माइला दाजुु ब्रिटिस आर्मीको जागिरे भएको नाताले ९–१० वर्षको उमेरदेखि आउजाऊ हुने मलाई अवसर मिल्यो। त्यसबेलादेखिको लगाव हो मेरो धरानसँग। डिपो हाइस्कुल पढ्ने इच्छालाई भने आमाले सानै छ, टाढा जान दिन्नँ भनेर बञ्देज गरिदिनुभयो।
ल्याबोरेटरी टेक्नोलोजीमा प्रवीणता प्रमाणपत्र तह मैले धरानमै पढेको हुँ। त्योबेला त्रिविबाट अलग इन्स्टिच्युडका रुपमा इन्स्टिच्युट अफ अप्लाइड साइन्स एण्ड टेक्नोलोजी (आईआस टेक) भर्खर खुलेको थियो। जनपथमा टहरा र केही घरहरु भाडामा लिएर कलेज चलेको थियो। हामी दोस्रो वर्षमा प्रवेश गरेपछि हात्तीसारमा जग्गा किनेर केही टहराहरु बनाएर त्यहाँ पनि हामीले पढ्न भ्यायौं। यसरी मैले टेक्नोलोजीमा प्रवीणता प्रमाणपत्र तह त्यहीँबाट सकें।
पछि भूूमिगत भएर पञ्चायतविरोधी अभियानमा संलग्न हुँदा धरानमै आधारित भएर धेरै समय संगठन गरें। ०४६ सालको आन्दोलनमा धरानमै बसेर काम गरें। त्योबेला पार्टीको कोसी अञ्चल इञ्चार्ज थिएँ। धरानमै आधारित रहेर कोसी अञ्चलमा जनआन्दोलनको नेतृत्व गरें।
बहुदल आइसकेपछि ०४७ सालमा पनि धरान आधारित भएरै संगठनको काममा लागेँ। बहुदल आइसकेपछिको पहिलो आमसभा धरानको पब्लिक हाईस्कुलको प्राङगणमा भएको थियो। त्यहाँ बैरागी काइँला, टंक कार्कीसहित मैले सम्वोधन गरेको थिएँ। यो हिसाबले धरानसँग मेरो राजनीतिक क्रियाशीलताको सम्बन्ध लामै छ।
पछिल्लो बेला ०७४ सालको चुनावमा मलाई नेपाली कांग्रेसको पनि समर्थनमा पार्टीले धरानमा टिकट दिने निश्चय गरेको हुनाले म त्यहाँबाट चुुनाव लडें। धरानका जनताले मलाई दोस्रो मत दिएको अवस्था हो। ०७४ पछि मैले धरानमा घरजग्गा पनि जोडिसकेको छु र धरानको बासिन्दा पनि बनिसकेको छु। धरानका जनताले दिएको दोस्रो मत, उहाँहरुको विश्वासलाई मैले अझै सार्थक बनाउनुपर्छ भन्ने सोचाइ राखेको छु।
गत स्थानीय चुनावमा धरानमा कसैले नसोचेको परिणााम आयो। मेयर पदमा स्वतन्त्र व्यक्ति हर्कराज साम्पाङले जित्नुभयो। हर्कलाई हेर्दा तपाईलाई कस्तो लाग्छ?
हर्कराज राई उर्फ हर्क साम्पाङ। उहाँ पछिल्लो समयमा नेपालमा युवा पुस्ताले चाहेको परिवर्तनका लागि पहलकदमी गर्ने नाम हो। त्यस्तो नाम, जसले धरानमा निर्वाचनमा जनताको विश्वास जित्न पनि सफल भयो। जसले त्यो विश्वासलाई निर्वाह गर्न अहोरात्र प्रयत्न पनि गरिराखेको छ र अहिलेसम्म प्रशंसनीय काम पनि गरिराखेको छ। हर्क साम्पाङमा म आफ्नो युवाकालको विद्रोही छवि प्रतिविम्वित भएको पाउँछु।
तपाई धरानबाट प्रतिनिधिसभामा चुनाव लड्दा हर्कसँग सम्बन्ध कस्तो रहला? उहाँ त स्वतन्त्र हुनुुहुन्छ....
यसमा मेरो जवाफ हर्क साम्पाङकै शब्दमा प्रस्तुत गर्न चाहन्छु। किनभने, हर्क साम्पाङलाई पनि यो प्रश्न पत्रकार साथीहरुबाट धेरै गएको थियो। मलाई हर्कको जवाफ बडो चित्त बुझेको थियो।
उहाँको भनाइ के थियो भने पार्टीबाट जितेर जाने साथीहरु र म स्वतन्त्र जितेर गएको पनि काम गर्नलाई हो। हामी त्यहाँ झगडा गर्न गएका होइनौं,, हामी काम गर्न गएका हौं भने यहाँ स्वतन्त्रले असफल हुने भन्ने ठाउँ कहाँ छ? काम गर्ने सवालमा हामी एकै ठाउँमा छौं। स्वतन्त्रले असफल हुने भन्ने चान्स छैन।
हर्क साम्पाङले दिएको यो जवाफ मलाई चित्त बुझेको छ। र, मलाई विश्वास छ, पार्टीबाट जितेर जानुभएका साथीहरु र स्वतन्त्र उम्मेदवार भएर जित्नुभएका हर्क साम्पाङजी मिलेर धरानको भाग्य र भविष्य निर्माणमा लाग्नुहुनेछ।
०७४ सालमा चुनाव लड्दा तपाईले धरानका समस्या पहिचान गर्नुभएकै होला। धरानका मुख्य समस्या के हुन्? धरान यतिबेला ‘मृत सहर’ जस्तो बन्यो भन्ने गुनासो आइरहेको छ.....
हो, मैले नै भन्याथें, धरान उमेर नपुगी बूढो भएको शहर। धरानको एउटा मुख्य समस्या त खानेपानी हो भन्ने कुरा हर्क साम्पाङजीप्रति यो नारामा सहमति जनाएर मतदान गर्ने मतदाताहरुले नै अभिव्यक्त गरिसक्नुभयो।
मलाई अत्यन्त छोएको, दुःखेको विषयवस्तु भनेको धरानको आर्थिक जीवन ध्वस्त भएर गएको रहेछ। घोपा क्याम्प हुँदाखेरि धरानको आर्थिक जीवनमा चमक–धमक थियो। सम्पन्नता अभिव्यक्त हुन्थ्यो। कारोबार राम्रो थियो। सुनचाँदीको कारोबार धेरै हुन्थ्यो। व्यापारीहरुले राम्रो कमाउन सक्थे। धरान आउने मान्छेहरुले खर्च गर्ने स्थिति थियो।
पछिल्लो समयमा १८ वटा सरकारी अड्डा धरानबाट उठेर गइसकेका छन्। धरानबाट व्यापारीहरु पलायन भइराखेका छन्। पुँजी भएका मान्छेहरु इटहरी, बिराटनगर वा काठमाडौंतिर भागिरहेका छन्। अनि धरानको आर्थिक जीवन ध्वस्त भएर पेन्सन खाने मान्छेहरुको शहर बनेको छ। रेमिटेन्सबाट जीविकोपार्जन गर्ने मान्छेहरुको शहर भएको छ।
त्यसकारण, धरानमा आफ्नै आर्थिक जीवनलाई माथि उठानका निम्ति केही कामहरु गर्न जरुरी छ भन्ने मलाई लागेको छ।
कसरी उठाउन सकिएला धरानको आर्थिक जीवन?
यसका निम्ति केही सरकारी आयोजनाहरु धरानमा जान जरुरी छ। यसमध्ये एक नम्बरमा पर्यटनको केन्द्रका रुपमा धरानलाई रुपान्तरित गर्नुपर्छ। शिक्षाको केन्द्रका रुपमा धरानलाई रुपान्तरित गर्नुपर्छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गइसकेको छ। यसलाई राम्रो ढंगले सेवा दिन सक्ने र राम्रा डाक्टरहरु उत्पादन गर्ने थलोमा रुपान्तरित गर्नुपर्छ, यो काममा अवरोध भइराखेको छ।
अर्को, पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस छ, त्यसलाई राम्रो जनशक्ति उत्पादन गर्ने केन्द्रका रुपमा विकसित गर्नुपर्छ। सोसल साइन्समा पनि महेन्द्र क्याम्पसलाई व्यवस्थित गरियो भने राम्रो परिणाम दिन सकिन्छ। साइन्स र टेक्नोलोजीमा हात्तीसार क्याम्पस छ। प्राचीन दर्शन साहित्यमा शिक्षा लिन सक्ने पिण्डेश्वर संस्कृत क्याम्पस छ। यिनीहरुलाई व्यवस्थित, संरक्षित एवं विकसित गर्ने हो भने धरान एउटा शैक्षिक केन्द्र बन्न सक्छ। एजुकेसन हबमा रुपान्तरित गर्न सकिन्छ। टाढा–टाढाबाट मान्छेहरु धरानमा शिक्षा लिन आउन सक्छन्। उनीहरुको संख्या बढ्दै गएपछि धरानको आर्थिक कारोबार, व्यापार विकसित हुन्छ।
अर्को, धरानलाई पर्यटन हबका रुपमा विकसित गर्न सकिन्छ। त्यहाँ सांस्कृतिक पर्यटन पनि हुन सक्छ। वातावरणीय पर्यटन पनि हुन सक्छ। जंगल छ, मास्तिर डाँडो छ। धार्मिक पर्यटन पनि हुन सक्छ।
धरानको पिण्डेश्वर धाम आफैंमा एउटा तीर्थस्थल पनि हो। अलिकति वर आएपछि दन्तकाली मन्दिर छ। त्यो एउटा प्राचीन समयदेखिको मन्दिर हो। अलि पर गएपछि बुढा सुब्बा। पञ्चकन्याको छुट्टै एऐतिहासिक र पुरातात्विक महत्व छ। त्यहाँबाट माथि गएपछि अहिले थाउजेन्ड बुद्ध बन्दैछ।
धरानबाट यस्सो उता गएपछि विष्णुपादुका छ। विष्णुपादुकाको महात्म्यको कुरै छोडिदिऔं। त्यहाँ एकचोटि गएर श्राद्ध गरेपछि पितृहरुलाई पिण्ड तर्पण दिएपछि पितृहरुलाई अक्षयपात्र प्राप्त हुन्छ भन्ने महत्ता र मान्यता छ।
त्यहाँबाट कोकाहा नदीको तिरैतिर बराह क्षेत्रमा आएपछि वैष्णव भनौं या हिन्दु संस्कृति र किरात संस्कृतिको फ्युजन भएको ठाउँ हो। खुवालुङ पनि त्यहीँ छ। त्यो वीपी कोइरालाले लेख्नुभएको सुम्निमा उपन्यासको भावभूमि हो। किरात र आर्य सभ्यताको संगमस्थल हो।
बराह क्षेत्रबाट अलिकता तल झरेपछि औलियाजी एउटा पूज्य देवता हुन्। अलि तल झरेपछि रामधुनी।
यो क्षेत्रलाई एउटा सर्किटमा, रिङरोडमा जोड्न सकियो भने मलाई लाग्छ हिन्दु धर्मावलम्बी, वौद्ध धर्मावलम्बी, किरात धर्मावलम्बीको धार्मिक पर्यटनका लागि उपयुक्त क्षेत्र बन्न सक्छ। यहाँ राम्रा होटल, रिसोर्टहरु निर्माणका साथै सप्तकोसीमा जल क्रिडाको व्यवस्था हामीले गर्यौं भने मलाई लाग्छ धरानको आर्थिक जीवनलाई उन्नत गराउने आयस्रोत पर्यटन व्यवसाय बन्न सक्छ।
अहिले संरचनागत हिसाबले धरान मदन भण्डारी राजमार्ग र कोसी राजमार्ग क्रस हुने क्षेत्र पनि परेको छ। यसले धरानमा अरु धेरै राम्रो सम्भावनालाई ल्याउँछ।
धरानमा ठुलठुला उद्योगहरु लगाउन सकिँदैन। किनकि मास्तिर पहाड छ, प्रदूषण त्यसले धान्न सक्दैन। पर्यटन र शिक्षाको केन्द्रको रुपमा विकसित गरियो भने त्यसले प्रदूषणको समस्या ल्याउँदैन।
यसबाहेक सरकारी अड्डाहरु हिजो उठेर हिँडे भने पनि अब प्रादेशिक अड्डाहरुलाई धरानमा ल्याउन सकिन्छ। प्रदेशका मन्त्रालयहरु त्यहाँ ल्याउन सकिन्छ। मन्त्रालय दिन नसके विभागहरु राख्नुपर्ने हो। अबको समयमा त हामी संघीयतामा गयौं नि त। अब प्रदेश चाहिँ विकासको मूल थलो हुने स्थिति हो। संघले ठूला मेघा प्रोजेक्टहरु हेर्ने हो। प्रदेशले गर्न सक्नेजति काम सबै प्रदेशलाई दिनुपर्ने हो। यो हिसाबले प्रदेशले विस्तार गर्ने अड्डाहरु अब धरानमा राखियोस्।
यिनै चिजहरुलाई अगाडि सारेर धरानको आर्थिक जीवनलाई पुनस्थार्पित गर्नुुपर्छ भन्ने मलाई लागेको छ। मैले २०७४ सालको चुनावमा पनि यही कुरा भनेको हुँ।
धरानमा मैले शहरी विकास मन्त्रालयबाट एउटा आधुनिक सुविधायुक्त सभागृह लैजानका लागि प्रयास गरेको थिएँ। त्यसबेला कार्यवाहक मेयर मञ्जु भण्डारीलाई जग्गा खोज्न पनि अनुरोध गरेको थिएँ। त्यो प्रोजेक्ट सफल हुन सकेन। तर, यसखालको काम भयो भने ‘कन्फरेन्स टुरिज्म’ पनि धरानमा सम्भव छ। किनकि, धरानको हावापानी असाध्यै राम्रो छ। १० मिनेटको ड्राइभमा फरक हावापानी भएको ठाउँमा पुग्न सकिन्छ।
तपाई अहिले जीवनको उत्तरार्धमा हुनुहुन्छ। धरानमै घर पनि किनिसक्नुभएछ। अब बुढेसकालमा धरानमै आफ्ना सपना कार्यान्वयन गर्ने र धरानमै जीवन बिताउने सोच्नुभएको हो?
हो। विल्कुल। धरानको हकमा मैले आफ्नो सपना थोरै संकेत गरें। मेरो सपना त देशै बनाउने हो। देशैलाई अहिलेको स्टेजबाट अर्को ठाउँमा पुर्याउनुपर्छ र एक कदम अगाडि लिएर जानुपर्छ भन्ने सपना पनि मसँग छ। तर, धरानको बासिन्दाको नाताले म के भन्न चाहन्छु भने यो अलि भावनात्मक अभिव्यक्ति हुन जाला, बुढेसकालमा मैले घाम ताप्ने ठाउँचाहिँ धरानै हुन्छ भन्ने मेरो ठहर छ। मेरो निश्चय छ।
अब राष्ट्रिय राजनीतिको कुरो गरौं। तपाई नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो। जीवनको लामो कालखण्ड बिताएको एमाले काम लाग्दैन, अब मार्क्सवादको फरक ढंगले व्याख्या गर्नुपर्छ भन्दै तपाईले विद्रोह गर्नुभयो। किन एमालेमै बसेर देश बनाउन सकिँदैन भन्ने निष्कर्ष निकाल्नुभयो? एमाले छाड्नुको ‘जस्टिफाई’ कसरी गर्नुहुन्छ?
पहिलो कुरो त मार्क्सवादका मान्यताहरुलाई विभाजन गरेर हेर्नुपर्छ भन्ने मेरो मान्यता छ। यसको दार्शनिक पक्ष छ, ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद। द्वन्द्वात्मक भौतिकवाद विज्ञानले पुष्टि गरेको चिज हो, यसमा कुनै परिवर्तन गर्नुपर्ने आवश्यकता छैन। ऐतिहासिक भौतिकवाद पनि इतिहासको व्याख्या हो, त्यसलाई समाजशास्त्रले आज पनि पुष्टि गरिरहेको छ, यसमा पनि परिवर्तन गर्न परेन। तर, यो इतिहासको व्याख्या भएको हुनाले खाली ‘रिफरेन्स’ ( सन्दर्भ सामग्री) मात्रै हुन सक्छ।
तर, सामाजिक आर्थिक क्रान्तिको जुन मोडालिटी मार्क्सले युरोपमा विकसित भइराखेको युवा पुँजीवादलाई विश्लेषण गरेर निश्कर्ष निकाल्नुभयो, त्यो पुँजीवाद अब अर्कै चरणमा आइसक्यो।
सोभियत क्रान्तिका बेलामा मरणोन्मुख साम्राज्यवादको स्टेजमा आइसक्यो भनेर लेनिनले भन्नुभयो। तर, त्यो (साम्राज्यवादी पुँजीवाद) मरेन, त्यसले सर्भाइभ गर्यो। उत्पादन शक्ति र उत्पादन सम्बन्धहरुभित्रै त मार्क्सले सामाजिक आर्थिक परिवर्तन खोजेका हुन्, त्यो आज आएर फेरिइसक्यो।
मार्क्सकै परिभाषा अनुसार उत्पादक शक्तिले श्रमलाई सहज ढंगले प्रयोग गर्न र उत्पादन बढी लिनका प्रविधिको विकास गर्छ, नयाँ नयाँ उत्पादनका साधनहरुको विकास गर्छ। उत्पादक शक्ति र उत्पादनको चाहनाले उत्पादनको प्रणालीमा परिवर्तन ल्याउँछ, त्यो प्रणालीलाई रोक्ने कोसिस उत्पादन सम्बन्धले गर्छ र त्यसको विरुद्ध बगावत हुन्छ अनि क्रान्ति हुन्छ भनेको हो मार्क्सले।
उतिखेर युरोपमा ५–७ वर्षका बच्चादेखि लिएर ७०–८० वर्षका बुढासम्मलाई कारखानामा जोत्नेबेलाको सिद्धान्त हो यो (मार्क्सवाद) त। सर्वहारा वर्गले एकजुट भएर विद्रोह गर्ने भन्ने हो। आज त्यो सर्वहारा वर्ग ५–७ वर्षको बच्चाले चिम्नी सफा गर्ने ठाउँमा छैन। त्यो त कार चढेर हिँड्छ। नेपालकै सर्वहारा वर्गका नेता पनि हिजो चप्पल जुत्ता फटाएर विद्रोह शुरु गरेका थियौं, अहिले कारमै चढेर हिँड्नुहुन्छ अघिपछि सुरक्षाकर्मीहरु लगाएर।
चीन अहिले पनि कम्युनिस्ट देश हो, तर त्यहाँको सर्वहारा वर्ग पनि मलाई लाग्छ अहिले साइकल चढेर हिँड्ने ठाउँमा छैन। मनमोहन अधिकारीजीसँग म चीन भ्रमणमा जाँदा साइकिलै साइकिल थिए। झलनाथ खनालजीसँग १५ वर्षपछि जाँदाखेरि साइकल कहीँ पनि थिएन। ४/५ तले फ्लाई ओभरहरुमा कार दौडिइरहेको स्थिति थियो। १५ वर्ष अगाडि सडकको किनारामा देखिएका चिनियाँ बस्तीहरु भएको ठाउँमा १५ वर्षपछि ३०–४० तल्ले गगनचुम्बी भवनहरु देखिए।
भन्नाले, त्यतिबेला सर्वहारा वर्गलाई जसरी परिभाषित गरिन्थ्यो, अहिले त्यसरी गर्न सकिँदैन। अहिले हामी साइबरनेटिक्सको, नलेज इन्टष्ट्रिजको युगमा हामी प्रवेश गरिसक्यौं। अमेरिकामा इन्टरनेट छ, यहाँ त्यसका मजदुर हामी हौं। हामीले यहाँ इन्टरनेट प्रयोग गर्दा त्यहाँ पैसा जम्मा हुन्छ। उसले ५/७ वर्षको बच्चालाई चिम्नी सफा गर्न धकेल्नुपर्दैन। उसले बसीबसी कमाउँछ। यो उत्पादन प्रणालीमा आएको परिवर्तन हो।
अहिले आर्टिफिसियल इन्टिलिजेन्सको समय छ। नलेज इन्टष्ट्रीको समय छ। अब क्रान्तिको पनि त मोडल परिवर्तन हुन्छ होला नि। मार्क्सवादका आधारमा। के नेपालका कम्युनिस्टहरुले यो चिजलाई मूल्यांकन/विववेचना गरेर मार्क्सवादमा कुनै नयाँ ईंटा थपेका छन्? नयाँ दृष्टिकोण ल्याएका छन्? यो मार्क्सवादलाई समीक्षा गर्न उनीहरु तयार छन्? मार्क्सवादलाई अब विकसित गर्नुपर्ने समय आयो भनेर त्यो हिम्मत गर्ने पक्षमा छन् त मेरा हिजो सँगै काम गरेका साथीहरु? मैले त्यो पाइनँ। नम्बर एक।
नम्बर दुई– हाम्रो सोसाइटी, इण्डिया–नेपालजस्तो मुुलुक, जहाँ वर्ण व्यवस्थाले समाजलाई जर्जर बनाएको छ। वर्ण व्यवस्था हिजो ऋग्वेद कालमा जुन उद्देश्यले आयो, त्यसको उद्देश्य त कहाँ हरायो हरायो। त्यतिखेर समाजलाई वर्ग विभाजन गरेर हेर्ने त्यो उपयुक्त दृष्टिकोण पनि हुन सक्थ्यो होला, मैले धेरै अध्ययन गरेको छैन। तर, त्यसलाई हामीले प्रयोग गर्दै–गर्दै यो पुस्तासम्म आइपुग्दा यति विकृत बनाइयो कि अब त्यसको विरुद्धमा राज्यले पनि लड्नुपरिराखेको छ। कतिपय ठाउँमा राज्यले त्यसैलाई अपनाएर थिचिराखेको छ। उत्पीडन गरिराखेको पनि छ।
हो, यो राज्यद्वारा वर्णव्यवस्था, जातप्रथा वा जाति–पातिका आधारमा हुने उत्पीडन जुन छ, जुन विभेदकारी संविधान र कानूनहरु बनेका छन्, ती चिजहरुलाई हटाउनुपर्छ। अबको समयमा सबै मान्छे बराबर हुन्। राज्यबाट सबैलाई संविधान, कानून अनुसार समान हैसियत दिनुपर्छ। समाजमा यो कुरा लागू हुन अलिकति समय लाग्छ होला तर, राज्यले संविधान र कानून त कमसेकम समानतायुक्त बनाउनुपर्यो नि। धर्महरुको समानताको कुरा। जातिहरुको समानताको कुरा। भाषाहरुको समानताको कुरा। क्षेत्रहरुको समानताको कुुरा। यो त विश्वव्यापी कुरा हो नि। संयुक्त राष्ट्र संघले घोषणा गरिसकेको कुरा हो। युएन बनेदेखि यसखालका विभेदकारी कुराहरुलाई फेर्नुपर्छ भन्ने आवाज आइसक्यो।
अब हामी एक्काइसौं शताब्दीका राजनीतिक नेता–कार्यकर्ताहरु हामी गणतन्त्रका बाहकहरु, हामीले अब पनि विभेदकारी ऐन, कानून संविधान लिएर हिँड्ने हो? यसरी नहिडौं भन्ने मेरो आह्वान, मेरो अनुरोध र मेरो विचारलाई नेकपा एमालेका नेता साथीहरुले उल्टै जातिवादी भन्दिनुभो। उल्टो जातिववादी भन्दिनुभो।
जातिवाद हटाउनुपर्छ भनेर म अगाडि सरिराखेको छु, मैले विचार ल्याइराखेको छु, मलाई नै जातिवादी भन्दिनुभो। सजिलो के रहेछ भने चोरले चोर–चोर भन्दै भाग्यो भने चोर चिन्न अलि गाह्रो हुँदोरहेछ क्या। यस्तो भैदियो।
जातिवाद हुनुहुँदैन, हामी सबै समान हौं र यो देश बनाउनु छ भने यो देशका सम्पूर्ण जातिका जनतालाई एकढिक्का बनाएर लिएर हिँड्नुपर्छ। कोही सानो, कोही ठूलो, कोही छुत कोही अछुत, कुनै भाषा उत्कृष्ट, कुनै निकृष्टतिर नजाऔं। व्यवहारमा हामीले अलग ढंगको सामाजिक सिस्टम, अलग ढंगको शिक्षा प्रणाली, पाठ्यक्रम बनाउनुपर्छ। तर, कमसेकम हामीले बनाइराखेको संविधान र कानूनमा त विभेद हुन नदिऔं न भन्ने मेरो अनुरोध थियो।
मेरो अनुरोधलाई उहाँहरुले उल्टै जातिवादको आरोप लगाइदिएपछि मैले एउटा अनुरोध गरें, पार्टीभित्र मलाई मेरो विचार तलसम्म लान दिनोस्। म पार्टीमा मेरो विचार प्रसार गर्न चाहन्छु,, छलफल गरौं। मेरो काउण्टरमा तपाईहरुको विचार पनि जाओस्, मैले मेरो विचार पनि लान्छु भनेर ९ बुँदे प्रस्ताव उहाँहरुलाई लेखेर दिएँ।
मेरो त्यो प्रस्तावलाई उहाँहरुले तलसम्म जान दिनुभएन। नदिने मात्रै होइन, आकस्मिकरुपमा राष्ट्रिय भेला बोलाएर उहाँहरुले त्यो भेलामा सारा कार्यकर्तालाई मलाई निन्दा गर्नका निम्ति प्रशिक्षित गर्नुभयो।
त्यसपछि म आफैं पनि तल जान्छु, पार्टीको उपाध्यक्ष हुँ भनें। कार्यकर्ताले दुईवटा महाधिवेशनमा मलाई सर्वाधिक मत दिएर माया गरेको मान्छे हुँ म पनि। सातौं महाधिवेशनमा जनकपुरमा पनि मैले सबैभन्दा पहिलो भोट पाएको हो। आठौं महाधिवेशनमा बुटवलमा उपाध्यक्षमा सबैभन्दा बढी भोट पाएर निर्वाचित भएको हुँ। यसकारण कार्यकर्ता मप्रति पोजेटिभ छन्, म कार्यकर्तामा जान चाहन्छु भनेर मेरो विचार पार्टीले विधिवत् प्रसार गर्न नमानेपछि म आफैं तल गएँ।
सबभन्दा पहिले मेरै आफ्नै जिल्ला (उदयपुर)मा साथीहरुले बोलाए। त्यहाँ गएँ। त्यो अशोक राईको विचार सुन्न जानेहरुलाई कारवाही गरिनेछ भनेर उर्दी जारी गरियो। रोक्ने काम गरियो। तैपनि साथीहरु टन्नै जम्मा हुनुभएको थियो। मैले त्यहाँ चारघण्टा कार्यक्रम गरें, आफ्ना विचारहरु राखें।
तर, त्यसपछि मलाई एउटा अनुभूति के भयो भने साथीहरुले मेरा विरुद्धमा जहाँ टेक्यो, त्यहाँ पड्किने गरी बारुदी सुरुङ बिछ्याएछन्। अब मैले यो पार्टीमा बसेर यो पार्टीलाई सुुधार गर्न र मेरो विचारको पक्षमा लिएर आउन सम्भव छैन। त्यसकारण मैले यो पार्टी त्याग्नु, छोड्नु नै बेस छ।
मैले बारम्बार भनेको छु, यो पार्टी मैले फोडेको हैन है, छोडेको हो। फोड्दाचाहिँ के हुन्छ भने आफूले भनेको मान्नेजतिलाई अनेक पद प्रलोभन दिएर, फकाएर, अलिअलि उल्क्याएर एउटा शक्ति फ्याट्टै लिएर जानु चाहिँ फोडेको मानिन्छ भन्ने मेरो आफ्नो बुझाइ हो। मैले त्यसो गरिनँ।
मैले साथीहरुलाई भनें, यो विचारको पक्षमा को हुनुहुुन्छ, तपाईहरु मसँग आउन सक्नुहुन्छ, मचाहिँ अब पार्टीमा रहँदिनँ। यो विचारको पक्षमा जो आउनुहुन्छ, तपाईहरु २० वर्ष संघर्ष गर्न तयार हुनोस्। कुनै उपलब्धीको अपेक्षा नराख्नोस्। कुनै पद, अवसरको अपेक्षा नराख्नोस्। विल्कुल विचारको स्थापना गर्ने, विचारको प्रचार प्रसार गर्ने, अन्दोलनमा सहभागी हुन सक्नुहुन्छ, कम्तिमा १५ देखि २० वर्ष। १५ देखि २० वर्ष म यो आन्दोलनमा सरिक हुन्छु, कुनै अवसर खोज्दिनँ, कुनै लाभ खोज्दिनँ भन्ने साथीहरु मात्रै मसँग आउनोस्।
बाँकी, जसलाई मैले लगाएको बाली पाकेको छ, त्यो मैले उठाउन खान पाउनुपर्छ भन्ने लागेको छ,, यहाँहरु एमालेमै रहनोस्। मलाई कुनै गुनासो हुनेछैन। किनकि म आफ्नो विचारमा अडिग भएर अगाडि बढिरहेको छु। यो यात्रा कठिन छ।
तपाईले यसो भन्दै एमाले छाडेको १० वर्ष भयो। तपाईले छाडेका बेला झलनाथ खनाल र माधव नेपालहरु एमाले नेतृत्वको अग्रभागमा हुनुुहुन्थ्यो। केपी ओली पनि हुनुहुन्थ्यो, तर फ्रन्टमा पछि मात्रै आउनुभयो। तपाईले छाडेका बेलाको एमाले जहाँको त्यहीँ छ कि अलिकति सुध्रियो? अहिलेको एमालेलाई कसरी विश्लेषण गर्नुहुन्छ?
मैले छोड्दा एमाले बोर्डर लाइनमा थियो। सीमानामा थियो। म रहेको एमाले पोजेटिभ थियो। आठौं महाधिवेशनले राम्रो विचार पास गरेको थियो। माधव नेपालजी महासचिव हुँदा एक वर्ष उहाँकै नेतृत्वमा कार्यदल बनाएर, अध्ययन गरेर एक वर्षमा उहाँले जुन प्रतिवेदन दिनुभएको थियो, त्यो एकदम सकारात्मक थियो।
झलनाथजी संसदीय दलको नेता हुँदा संविधानसभामा उहाँले संसदीय दलबाट जे निर्णय दिनुभयो, त्यो पोजेटिभ थियो। त्यसैकारण लोकेन्द्र बिष्ट मगरजीको सभापतित्वमा भएको राज्यको पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँट समितिले पारित गरेको प्रतिवेदनमा एमालेका शंकर पोखरेलसहित ८ जना एमाले सभासदले पक्षमा भोट हाल्नुभयो। त्यो प्रतिवेदन बहुमतद्वारा पारित भयो। त्यहाँसम्म ठीक थियो। जब त्यो प्रतिवेदन आयो, त्यहाँबाट एमालेका नेता साथीहरु अलिकति दायाँ बायाँ हुन थाल्नुभयो।
झलनाथजी एमालेभित्र अध्ययनकर्ता, विद्वान नेता हो। उहाँ अध्यक्ष हुनुहुथ्यो, म उपाध्यक्ष थिएँ। त्यो प्रतिवेदन आउने बेलासम्म बहुमत पोजेटिभ थियो।
स्थायी कमिटीमा १५ जना थियौं। १५ जनामा बहुमत चाहिँ समितिको प्रतिवेदनको पक्षमा पोजेटिभ थियो। केवल दुईजना नेताहरु नेगेटिभ हुुनुहुन्थ्यो। अब त्यो बहुमत विस्तारै न्युट्रल (तटस्थ) हुँदै गयो। दुईजना र म तीनजना बीचमा मात्र बहस केन्द्रित हुने स्थिति भयो।
अध्यक्ष झलनाथजीले पनि के भन्नुभयो भने यी दुईजनालाई तपाईंले मनाउनुभयो भने म त छँदैछु। अध्यक्ष यो ठाउँमा पुग्नुभएपछि मैले के महसुस गरें भने दृश्य–अदृश्य केले हो, कुन शक्तिले हो, अब अध्यक्षजी निरीह हुनुभयो। अध्यक्षले सम्झाउनुपर्ने वा बहुमत–अल्पमत गरेर टुंग्याउनुपर्ने विषयलाई मेरो जिम्मा लगाइदिनुभयो।
मैले त धेरै बहस गरें। मैले कन्भिन्स गर्न सकिराखेको थिइनँ। म जति आफ्नो विचारमा दृढ छु, उहाँहरु पनि त्यति नै आफ्नो विचारमा दृढ हुनुहुथ्यो। भलै मलाई उहाँहरुको विचार गलत लागेको थियो, उहाँहरुलाई पनि मेरो विचार लगगत लागेको थियो। सही के हो, त्यो त भविष्यले देखाउँछ। इतिहासले देखाउँछ। तर, सही गलत जे भए पनि आठौं महाधिवेशनले निर्णय गरेको आधारमा पार्टीको डिसिजनमा एक ठाउँमा उभिनुपर्थ्यो।
माधव नेपालजीको कार्यदलले दिएको रिपोर्टको आधारमा, संसदीय दलले गरेको निर्णयका आधारमा वा संविधानसभाको राज्यको पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँट समितिले दिएको निर्णयको आधारमा। कहीँ त उभिनुपर्थ्यो नि। तर, निर्णय एउटा भएको छ, विपरीत विचार हावी हुँदै गएपछि स्वाभाविकरुपमा मैले एउटा चेतावनीपत्र, ज्ञापनपत्र लेखेर दिएँ।
एमालेले जसरी संविधानसभालाई असफल गराउने षड्यन्त्र गरिराखेको छ, त्यो षड्यन्त्रको भागिदार भएर संविधानसभा असफल हुने ठूलो खतरा उपस्थित भइसक्यो, संविधानसभा असफल भयो भने म एमालेमा रहन सक्दिनँ भनेर मैले ज्ञापनपत्र अध्यक्ष (झलनाथ खनाल) लाई दिएको थिएँ।
त्यसमा उहाँले छलफल गराउनुभएन। बरु त्यो (ज्ञापनपत्र) चाहिँ कुनै सूत्रबाट बुधबार भन्ने पत्रिकाको पछिल्लो पृष्ठमा साना अक्षरले छापियो। तर, त्यसमा उहाँले छलफल गराउनुभएन। काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भन्ने नै अवस्था भयो।
नभन्दै संविधानसभा असफल भयो। त्यो चिज मैले पहिले नै देखिसकेको थिएँ। किनकि संविधानसभालाई असफल गराउने षड्यन्त्रमा एमाले संलग्न भइसकेको थियो। संलग्न मात्र होइन, एमालेले अगुवाइ गरिराखेको थियो, त्यसमा कांग्रेस संलग्न भयो।
यो स्थितिमा मैले एमाले छोडेको हुँ। मैले छाडेका बेलामा झलनाथजीले के कमेन्ट गर्नुभयो, यहाँहरुलाई थाहा नै छ। टेलिभिजनबाटै हात्तीको रौं झरेर केही फरक पर्दैन। बाँसको तामा उम्रँदै जान्छ, त्यसका पट्याँस (खबटा) हरु झर्दै गर्छ भन्नुभएको थियो।
दुर्भाग्य, अहिले उहाँलाई त्यही उपमा प्रयोग हुनसक्ने स्थिति तयार भयो। किनभने, मैले एमालेमा जुन प्रवृत्ति हुर्किरहेको देखेको थिएँ, त्यो प्रवृत्तिले उहाँहरुलाई पनि त्यही ठाउँमा उभ्याउन सक्ने स्थिति बनेको थियो। त्यो प्रवृत्तिलाई समयमै स्वीकार गर्न नसकेपछि उहाँहरु पुग्ने हालत भनेको यही नै थियो। यही ठाउँमा अहिले उहाँहरु हुनुहुन्छ। यद्यपि विचारको कुरामा उहाँ (झलनाथ–माधव) हरुले अहिले पनि समीक्षा र सुधार गरेको जस्तो लाग्दैन। यो प्रक्रियामा चाँहि जानहुुन्छ होला भन्ने मेरो अपेक्षा छ।
अहिले माधव–झलनाथजीले एमाले फुटाएर बनाएको एकीकृत समाजवादीका बारेमा चाहिँ तपाईंको विश्लेषण के हो? उहाँहरुसँग तपाईंहरु किन मिल्न सक्नुभएन? उहाँहरुसँग भेटघाट त भइरहेकै होला नि?
भइरहेको छ। व्यक्तिगतरुपमा झलनाथजी र माधवजी दुवै मैले आदर गर्ने व्यक्ति हुनुहुन्छ। झलनाथजी विद्वान, अध्येता र विचारक पनि हो। माधवजी एकदमै व्यवहार कुशल नेता हो। कसैलाई पनि निषेध गर्ने मनोवृत्ति, प्रवृत्ति रहेन। सबैलाई अटाएर, मिलाएर लानुपर्छ भन्ने उहाँमा सधैं देखियो। जसका कारणले १५ वर्षसम्म उहाँ चुनौतीरहित नेता बनेको पनि हो।
उहाँहरु त्यतिबेलासम्म बोर्डर लाइनमा हुनुहुन्थ्यो। बोर्डरलाइन क्रस गरेर नेगेटिभ साइडमा एमाले गयो। नमिठो शब्दावली प्रयोग गर्दा, प्रतिगामी, पुनरुत्थानवादी, यथास्थितिवादी आदि कुन उपयुक्त होला जनताले रोज्ने अधिकार छँदैछ। बोर्डर क्रस गरेर अहिलेको एमाले गयो। एमालेको नेतृत्वले त्यो लाइनमा उतिखेरै यात्रा सुरु गरिसकेको थियो, जतिखेर मैले पार्टी छोडेँ।
झलनाथ–माधव अहिले एमाले छाडेर दायाँ साइडबाट अलिकति वायाँ आउन खोज्नुभएको हो?
माधवजीहरु बोर्डर लाइनमै रहन चाहनुभयो। अलिकति लेफ्टतिर आउने कोसिस गर्नुभयो। तर, राइट साइडले उहाँहरुलाई सहेन। उत्पीडन भएपछि उहाँहरुले त्यो छाड्नुभयो।
यदि क्लिएर गर्न सक्नुभएन भने उहाँहरुको विभाजनको अर्थ हुँदैन। मैले त छाडेको हुँ, यसलाई विद्रोह भन्दा पनि हुन्छ। त्यागेको हुँ एमाले। मैले त्यागेको कुरालाई इतिहासको कुनै पनि कालखण्डमा प्रमाणित गर्नेगरी जिम्मेवार ढंगले त्यागेको हुँ। कुनै आवेशमा आएर, विचारमा अन्योलग्रस्त भएर छाडेको होइन। उहाँहरुले पनि छाडेको कुरालाई इतिहासले भोलि पनि ठीकै हो भन्ने ठाउँमा पुनर्गठन गर्नुपर्छ भन्ने मलाई लाग्छ।
माधव–झलनाथहरुसँग जसपाको एकता हुने सम्भावना कति छ?
अहिले तत्काल यो सम्भावना छैन। तर, मोर्चाबन्दी हुन सक्छ।
एमाले छाडेपछि तपाईले उपेन्द्र यादवसँग एकता गर्नुको कारण चाँहि के हो?
उपेन्द्रजीसँग एकता गर्नुको कारण पनि सैद्धान्तिक, वैचारिक नै हो। पहिलो कुरा, संस्थापन पक्षका विरुद्ध संघर्ष गर्नका लागि विपक्षीहरुको एकता राजनीतिको सर्वमान्य सिद्धान्त हो।
राजयसत्ताले आदिवासी, जनजाति, खस, दलित, महिला सबैमाथि विभेदकारी संविधान ल्याएको छ। त्यो संविधानको विरुद्धमा मधेशीहरु पनि छन्, उपेन्द्रजी पनि हुनुहुन्छ। महिला, दलित, मुसलमान, खस, कर्णाली र न्यायका पक्षपाती आर्य समुदायका विद्धानहरु पनि हुनुहुन्छ। जो न्यायको निम्ति जुुध्न तयार भएका छन्, उनीहरुबीच हुने एकता सैद्धान्तिक एकता हो। यो मुद्दाले गराएको एकता हो। त्यस अर्थमा उपेन्द्रजीसँग कुनै व्यक्तिगत लाभ हानीका आधारमा मैले एकता गरेको होइन। यसैकारण यो एकता अलिकति दिगो पनि भएको हो।
तर, प्रमुख शक्तिलाई लक्षित जति हुनुपर्ने थियो, त्यसको मात्रा जति बढ्नुपर्ने थियो, त्यो त्यति भइरहेको जस्तो देखिएको छैन। योचाँही के भएको हो? किन फस्टाउन सकेन यो वैकल्पिक राजनीतिको घेरा?
मैले यसअघि पनि संकेत त गरिसकेको छु। नेपालमा वर्गीय र जातीय दुवै समस्या छ भन्ने ठम्याइ हो। यो मेरो कल्पना होइन, वस्तुगत यथार्थ हो। दुवै समस्यालाई हल गर्ने दिशामा हामी अघि बढ्नुपर्छ। त्यसमध्ये पनि जातीय समस्याको समाधान झल्कने संविधान र कानुन बनाइदिएपछि त्यो धेरै हदसम्म सम्बोधन हुन्छ। अनि समाजमा त्यो कानुन लागु गर्ने वातावरण बनाउने कुरामा राज्यले त्यसलाई सहयोग गर्ने, विभिन्न जातिका जनतासँग सम्मानजनक ब्यवहार गर्ने, शिक्षा दिने गर्नुपर्छ।
शेर्पाज् आर पोर्टर्स, क्षेत्रीज आर डक्टरस्, लिम्बुज आर आर्मी भनेजस्तो पर्सेप्सन तलैबाट दिने कुरा रोकेर हामी सबै मान्छे हौं, नेपाली हौं, सबै मिलेर मात्र देशको मुक्ति हुन्छ भन्ने सन्देश दिएर जानुपर्ने जस्तो मलाई लाग्छ।
वर्गीय मुक्तिका लागि आर्थिक विकास नै चाहिन्छ। गरिबले धनीको विरुद्धमा मारामार गरेर मात्र हुँदो रहेनछ भन्ने त देखिइ नै सक्यो। चीनमा माओत्सेतुङ र च्याङ काइ सेकका बीचमा सैनिक भिडन्त भएको लामै समय हो। त्यो सन् १९४९ मा टुंगियो। आज आएर बल्ल चीन गरिबीबाट मुक्त भयो भनेर सी चिन फिङको समयमा घोषणा भयो। त्यसकारण, यसमा त आर्थिक उन्नति नै चाहिने रहेछ। यसका लागि केही समय चाहिने रहेछ।
तर, जुन जातीय विभेद छ, यसलाई चाँहि कानुनद्वारा समानताको घोषणा गर्न धेरै समय लाग्दैन। यसमा पहिला हात हालौं, त्यसपछि आर्थिक विकासका लागि अनुकुल वातावरण बनाएर जान सकिन्छ र यसले वर्गीय मुक्तिलाई सम्भव तुल्याउँछ भन्ने कुरालाई आधार बनाउन सकिन्छ भनेर मैले एमालेमा संघर्ष गरेको थिएँ। मैले एमाले छाडेपछि दल पनि त्यसैगरी बनाउन खोजेको छु।
अब, यहाँ आइडेन्टिटी पोलिटिक्स (पहिचानको राजनीति) खुम्चिएर गयो भन्ने भएको छ। तर, मैले त्यो रुपमा हेरेको छैन। बाहिरी आँखाले हेर्दामात्र त्यो हुन्छ। तर, भित्री आँखाले हेर्ने हो भने आज आइडेन्टिटी राजनीति झनै धेरै स्वीकार्य भएको छ। एमालेले पनि सरकारमा हामीलाई निम्ता दिने, कांग्रेसले पनि हामीलाई सरकारमा निम्ता दिने अवस्था छ। हामी सरकारमा खाली मन्त्री खाने कुरालाई मात्र गएका छैनौं। कतिपय नेताहरु मन्त्री पाएँ भनेर दंग हुने पनि होलान्। तर, मैले हेर्दा हामीले बोकेको विचारलाई कुनै न कुनै रुपमा मान्यता दिने प्रक्रिया पनि हो। यो प्रक्रियाविशेष पनि हो।
कांग्रेसले संविधान संशोधनकै प्रस्ताव ल्यायो नि। त्यो प्रस्तावलाई एमालेले असफल गराइदिएको थियो। तर, त्यही शक्तिसँग सरकारमा सामेल हुनेबेलामा ओलीजीले सम्झौता गर्नुभयो। आन्दोलनको क्रममा तपाईंहरुले उठाउनुभएका माग र मुद्दाहरुलाई संविधान संशोधन गरी सम्बोधन गर्नुपर्नेमा संविधान संशोधन गरेर, सरकारको तर्फबाट नीति कार्यक्रम ल्याएर सम्बोधन गर्नुपर्ने हकमा नीति कार्यक्रमद्वारा सम्बोधन गरिनेछ भनेर ओलीले दस्तखत गर्नुभएको छ। यद्यपि भौतिकरुपमा उहाँले गर्नुभएन।
मलाई लाग्छ, त्यो मैले अगाडि सारेको मुभमेन्टको नैतिक विजय हो।
तपाईंले भनेको पहिचान पक्षधर राजनीतिको स्वीकार्यता वा ग्राह्यता बढ्दै गएको मान्न सकिएला। तर, यो विचारमा आधारित भएर उदाएका वैकल्पिक दलले राजनीतिक शक्ति आर्जन गर्न नसकेर एमाले–कांग्रेसमै शक्ति आर्जन भइरहेको छ। वैकल्पिक शक्तिमा पावरचाँहि किन ट्रान्सफर भएन?
यो ट्याक्टिकल मुभ हो। एमाले र कांग्रेस दुई दलीय प्रणालीमा झण्डै –झण्डै केन्द्रित भएर जान खोजेको स्थितिमा हामी चाहन्छौं कि यहाँ तेस्रो ध्रुवको हस्तक्षेप हुनुपर्छ। यो भूमिकाबाट हामी आइरहेका छौं। कहिले हामी एमालेसँग त कहिले कांग्रेससँग मिलेर काम गरिरहेका छौं।
विद्धानहरुको उक्तिमा अभिव्यक्त गर्दा आफ्नो उद्देश्य प्राप्त गर्नका लागि सम्झौता गरौं, तर उद्देश्यमाथि सम्झौता नगरौं। हामीले हाम्रो उद्देश्यलाई स्वीकार्य बनाउनका लागि, यसको प्रभावलाई विस्तार गर्नका लागि हामीले कहिले एमालेसँग, कहिले कांग्रेससँग सम्झौता गरेका छौं। हाम्रो उद्देश्यमाथि सम्झौता गरेका छैनौं।
के बाबुराम भट्टराईको नयाँ शक्तिसँगको एकता पनि यही उद्देश्यमा आधारित थियो?
बाबुरामसँग त एकतै भएको हो नि। पार्टी नै एउटा बनाएका हौं। एउटा शक्ति निर्माणकोे उद्देश्यमा उहाँ पनि सहमत हुनुभएकाले डेढ वर्ष छलफल गरिसकेपछि एउटा साझा विचार, समान धारणा बनाएर हामीले त्यसपछि मात्रै एकता गरेका हौं। त्यो उद्देश्यको बाहकका रुपमा सँगै जाने गरी हामीले एकता गरेका हौं। कार्यनीतिक प्रयोजनमा एमालेसँग वा कांग्रेससँग सम्झौता गरेको जस्तो कुरा थिएन।
तर, बाबुरामसँगको एकता किन टिकेन? उपेन्द्र यादव र बाबुराम भट्टराईलाई अशोक राईले एकैठाउँमा मिलाउन नसक्नुभएको हो?
योचाहिँ व्यवहारिक कुरा हो। सिद्धान्त र दर्शनमा हामीले गएर हेर्नुपर्छ। कुनै पनि कुराको सही कारण खोज्नुपर्छ।
बाबुरामसँग एकता नटिक्नाको कारण केही त होला नि?
व्यवहारिक हिसावले अलिकति कार्यशैली, स्वाभाव मिल्दैन मान्छेको। हरेक मान्छेको आफ्नो कार्यशैली हुन्छ। आफ्नो स्वभाव हुन्छ। आफ्नो आचरण हुन्छ। फेरि बुढेसकाल लागिसक्यो नि हाम्रो त। बुढो मान्छेको ब्यवहार परिवर्तन गर, तिम्रो आनीबानी सुधार भनेर सुध्रिँदैन नि। सानो बच्चा भए उसलाई सुधार्न सकिन्छ। नयाँ दिशामा उसलाई लिएर जान सकिन्छ।
यस्तोमा एउटा सम्झौता खोज्नुपर्छ। कार्यशैली सम्झौताद्वारा हल गर्नुपर्छ। सँगै बसेर आलोचना, आत्म आलोचना गरेर हार्दिकतापूर्वक तपाईको यो ब्यवहार, बानीले यति नोक्सानी गर्यो भनेर त्यहाँनिर सहमति खोज्नुपर्छ।
आनिबानी मिलेन, कार्यशैली मिलेन भनेर विभाजित हुने हो भने कुनै पार्टी पनि सग्लो रहनै सक्दैन। शेरबहादुरजी र शेखरजीको आनीबानी, ब्यवहार र आचरण मिल्छ त? मिल्दैन होला नि। माधवजी र झलनाथजीकै मिल्दैन। केपीजी र उहाँको महासचिव शंकर पोखरेलकै मिल्दैन। तर, यस्तो चिजलाई विभाजनको विषयवस्तु नबनाउनुपर्ने हो।
किनकि, यी पार्टीहरु फुट्दा–फुट्दा, नयाँ पार्टी जन्मिँदा–जन्मिँदा जनतामा एकखालको वितृष्णा पैदा भैसकेको छ। पार्टीहरुप्रति, नेताहरुप्रति जनतामा वितृष्णा पैदा हुने धेरैलामो सूची होला। त्यो सूचीको एउटा विषयचाहिँ नेताहरु मिलेर बस्न नसक्ने, फुटिहाल्ने, नयाँ पार्टी बनाइहाल्ने त्यसपछि जनतालाई रनभुल्लमा पर्ने गरी अनेक तर्क, बुद्धिविलास गर्ने, यो पनि एउटा हो भन्ने लाग्छ।
जनतामा वितृष्णा बढाउनेमा हामी लाग्ने कि विश्वास आर्जन गर्नेमा लाग्ने? मचाहिँ विश्वास आर्जन गर्नेमा जानुपर्छ भन्छु। जबसम्म विचारको प्रश्नमा, मुद्दाको प्रश्नमा, सिद्धान्तको प्रश्नमा विचलन छैन भने आनिबानीका सवालमा, शैलीका सवालमा सम्झौता गरेर जान सक्नुपर्छ भन्ने तर्क मेरो रहन्छ।
अशोक राईको विचारमा अब माओवादी, एकीकृत समाजवादी अनि जसपा एक ठाउँमा भएर कांग्रेस–एमालेको विकल्प दिन सकिन्छ भन्ने लाग्छ कि लाग्दैन? हुन त त चुनावअघि मोर्चा बनाउने कुरामा होमवर्क भैरहेकै होला। प्रचण्ड र माधव नेपालहरुसँग पार्टी एकतासम्मै जाने स्थिति छ कि छैन?
मोर्चाबन्दी चाहिँ कुनै पनि नाम दिएर गर्न सकिन्छ। पार्टीगत एकता चाहिँ अघि नै मैले भनें नि दर्शन, सिद्धान्त, विचार, मुद्दा सबै चिजमा एकरुपता नआएसम्म पार्टी एउटा ढिक्का बनाउन सम्भव हुँदैन। मोर्चामा सहकार्य गर्ने सिलसिलामा विचारमा एकले अर्कालाई प्रभावित पार्ने, एकले अर्कालाई परिवर्तन गर्ने, परिमार्जन गर्ने अवस्था हुन सक्छ। त्यस्तो भयो भने एकता अगाडि जान सक्छ। हैनभने मोर्चाबन्दी गरेर साझा विषयवस्तुमा सहकार्य गर्न सकिन्छ।
आगामी मंसिर ४ मा हुने चुनावमा गठबन्धनका तर्फबाट जसपाले पनि भाग लिँदैछ। जसपा फुटेको र बाबुरामहरुले छोडेर गएको अवस्थामा पार्टीको चुनावी परिणाम कस्तो आउने आकलन गर्नुभएको छ?
अब डाक्टर साबले पार्टी फुटाएको पनि म भन्दिनँ। उहाँ निस्किएर जानुभयो। उहाँ हामीलाई बहुत आवश्यक हुनुहुन्थ्यो। जसपामै उहाँ रहनुपथ्र्यो भन्ने मलाई लाग्छ। अब उहाँ गैसक्नु भयो। तर, उहाँ गए पनि एउटा संख्यामा, राम्रै उल्लेख्य संख्यामा उहाँसँग आउनुभएका, एकीकृत हुनुभएका नेताहरु हामीसँगै हुनुहुन्छ। तल कार्यकर्ता साथीहरु पनि हामीसँग हुनुहुन्छ। मतदाताहरु त झनै हामीसँगै हुनुहुन्छ भन्ने लाग्छ। यो हिसावले धेरै फरक नपर्ला।
अलिअलि असर त भै नै हाल्छ। तर, उहाँ पनि यही गठबन्धनभित्र समेटिएर रहनुभएको हुनाले र गठबन्धनले नै चुनावमा सहकार्य गर्ने अभ्यास गरिरहेको हुनाले तात्विकरुपमा असर पर्दैन।
तपाईहरुले नेपाली कांग्रेससँग गरेको गठबन्धनलाई लिएर मान्छेहरुले प्रश्न उठाउउने गरेका छन्। तपाईको विचारमा कांग्रेस कस्तो शक्ति हो? कांग्रेससँग गठबन्धनको राजनीतिक औचित्यचाहिँ कसरी पुष्टि गर्नुहुन्छ?
गठबन्धन त मुद्दामा आधारित हो। विषयवस्तुमा आधारित हो। घटनामा आधारित हो। सैद्धान्तिक रुपमा भन्ने हो भने उहाँहरु आफूलाई सोसल डेमोक्रेटिक भन्नुहुन्छ। तर, व्यवहारिक हिसाबले हामीले हेर्दा उहाँहरु लिबरल डेमोक्र्याट्स हो। उदार लोकतन्त्रवादीका रुपमा हामीले हेर्दछौँ। त्यसकारण हाम्रो मिल्दैन।
हामी समुन्नत संघीय समाजवाद भनिरहेका छौँ। यसलाई संघीय समाजवाद पनि भन्न सकिन्छ छोटो रुपमा। यसका वर्गीय र जातीय मुक्ति दुबै कुरालाई बोकेर लानुपर्छ भन्ने पक्षमा हामी छौँ। यसकारण सैद्धान्तिक र वैचारिक कुराहरु अलि मिल्दैनन्। तर, नेकपा एमालेको वर्तमान नेतृत्वभन्दा कांग्रेस अलिकति एडभान्स छ। संविधान संशोधनसम्म गर्न तयार भएको शक्ति हो।
ठ्याक्कै पछिल्लो बेलामा घटना आधारित भन्ने हो भने जब प्रधानमन्त्री खड्गप्रसाद ओलीजीले संसद भंग गर्नुभयो संवैधानिक रुपमा त्योचाहिँ संसद मात्रै भंग गर्ने कुरा थिएन, संविधानलाई मिच्ने, उल्टाउने र त्यसलाई उल्टो दिशामा लैजाने कुरा पनि थियो। त्यो घटनाको सुरुवात थियो। त्यो घटनालाई सुल्टाउनुपर्छ, रोक्नुपर्छ। यो उल्टो दिशामा संविधान मिचेर जाने हो भने मुलुक दुर्घटनामा पुग्छ। अहिलेसम्म ७० वर्ष लडेर प्राप्त गरेका उपलब्धिहरु सबै गुम्ने ठाउँमा पुग्छ भन्ने कुरामा कांग्रेससँग हाम्रो एउटै राय भयो। यसअर्थमा यो विघटनलाई रोक्नुपर्छ, यसका निम्ति आवश्यक पर्छ भने सरकारको नेतृत्व पनि गर्न तयार हुनुपर्छ भन्ने अर्थमा हामीले सहकार्य गरेका हौँ।
आगामी चुनावमा पनि एमालेलाई रोक्न जरुरी छ त? संसद विघटनवाला काण्ड त सकिइसक्यो।
एउटा राजनैतिक आवश्यकताले गठन भएको गठबन्धन हो यो। अब यो गठबन्धनले आफ्नो पूर्ण उचाइ प्राप्त गर्नका निम्ति वा यो गठबन्धन किन आवश्यक थियो भन्ने कुरा स्थापित गर्नका निम्ति यो चुनावमा पनि सँगै जानुपर्छ भनेर हामीले भनेका छौँ। यो सम्भवतः निहीत अर्थमा विश्लेषण गर्दा ‘एमालेलाई रोक्ने’ भन्ने पनि हुन सक्छ।
Shares
प्रतिक्रिया