एमाले नेता रघुवीर महासेठका निजी सहयोगीले रौतहट जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका ‘टिकट’ काठमाडौंस्थित प्रभु साहको निवासमा गएर दिए। ती टिकट बोकेर रौतहट प्रभु साहले एमालेबाट नभई स्वतन्त्र उम्मदेवारी दर्ता गराए। अहिले एमाले नेताहरुले प्रभु साहलाई ‘धोकेबाज’को उपमा दिइरहेका छन्।
रौतहट क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवार प्रभु साह नै हुन् भन्नेमा नेकपा एमालेको नेतृत्व ढुक्क थियो। त्यही भएर अध्यक्ष केपी ओलीले उनलाई टिकट दिएका थिए। तर, गत आइतबार मनोनयन दर्ता गर्दा साहले एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिए। यो घटनाले एमालेभित्र निकै खैलाबैला उत्पन्न गर्यो।
एमाले छाडेको घोषणासहित स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि एमालेका निवर्तमान स्थायी कमिटी सदस्य साह काठमाडौं आए। काठमाडौंमा उनलाई टीभी र पत्रपत्रिकामा अन्तरवार्ता दिन भ्याई–नभ्याई भयो। आफूमाथि एमालेले लगाएका आरोपको खण्डन–मण्डन गर्न काठमाडौं आएका उनले एकै दिन धेरैवटा मिडियालाई अन्तरवार्ता दिन भ्याए।
अन्तरवार्ताको बाढी चलिरहेकै बेला नेपालखबरले पनि प्रभु साहसँग कुराकानी गरेको छ। यो अन्तरवार्तामा हामीले साहको नजरमा केपी ओली कस्ता रहेछन् भनेर खोल्न खोज्यौं, तर उनले व्यक्तिगत टिप्पणी नगर्ने बताए। तथापि, राजनीतिक रुपमा भने ओली सबैको साझा राजनेता बन्न नसकेको साहको विश्लेषण छ।साहको जसपासँग गठबन्धन गर्नुको राजनीतिक औचित्व सावित गर्नसमेत ओलीलाई चुनौती दिए।
उपेन्द्र यादवसँगको गठबन्धनमाथि साहको तीव्र असहमति देखियो। साथै रौतहटमा एमाले भनेकै माधन नेपाल रहेको समेत उनले बताए। रौतहटको राजनीतिक संवेदनशीलता ओलीले नबुझेको साहको आरोप छ।
तपाई त ओलीभन्दा बाठो निक्लिनु भो नि भन्ने प्रश्नमा साहको जवाफ छ,‘हामी त सोझो सिधा एउटा किसानको छोरा। भैरहेको पार्टी, भइरहेको पद छाडेर हिँड्नेलाई बाठो भन्छ? ’
नेकपा एमालेको स्थायी कमिटी सदस्य, पूर्वमन्त्री, रौतहटको पूर्वसांसद भइसकेको व्यक्ति पार्टीको टिकट लिएर दिनभर बेपत्ता हुनुभयो र अन्त्यमा धोका दिनुभयो भनेर एमाले महासचिवले सामाजिक सञ्जालमा लेख्नुभएको थियो। यसरी धोकाधडीको राजनीतिक गर्न मिल्छ र? एमालेले तपाईंमाथि लगाएको आरोपको जवाफ के छ?
मैले पटकपटक यसबारेमा भनिसकेको छु। त्यो उनीहरुले उठाएको विषय नै सही होइन, भ्रमपूर्ण हो। आफ्नो गल्तीलाई ढाकछोप गर्न अरुतिर विषयान्तर गर्ने कोसिस हो।
दुनियाँले बुझिराखेको छ कि केपीजीले जो उपेन्द्र यादवजीसँग सम्झौता गरिराख्नुभएको छ, त्यो एमालेको नीतिनिर्णय विपरीत हो। एमालेले एक्लै चुनाव लड्ने भनेको थियो।
एमालेको नीतिले जसपा भन्ने पार्टीलाई आफ्नो मित्र पनि भन्दैन। सहकार्यको लागि उपयुक्त ठान्दैन। निर्णय पनि छैन तर पनि ओलीजीले कुर्सीका लागि अपवित्र गठबन्धन गर्नुभयो। त्यसको बारेमा जनतालाई बताउनुको सट्टा विषयान्तर गरिाख्नुभएको छ– प्रभु साहले यो गर्यो, ऊ गर्यो भनेर।
उहाँले आफैँ स्पष्ट पार्नुपर्छ, जसपासँगको गठबन्धन देश र जनताको पक्षमा भएको हो या निजी स्वार्थ हो? यदि देश र जनताको पक्षमा थियो भने, जसपालाई साम्प्रदायिक शक्ति हो, यो प्रतिक्रियावादी शक्ति हो भनेर किन भन्नुपर्थ्यो?
म उपेन्द्रजीलाई सोध्न चाहन्छु, तपाईंलाई एमाले राम्रै पार्टी हो भन्ने लाग्थ्यो भने हिजो संघीयताविरोधी, प्रतिगामी, परिवर्तनको एजेन्डाविरोधी, मधेशविरोधी भन्दै राष्ट्रपतिको पुत्ला जलाउने अवस्थासम्म किन पुग्नुभयो? केपी ओलीलाई कालो झण्डा देखाउँदै हुनुहुन्थ्यो। एकाएक त्यस्तो के आयो र तपाईंले सम्झौता गर्नुभयो? आफैँ अपवित्र राजनीति, भागबण्डाको राजनीतिको कोसिस गर्नुभयो। यो देशको पक्षमा पनि छैन, राजनीतिको पक्षमा पनि छैन। यो एमाले र कम्युनिस्ट आन्दोलनको पक्षमा पनि छैन।
त्यसलाई बचाउन एउटा नैतिकताको पक्षमा, एउटा निष्ठाको राजनीतिलाई कायम राख्न मैले जोखिम लिएको हो। टिकट खल्तीमा नराखे कहाँ राख्नुपर्ने हो? थाहा छैन कहाँ राख्ने भन्नुभएको छ। टिकट त पकेटमै राख्छन्। हामीले त झण्डै पाँच बजे नोमिनेसन गरायौँ। त्यही दिन म काठमाडौंबाट गएँ। मिटिङ राखेँ, त्यो त ओलीजीलाई सबै थाहा छ त। प्रभु साहले आफ्नो असहमति, विरोध गुपचुप राख्या छ र? अध्यक्षलाई थाहा छैन? जसपाका पनि नेताहरु छँदैछन्, उहाँहरुसँग सोध्न सक्नुहुन्छ। हाम्रै शंकरजीलाई सोध्नुस्। बैठकमा जुनबेला हस्ताक्षर गरिाख्नुभएको थियो,के प्रभु साह सहमत थियो?
जसपासँगको छलफलमा तपाईं पनि हुनुहुन्थ्यो होइन र?
छलफलमा त होइन, पहिले उहाँहरुको भइसकेको थियो। खासगरेर जुनदिन हस्ताक्षर हुने बैठक थियो, त्यसमा म गएँ। म पनि त्यहीँ बालकोटमा भएकोले म गएँ। त्यहाँ जाँदा थाहा पाएँ, कस्तो सम्झौता भएको रहेछ भनेर।
त्यसअघि मैले कुनै चाल पाएको थिइनँ। त्यही बैठकमा मैले आफ्नो कुरा भन्न खोजेँ। उपेन्द्र यादवजीले भनिराख्नु भएको थियो– तपाईंहरुको आन्तरिक कुरा हो, यहाँ नगर्नुस्। तर, त्यति भन्दाभन्दै पनि मैले धेरै कुरा राखेँ– यो सम्झौता देशको पक्षमा छैन, हाम्रो पार्टीको पक्षमा छैन। यसलाई स्वीकार्न सकिँदैन कमरेड। मैले स्वीकारे पनि कार्यकर्ताले स्वीकार्दैनन्। कार्यकर्ताले स्वीकारे पनि जनताले स्वीकार्दैनन्। त्यसैले यो अपवित्र काम नगर्नुस्। त्यसमा सहमति छैन।
अनि त्यो बेलामा महासचिव शंकर पोखरेलले यो कारणले गठबन्धन गरेको भनेर तपाईंलाई भन्नुभयो होला नि त?
त्यो बेला त सन्दर्भ पनि भएन। जसपासँग बैठक थियो। त्यसपछि मैले केपीजीसँग कुरा गर्न धेरै प्रयास गरेँ, तर उहाँले समय दिनुभएन। यतिसम्म कि जुन दिन उहाँ झापा जाँदै हुनुहुनथ्यो, त्यो दिन पनि म १० बजेदेखि २ बजेसम्म यही विषयमा छलफल गर्न कुरेर बसेँ। अन्त्यमा मैले तपाईंले अब गरिसक्नुभयो, कम्तीमा रौतहटमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न छोडिदिनुस्, जसरी धनुषामा तपाईं मित्रवत प्रतिस्पर्धा गर्दै हुनुहुन्छ पनि भनेको थिएँ।
किनभने रौतहटको धरातल भनेको फरक छ। मधेशी पार्टीको धरातलको विपरीत सेन्टिमेन्ट त्यहाँ छ। मिल्ने कुनै सम्भावनै छैन। त्यस्तो ठाउँमा किन जबर्जस्ती गर्नुहुन्छ? मेरो आफ्नो गाउँठाउँमा त छोडिदिनुस् भन्दा पनि केपीजीले मान्ने स्थिति देखिएन। नमानेपछि मसँग विकल्प केही थिएन। कि त मैले जसपाको जहर पिउने, कि त मैले अस्वीकार गर्ने।
मैले साथीहरुसँग राखेरै भनेँ, म अनैतिकताको राजनीति गर्दिनँ। गौर हत्याकाण्डका पीडितहरु न्यायको प्रतीक्षामा छन, म हत्यारालाई लगेर महान् काम गर्न सक्दिनँ। साम्प्रदायिकताका घटनाहरु घटेका छन्, पहाडी गाउँहरु उजाड बनाइएको छ, कयौँ घरमा आगो लगाइएको छ। यस्ता मतदाताको घरमा यस्ता मधेशवादी दल बोकेर जान म सक्दिनँ। मेरो नैतिकताले दिँदैन। त्यसैले अब बरु म स्वतन्त्र लड्छु भन्ने निचोडमा पुगें।
अनि, स्वतन्त्र लड्छु भनेर निर्णय गरेपछि एमालेको टिकट बालकोट फिर्ता गर्नुभयो कि भएन त?
बालकोटबाट टिकट लिएकै छैन, म लिन गएको पनि छैन। म तपाईंसँग कुन बेला मलाई टिकट माग्न गएको थिएँ अध्यक्षज्यू? म सोध्न चाहन्छु। को कोसँग म माग्न गएको थिएँ। तपाईंले जहाँबाट टिकट बाँड्नुभएको थियो, त्यहाँ म पुगेको पनि छैन। चासो पनि राखेको छैन। बरु मलाई टिकट घरमा पठाइएको थियो। राति रघुवीर महासेठको पीएले काठमाडौंमा म बस्ने ठाउँमा मेरो घरमा लगेर टिकट छोडेको, त्यो पनि मात्र रौतहट जिल्लाको भनेपछि मैले टिकट लिएर गएँ।
रौतहटमा कोही पनि लड्ने पक्षमा थिएन। मैले सबैलाई फोन गरेँ, कोही पनि लड्दैनौँ भन्नुभयो। अहिले पनि जीवितै हुनुहुन्छ साथीहरु त। उहाँहरुले भन्नुभयो– अब कसरी लड्ने, यो जसपासँग लड्न, जित्न सक्तैनौँ। साथीहरुले लड्दिनँ भनेपछि हामीले फेरि बैठक बोलायौँ।
जिल्लाका सबै कार्यसमिति साथीहरुलाई मैले बैठकमा बोलाएँ, अब कसरी जाने? भन्दै जाँदा एकदुई जना लड्ने जस्तो मनस्थिति बनाउनुभयो। त्यसपछि इन्चार्जलाई टिकट दिइसकेको थिएँ मैले, त्यही दिनुस् भनेँ मैले।
अब म के गर्ने भन्ने प्रश्न उठ्यो, म लड्ने कि नलड्ने? किनकि, मेरै आधारमा झण्डै ११ वटा प्रतिनिधि सभा र २५ वटा प्रदेश सभामा साथीहरुले नोमिनेसन गरिसकेका थिए। मैले जसपालाई नस्वीकार्नुस्, जसपा जहाँजहाँ लड्छ त्यहाँ तपाईंहरु नोमिनेसन दिनुस् भनेको थिएँ।
नोमिनेसन गराइसकेपछि नैतिक रुपले म एमालेबाट लड्न मिल्दैन। अरुलाई स्वतन्त्रबाट लडाएर म एमालेबाट लड्न मिल्दैन, म बाट गल्ती हुन्छ, निष्ठाको राजनीति हुँदैन। त्यसैले म पनि स्वतन्त्र हुनुपर्छ भनेर स्वतन्त्र उम्मेदवारी दिएँ। अनि एमालेबाट को थियो र मेरो क्षेत्रबाट लड्न तयार? एमालेबाट त सर्वसम्मत नामै प्रभु साहको मात्र थियो। उहाँहरुसँग रेकर्ड होला नि। पार्टीका सबै कमिटीबाट प्रभु साहको एकल नाम सफारिस भएको छ। कोही विकल्प थियो र? म नभएपछि यो विकल्पले पाउने भन्ने केही पनि थिएन।
अहिले पनि रौतहटको साथीहरु त जीवितै छन्, उनीहरुलाई सोधे भइहाल्यो नि। यत्रो इन्टरनेटको जमाना छ। उहाँहरुले भन्नुभो अब यो जसपासँग मिलेर हामी कसरी लड्ने? उसँग मिलेर हामी जित्न सक्दैनौं। त्यसपछि हामीले जिल्लाका सम्पूर्ण पदाधिकारीहरुको मिटिङ बोलायौं। एकदुई जना लड्ने जस्ता देखिए मैले इञ्जार्चलाई टिकट दिइसकेको छु, त्यहीँ लिनोस् भन्दिएँ मैले।
तर, पार्टीलाई झुक्याएर त्यहाँबाट उम्मेदवारै बन्न नदिएको गुनासो छ नि एमाले नेताहरुको?
को थियो र एमालेबाट लड्न चाहने मेरो क्षेत्रमा र मैले दिइनँ ? एमालेको त नामै सर्वसम्मत प्रभु साहको थियो। कुनै विकल्प थिए। उहाँहरुकै रेकर्डमा होला नि, क्षेत्रीय भेला भयो प्रभु साह, जिल्ला भेला भयो प्रभु साह। कोही विकल्प थियो र? म नभएपछि अर्को विकल्पले पाउने, त्यस्तो त केही पनि थिएन।
तपाई त पूर्वमाओवादी नेता हो, टिकट दाबी गर्ने पूर्वएमालेहरु त्यहाँ थिएनन् र?
एमाले पार्टी जो विभाजन भयो, तपाईले सुन्नुभएको होला, प्रदेशसभामा जतिजना थिए, त्यसको झण्डै दुई तिहाईको हाराहारी माधव कुमार नेपालसँग गए। रौतहट जिल्लाको ७५ जनाको जिल्ला कमिटीमा त्यसमा ८ जना मात्र एमालेमा रहे। अहिले पनि निर्वाचन आयोगमा रेकर्ड होला, जनप्रतिनिधि बाँडफँट हुँदा एकाध प्रतिशत बाहेक सबै माधव नेपालको एकीकृत समाजवादीका गए। भनेपछि एमाले भन्ने त माधव नेपालतिर थियो। सबै त हामीले बनाएको हो। हामीले एमालेलाई विशाल पार्टी बनाइराखेका थियौं। मधेसभरि फैलाइराखेका थियौं। भनेपछि यहाँ एमाले भन्ने चिज त माधव नेपालसँग छ।
स्वतन्त्रबाट चुनाव लड्नुहुन्छ, यो त छर्लङ्ग भइगो, चुनावपछिको तपाईको राजनीतिक यात्रा चाहिँ के हुन्छ त अब ?
नेपाली जनतालाई समृद्धि चाहिएको छ। यसका लागि लिडरसिपप्रति जनतामा विश्वास जागृत हुनुपर्छ। अहिले लिडरसिपको ठूलो संकट छ। विश्वासको संकट देखिएको छ। आउने चुनावले यसको मेकअप गरोस् भन्ने म चाहन्छु। यो चुनाव नहुँदाको अहिलेको जुन पोजिसन हामीले देखिराखेका छौं, चुनावपछि यसमा ठूलो बदलाव आउँछ। त्यो बदलावले एउटा नयाँ बाटोतर्फ हामीलाई निर्देष गर्नेछ र त्यसतर्फ हामी जानुपर्छ। देशलाई समृद्धिको बाटोमा लैजाने मेरो मुख्य भूमिका रहन्छ।
तपाई फेरि माओवादीमा फर्कने सम्भावना छ?
माओवादी पार्टी चुनावपछि यही रुपमा रहन्छ जस्तो मलाई लाग्दैन। त्यसमा कुनै नयाँ परिवर्तन आउँछ। त्यो नयाँ परिवर्तन अनुसार हामी नयाँ यात्रा सुरु गर्न सक्छौं।
के फेरि वाम एकता हुन्छ ?
गर्नैपर्छ होला। किनभने नेपालको अहिले जुन शक्ति सन्तुलन छ, चुनावपछि पनि उस्तै रहन्छ जस्तो मलाई लाग्दैन। त्यो शक्ति सन्तुलनले नयाँ आवश्यकताको अनुभूति गराउँछ। र, समयको त्यही मागलाई समातेर हामी अगाडि बढ्नुपर्छ। हामीले कम्युनिस्ष्टहरुले नयाँ यात्रा सुरु गर्नुपर्छ।
रामबहादुर थापा बादलहरुसँगै पूर्वमाओवादी छाडेर नेकपा एमालेमा रहँदा तपाईले केपी ओलीसँग अहिले अकस्मात् फरक मत राख्नुभएको हो कि उहाँसँग यसअघि पनि तपाईको ठाकठुक पर्यो?
एमालेलाई अदालतले ब्युँत्याइदिएपछि र एमालेको विधान अनुसार पार्टी चल्न थालेपछि म पार्टीका बैठकहरुमा सहभागी हुन छाडें। मैले नेकपाकै निरन्तरतामा एमाले जाओस् भन्ने चाहेको थिएँ। यसमा धेरै लामो अन्तरसंघर्ष चल्यो र विधान महाधिवेशनले विधिवत् रुपमा यो नेकपाकै निरन्तरता हो भनिसकेपछि र नेकपाको लोगो नै एमालेको लोगो बनाइसकेपछि यसलाई स्वीकार गर्ने स्थिति बन्यो र म त्यसमा जोडिएको हो।
त्यसपछि हामीले चाहेको के थियो भने नेपाललाई समृद्ध गर्न एउटै पार्टीलाई जनादेश दिने। हिजो नेकपा माओवादी र एमाले मिलेर बहुमत ल्याएर देश बनाउन कोसिस भयो तर दुई विचारधारा र दुई लिडरसिपले सायद सफल भएन त्यसैले एउटै विचार र एउटै लिडरसिपका आधारमा देश बनाउने कोसिस गरौं भनेर हामीले केपी ओलीलाई साथ दिने कोशिस गर्यौं। केपीजी सबै धाराका एउटा साझा नेता बनुन् भन्ने हाम्रो अपेक्षा थियो। माओवादी धाराबाट आएका र फरक धाराका १० भाइलाई समेटेर जाने आवश्यकता थियो। तर उहाँको व्यवहार त्यस्तो देखिएन।
बादलजी कुन क्षेत्रबाट चुनाव लड्ने, मिडियाबाट उहाँलाई थाहा हुन्छ। अष्टलक्षी कहाँबाट चुनाव लड्ने, उहाँलाई पार्टीभित्र थाहा हुन्न, मिडियाबाट थाहा हुन्छ। बादलजीको नाम समानुपातिकमा राखिएको मिडियामा आउँछ र बादलजीले थाहा पाउनुहुन्छ कि मेरो श्रीमतीको नाम समानुपातिकमा परेछ। भनेपछि यो एमाले पार्टी कसरी चलिराखेको छ? कसले चलाइराखेको छ? यो गम्भीर प्रश्न पार्टीभित्र उठिरोखेकै थियो।
हाम्रो अपेक्षा केपीजी सबैको साझा धाराको राजनेता बन्ने अपेक्षा हामीले गरेका थियौं। तर, उहाँले र आफ्नै पार्टीका विभिन्न धाराहरुलाई सन्तुलन गर्न सक्नुभएन। झन् पूर्वाग्रही। बदला साँध्ने। सबैलाई समेटेर देशलाई अगाडि बढाउनुको सट्टा बदला साँध्ने।
अहिले मैले निष्ठाको राजनीतिका लागि यहाँ स्वतन्त्र उम्मेदवारी दिएँ, उहाँहरुले भएभरको गाली गरिरहनुभएको छ। गाली गरेर देश बन्ने भए बनाउनोस्। मलाई त लाग्दैन यसरी गाली गरेर देश बन्छ।
नेपालको राजनीतिमा केपी ओलीलाई साह्रै बाठो मान्छे ठानिन्छ। त्यस्तो बाठोलाई पनि झुक्याउन सक्ने प्रभु साह झन् बाठो रहेछन् भन्छन् नि मान्छेहरु?
हामी त सोझो सिधा एउटा किसानको छोरा। नेपाल समृद्ध बनोस् भनेर हामी कोसिस गरिराखेका छौं। यसमा बाटो भएर मैले के पाएको छु र। भैरहेको पार्टी, भइरहेको पद छाडेर हिँड्नेलाई बाठो भन्छ? हिजो पनि माओवादीमा हुँदा सांसद पद छाडेर हामी हिँड्यौं। अवसरवादी कोणले त्यसलाई त बाठो भन्दैन होला। अहिले एमालेको स्थायी कमिटी सांसद भन्दा ठूलै हुन्छ, हामी छाडेर स्वतन्त्रबाट एउटा सांसद पोस्ष्टमा लडिराखेका छौं। यसलाई बाठो भन्छ कि त्याग भन्छ, मलाई थाहा छैन। तपाईहरुको आँखा र जनताले नै बुझ्ने कुरा हो यो।
केपी ओलीलाई चैं तपाईले संगत गर्दा कस्तो पाउनुभो ? उहाँ गफ गर्न एकदमै रमाइलो मान्छे हो कि ?
यसरी व्यक्तिगत टिप्पणी नगरौं। उहाँ एउटा नेता हुनुहुन्छ, अहिले धेरै टिप्पणी गर्न जरुरी छैन।
स्वतन्त्रबाट चुनाव जितिन्छ जस्तो लागेको छ ?
जनता कहिल्यै हार्दैनन्। सत्य कहिल्यै पनि हार्दैन। हामी सत्यसँग जनताका साथमा अगाडि बढिराखेका छौं। हामीले लिएको स्टेप रौतहटका लागि गौरबको विषय हो। रौतहटका जनताले प्रभु साहले लिएको अडान र त्याग रौतहटका लागि गौरब ठानिरहेका छन्। गौरब कहिल्यै हारेको छैन।
यसो भन्दैगर्दा तपाईलाई के आरोप लाग्ने गरेको छ भने उपेन्द्र यादवसँग तपाईको व्यक्तिगत रिसईबी छ, त्यसैले तपाईले एमाले–जसपा गठबन्धन पचाउन सक्नुभएन...
उपेन्द्र यादवजीसँग मेरो कुनै व्यक्तिगत रिसईबी होइन। माओवादीमा हुँदा पनि हामी सँगै थियौं। माओवादीमा उहाँको रोल आफ्नै ढंगको थियो, हामी आफ्नै ढंगमा थियौं। मधेस आन्दोलन हुँदा जुन उहाँले नेपालमा साम्प्रदायिकताको विष रोप्नुभो, त्यसलाई अहिलेसम्म नेपालले झेलिरहेको छ। यसैमा मेरो असहमति हो।
तपाईले देख्न सक्नुहुन्छ, मधेस आन्दोलनले नेपालमा फुट ल्याइदियो। जनताको एकतालाई खल्बल्याइदियो। अब एकता गर्न नै कति समय लाग्छ। उहाँले मधेस आन्दोलनका बेला जुन दागहरु बनाउनुभएको थियो, प्रमु साह प्रदेशको अध्यक्ष भएपछि त्यो दाग मेटाउन कैयौं समय लाग्यो। उहाँले त आफ्नो क्षणिक स्वार्थका लागि जे पनि गर्दिने। कहिले मधेसी–पहाडी गर्दिने। कहिले यो जाति र त्यो जाति भनेर जुलुस निकालेको हामीले देखेकै छौं। कुर्सीका लागि जे पनि गरिदिँदारहेछन् । क्षणिक फाइदाका लागि देश बर्बाद गर्दिने। राजनीतिको संस्कृति बर्बाद गरिदिने। लोकतन्त्रको मान्यता बर्बाद गरिदिने। यो स्थिति रह्यो त्यसैले म सहमत हुन सकिनँ।
के यसमा गौर हत्याकाण्डले पनि भूमिका खेलेको छ भन्दा हुन्छ?
निश्चय नै। मैले तपाईलाई भनिसकें। मैले ओलीजीलाई पनि यही पटक–पटक भनिराखें कि तपाईले तालमेल गरिसक्नुभयो, अन्त्यमा यतिसम्म लचक भइदिनोस् कि कम्तीमा रौतहट बकस दिनोस्। किनभने, रौतहट मधेस आन्दोलनसँग लडेर बनेको पार्टी हो। यहाँ मिल्ने कुनै गुञ्जायस छैन। गौर हत्याकाण्डका पीडितहरुले न्यायको अपेक्षा गरेका छन्, म अपराधीलाई बोक्न सक्दिनँ। तपाई मलाई जिताउन चिन्ता लिनु पर्दैन, हामी जित्छौं। जनताले जिताउने हो भन्दा पनि उहाँलाई लागेन। उहाँको दिमागमा के थियो, मलाई थाहा छैन। तर, जसपासँग तालमेल गर्ने निर्णय ओलीजीले सही गर्नुभएको छैन।
अर्को कुरा, एमाले नेता रघुवीर महासेठसँगको तपाईको व्यक्तिगत रिसईबीका कारणले पनि एमाले छाड्नुपर्ने परिस्थिति आएको हो भन्छन्े नि मान्छेहरु?
हामी एमाले पार्टीमा जब काम गर्यौं, माओवादीमा राजनीतिलाई शुद्ध पेशा बनाएर जीवन समर्पण गरेको देखिन्थ्यो, एमालेमा त्यस्तो एकदमै अपवादमा हामी देख्न सक्छौं। जति पनि ठुल्ठुला नेताहरु छन्, ती ठुल्ठुला कारोबारीहरु छन्। ती कारोबारीहरुले राजनीतिक ओहोदा प्राप्त गरेपछि त्याचे पार्टीले के गर्ला भन्ने मलाई चिन्ता हो। दलाल पुँजीपतिहरुले देशको समृद्धिको काम पूरा गर्न सक्छ? एउटा ठेकदारले नाफाको लागि कम्पनी खोलेको छ, उसले विकास गर्छु भनेर कसरी हुन्छ? दलाल पुँजीपतिहरुको नेतृत्वमा नेपालको समृद्धि सम्भव छैन।
तपाई यसो भन्दै हुनुहुन्छ, तर एमालेले रघुवीर महासेठका पति– पत्नीलाई नै टिकट दियो नि धनुषामा...
यही त म भन्दैछु। एमाले पार्टीमा अधिकांश म देख्छु, पार्टीको आहोदाबाट आफ्नो व्यवसायलाई संरक्षण गर्ने पार्टटाइमर व्यवसाय रहेछ। अधिकांश नेताहरु विभिन्न कारोबारमा जोडिएका रहेछन्। तिनीहरुलाई त कुनै हालतमा सत्ता चाहिन्छ। सत्ता बिना आफ्नो जीवन धान्न सक्दैनन्। माओवादीमा त होलटाइमर कारर्यकर्ताको ठूलो समुह छ।
गठबन्धनले रौतहटमा तपाईलाई सघाउने भएको हो ?
पत्रकारले मलाई सोधिरहेका छन्, तर मलाई औपचारिक जानकारी आएको छैन।
यो परिस्थितिपछि एमालेका नेताहरुसँग तपाईको सम्वाद भएको छ कि छैन?
सम्वाद त दुबैतिर छ। एमालेसँग पनि छ।
एमालेका साथीहरु के भन्छन् ? मिलौं भन्दैछन् कि?
हैन त्यस्तो मिल्ने नमिल्ने सम्वाद छैन। जहाँ जहाँ एमालेले चुनाव लडिराखेको छ, उनीहरुलाई लागेको छ कि प्रभु साहले असर नगरोस्, हार्दिकता कसरी प्रयोग गर्ने भन्ने सोचेको हुन सक्ने मैले अन्य जिल्लाका साथीहरुमा पाएको छु। यो द्वन्द्वका कारण एमालेबाट चुनाव लडेकाहरुले जित्ने सम्भावना नदेखेर होला उनीहरुलाई अलि नर्मलाइज्ड गर्ने कोसिस गरेको म बुझ्न सक्छु।
Shares
प्रतिक्रिया