जुम्लामा यसपटकको निर्वाचन रोचक बन्ने देखिन्छ। माओवादी र नेपाली कांग्रेसको बहुमत भएको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले उम्मेदवारी घोषणा गरेका छन्। प्रतिनिधि सभातर्फ एक वटा मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तीन दलबीच गठबन्धन हुने निश्चित भएको छ। तर, प्रतिनिधि सभामा गठबन्धनबाट टिकट आफुले पाउनुपर्ने भन्दै माओवादी र कांग्रेसले आ–आफ्नो दाबी गरेका छन्।
राप्रपाबाट नाम सिफारिस भएसँगै शाही जुम्लामा चुनावी अभियानमा छन्। सामाजिक अभियन्ताबाट राजनीतिमा आएका शाही जुम्लामा आफ्नो लोकप्रियता रहेको बताउँछन्। गठबन्धन गरेका ठूला दलहरुसँग उनी कसरी चुनावी मैदानमा उत्रिँदैछन् त? यही विषयमा नेपालखबरले शाहीसँग गरेको कुराकानी-
चुनावको कस्तो तयारी गर्दै हुनुहुन्छ?
निर्वाचनको मिति तय भएसँगै म गृहजिल्ला जुम्ला फर्किएको छु। भदौ २४ गतेबाट चुनावी प्रचार–प्रसार सुरुवात गरेका छौँ। हामीले जुम्लाको सिँजा गाउँपालिकाका सबै वडामा प्रचार गरेर सकिसकेका छौँ। कनकासुन्दरी गाउँपालिकामा पनि अभियानलाई अन्तिम चरणमा पुर्याएका छौँ। हाम्रो अभियानमा व्यापक जनसहभागिता छ। हरेक वडामा पुग्दा जुम्लाले नयाँ नेतृत्व खोजिरहेको आभाष हुन्छ।
जुम्लामा माओवादी र कांग्रेस पनि बलियो छ। माओवादी, कांग्रेस र समाजवादीबीच गठबन्धन हुने निश्चित छ। यो अवस्थामा कसरी चुनावी मैदानमा उत्रिनुहुन्छ?
तपाईंले जित्ने केही आधार छन् त?
धेरै आधारहरु छन्। जस्तै, आजसम्म जुम्लाले राष्ट्रिय नेतृत्व पाएको छैन। कुनै पनि पार्टीबाट केन्द्रको मन्त्री, प्रधानमन्त्री त धेरै टाढाको कुरा हो, २०४६ सालपछाडि जुम्लाको कुनै पार्टीले एउटा पदाधिकारी समेत पाएको छैन। जुम्लाले अब यो देशको नेतृत्व गर्छ। त्यसैका लागि म जुम्ला आएँ। जुम्लाका जनताले ती कुराहरुको स्वीकार गर्नुभएको छ।
तपाईं जुम्लामा पुगेपछि पार्टीको संगठन विस्तार केही गर्नु भयो?
हामीले संगठन विस्तार गरेका छैनौँ। ज्ञानेन्द्र शाही जिताऊँ अभियान विस्तार छ। ज्ञानेन्द्र शाहीले भोट हाल्दिनँ भन्ने कुनै गाउँ छैन, व्यक्ति पनि छैन। उहाँहरुले खुलेर भन्नुहुन्छ। म नेकपा माओवादी केन्द्रको गाउँपालिका अध्यक्ष हुँ, तर म भोट ज्ञानेन्द्र शाहीलाई नै दिन्छु। प्रत्यक्षतर्फको भोट ज्ञानेन्द्र शाहीलाई, समानुपातिकको भोट पार्टीलाई भन्ने अभियान नै जुम्लामा सुरु भएको छ।
अन्य दलका मतदाताले तपाईंलाई मत दिन्छन् भन्ने कसरी पत्याउने?
सिँजामा गएर सोध्नुस्, जुम्ला बजारमा यहाँभन्दा राम्रो अवस्था छ। आफैँ गएर सोध्नुहोस् र हेर्नुहोस्। चिया पसलदेखि ठुल्ठूला कार्यालयसम्म पनि ज्ञानेन्द्र शाहीलाई नै भोट हाल्नुपर्छ भनेर एउटा अभियान सुरु भएको छ।
केन्द्रमा नेकपा एमाले र राप्रपाबीच तालमेलको कुरा छ। जुम्लामा के हुन्छ?
कुनै गठबन्धन, तालमेलभन्दा पनि व्यक्ति राम्रो रोज्ने कुरा हो। ज्ञानेन्द्र शाहीले जित्छ हार्छ त्यो मुख्य विषयवस्तु होइन। जुम्लाले जित्छ कि हार्छ त्यो मुख्य कुरा हो। आजसम्म जुम्लाको कुनै एक जना व्यक्ति हामीले फुल क्याबिनेटमा देखेका छैनौँ। संघमा एउटा मन्त्री समेत बनाउन सकेका छैनौँ। यो हाम्रो बिडम्पना हो। जुम्लाको कुनै एक जना सांसद संसदको रोस्ट्रममा उभिएर जुम्ला र कर्णालीको बारेमा बोल्न सकेको छैन। त्यही भएको हुनाले ज्ञानेन्द्र शाही हार्छ, जित्छ भन्ने कुरा मुख्य विषयवस्तु हैन। मैले त घोषणा समेत गरेको छु मेरो विजयमा सबै जुम्लावासी हुनेछन्। कुनै एक दलको कार्यकर्ता हुने छैनन्।
एमालेसँग तालमेल भयो भने तपाईंको समर्थन हुन्छ कि हुँदैन?
हैन, भए राम्रै हुछ। पटक–पटक हामीले एमाले, कांग्रेस, माओवादी सबैलाई जितायौँ। अब एमाले, माओवादी, कांग्रेसले पनि छाडिदिनुहोस्। यसपटक जुम्लाले जुम्लालाई जिताउनुपर्छ। कुनै, व्यक्ति वा दलले हैन। हामीले जितायौँ, निरन्तर २०१५ सालदेखि। यदि राष्ट्रिय स्तरमा कहलिएको र पदाधिकारी भएको कुनै व्यक्ति अर्को आउँछ र खडा हुन्छ भने म उम्मेदवारी फिर्ता पनि लिन सक्छु। तर, त्यस्तो मैले कहीँ कतै देखिनँ। यताको नेता उता कार्यकर्ता बन्नेलाई जुम्लाले किन जिताउने? पटक–पटक?
स्थानीय तह निर्वाचन २०७९ मा राप्रपाको स्थिति बलियो थिएन नि!
त्यो राप्रपासँग कुनै लेनदेना नै छैन। स्थानीय तहको मत परिणामसँग कुनै लेनादेना नै छैन। म हलो चुनाव चिह्नबाट निर्वाचन लड्छु। तर, म कुनै पार्टी र दल भनेर चुनाव प्रचार–प्रसारमा गएको छैन। अहिले मेरो चुनावी अभियानमा माओवादी, कांग्रेस, एमाले र एकीकृत समाजवादीका साथीहरु पनि हुनुहुन्छ।
Shares
प्रतिक्रिया