कोसी प्रदेशमा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिन निर्देशन दिनेगरी पेस गरेको संकल्प प्रस्ताव पारित भएको छ। यसलाई रोक्न मुख्यमन्त्री कार्कीले गरेको जोडबल असफल भएको छ।
उनले आफ्नै नेतृत्वमा सर्वदलीय सरकार बनाउन समेत प्रस्ताव गरेका थिए।
तर, संकल्प प्रस्ताव पारितपछि पनि सरकार गठन सहज छैन। मुख्यमन्त्री कार्कीले आफू अन्तिम विकल्पका रुपमा निर्वाचित भएको भन्दै राजीनामा नदिने र अल्पमतमा परेको खण्डमा प्रदेश सभा विघटन गर्ने बताउँदै आएका छन्।
तर, एमाले र माओवादी भने बहुमत सांसद आफ्नो पक्षमा भएकाले नयाँ सरकार गठन हुने विश्वासमा छन्। एमालेका ३९ र माओवादी केन्द्रका १३ गरी ५२ सांसद उनीहरुसँग छ।
यसै विषयमा कोसी प्रदेशमा एमाले प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानी :
संकल्प प्रस्ताव त पारित भयो, अब कोसीमा के हुन्छ?
अब मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ, उहाँले विश्वास नपाए अर्काे सरकार गठन प्रक्रिया प्रदेश प्रमुखले सुरु गर्नुपर्छ।
तर, अब त मुख्यमन्त्रीले संसद् विघटन गर्ने बाटो खुल्यो भन्नेहरु पनि छन् नि!
कहाँबाट विघटन गर्न मिल्छ? मिल्दैन। हाम्रो अर्काे सरकार बनाउने तयारी छ। हामीसँग बहुमत छ।
मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकार बनाऔँ भनेर प्रस्ताव गर्दा किन नमान्नुभएको?
भन्न त के भयो र। भन्ने छुट छँदैछ। भन्न रोक्ने कुरा भएन। तर त्यसको अर्थ छैन।
नयाँ सरकार बन्छ कि बन्दैन भन्नेबारे कानुनविदसँग राय लिनुभएको छ?
कानुनविदसँग छलफल गरेका छौँ। कानुनमा केही होइन, सरकार अल्पमतमा परिसकेपछि समर्थन फिर्ता भएपछि विश्वासको मत लिनुपर्छ। त्यही हो कुरा।
तर, मुख्यमन्त्री केदार कार्कीले संविधानको सरकार बनाउने अन्तिम धारा (१६८) (५) अनुसार आफू व्यक्तिगत मत पाएको दाबी गर्नुहुन्छ। विश्वासको मत नपाए विघटन हुन्छ भन्दै हुनुहुन्छ।
हामीले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन व्यक्तिगत रुपमा गरेको समर्थन व्यक्तिगत रुपमै फिर्ता लिएका छौँ नि।
संविधानको एउटै धारा धेरैपटक प्रयोग हुन्छ, पहिला पनि भएकै हो। त्यो हामीलाई थाहा छ। धारा ५ मै पनि फेरि अर्काे सरकार बन्न सक्छ। प्रदेश प्रमुखले जे अनुसार आह्वान गर्नुहुन्छ त्यही अनुसार सरकार बन्छ।
तर, यसअघि पनि सर्वाेच्चमै पुगेको थियो, अबको निकास पनि अदालतबाटै गर्नुपर्ने देखियो होइन?
सर्वाेच्चको नजिर पनि हामीले हेरेका छौँ। हामी सबै कुराबाट तयारी गरिरहेका छौँ। अब हाम्रो मुख्यमन्त्री हिक्मत कार्कीलाई बनाउने हो।
एमाले र माओवादी त मिलेको देखियो तर, एकीकृत समाजवादीले के गर्छ कोसीमा?
एकीकृत समाजवादीका मन्त्रीहरु अहिले केदार कार्कीकै सरकारमा बसिराखेका छन्। एमाले र माओवादीको मात्र ५२ जना छौँ।
अनि कोसीमा विकसित राजनीतिको बारेमा केन्द्रमा के कुरा भएको छ त?
कुरा भएको छ। प्रधानमन्त्री, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेतासँग कुरा भएको छ। उहाँहरुले बनाउनुस्, राम्रो बनाएर जानुस् भन्नुभएको छ।
मध्यावधिमा जाने र राजनीति झन् अनिश्चयको भुमरीमा पर्ने जोखिम कत्तिको देख्नुहुन्छ?
जाँदैन, जाँदैन। कोसीमा मध्यावधि हुँदैन। त्यसको कुनै बाटै छैन।
Shares
प्रतिक्रिया