ad ad

अन्तर्वार्ता


प्रचण्डले ओलीलाई लगाएका कतिपय आरोप स्थायी कमिटीका सदस्यले भोगेकै कुरा हुन्: रघुजी पन्त (अन्तर्वार्ता)

प्रचण्डले ओलीलाई लगाएका कतिपय आरोप स्थायी कमिटीका सदस्यले भोगेकै कुरा हुन्: रघुजी पन्त (अन्तर्वार्ता)

सागर न्यौपाने
मंसिर ४, २०७७ बिहिबार ११:४२,

आन्तरिक विवादका कारण विभाजनको संघारमा पुगेको भनिएको सत्तारुढ दल नेकपाभित्रको कलह केहि दिनका लागि साम्य भएको छ। तर सो पार्टीको संकट अझै टरेको छैन।

भदौ २६ गतेको स्थायी समितिले गरेको निर्णय पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगरेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच नेता एकातर्फ उभिएका छन्।

निर्णय गर्ने तर कार्यान्वयन नगर्ने ओलीको व्यवहार र शैली सच्याउनुपर्ने उनीहरुले माग गरेका छन्।

तर बहुमत सदस्य एकजुट भएर आफूलाई ‘कर्नरमा’ पार्न खोजिएको र काम गर्न नदिइएको भन्दै ओलीले आपत्ति जनाउँदै आएका छन्।

कात्तिक २८ गते बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको १९ पृष्ठ लामो राजनीतिक प्रस्तावपछि नेकपा फुट नजिकै पुगेको विश्लेषण भइरहेको छ। सो प्रस्तावलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफूविरुद्ध ल्याएको आरोप पत्र भनेका छन्।

प्रचण्डको राजनीतिक प्रस्तावको जवाफमा लिखित प्रस्ताव ल्याउन ओलीले १० दिनको समय माग गरेका छन्।

बुधबार बसेको सचिवालय बैठकमा सम्बोधन गर्ने क्रममा अहिलेका घट्नाक्रमका कारण तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकता भंग हुनसक्ने संकेत समेत उनले दिएका छन्।

यसै सन्दर्भमा नेकपाका स्थायी कमिटी सदस्य तथा वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेता रघुजी पन्तसँग नेकपामा बल्झिएको विवाद र समाधानका विषयमा केन्द्रित रहेर नेपालखबरले गरेको संंक्षिप्त वार्ताः

नेकपामा केहि दिनयता तिब्र घट्नाक्रमको विकास भइरहेको छ। पार्टीलाई फुटतर्फ लाने तयारी भइरहेको हो कि सहमतिको प्रयास भइरहेको हो?
हाम्रो पार्टीभित्र समस्या छ, अहिले त्यो प्रत्यक्ष र चर्काे रुपमा प्रतिविम्बित भइरहेको हो। त्यो समस्याको जरो के हो? त्यो समस्याको समाधान कसरी गर्ने भन्ने कुरा पहिल्याएर अगाडि बढ्नुपर्छ। त्यसको लागि बैठक बस्ने भएको छ। बैठकमा हामी यस विषयमा राम्रोसँग छलफल गर्छौं र बैठकबाटै समस्याको समाधान खोज्छौं।

तर, घटनाक्रम हेर्दा त नेकपा फुटको डिलमै पुगिसकेको देखिन्छ?
राजनीतिक पार्टी भनेको बन्दै बन्दै पनि जान्छ, फुट्छ, फेरि बन्छ। एउटा राजनीतिक पार्टीको इतिहासमा हामी त्यस्तो कुरा पाउँछौं। पार्टीमा फुटको भन्दा एकताको इतिहास प्रभावकारी, बलियो हुन्छ। एकताबद्ध बनाएर जाने कुरा बढि महत्वपूर्ण हुन्छ। त्यसकारण हाम्रो पार्टीको आगामी बैठकबाट पार्टीका समस्या समाधान गरेर एकताबद्ध बनाएर लैजाने हो। त्यसैले यहाँ कुनैपनि व्यक्ति वा नेताका आकांक्षा महत्वपूर्ण होइनन्। मुख्य कुरा देश, जनता र पार्टीको वृहत् हितलाई ध्यानमा राखेर त्यसलाई पूरा गर्नलाई पार्टीले के भूमिका खेल्नुपर्छ र को अगाडि, को पछाडि हट्नुपर्छ भन्ने विषयमा गम्भीरतापूर्वक पार्टीमा छलफल हुन्छ। कसका के कमजोरी रहे, कसका के गल्ती रहे? कसको भूमिका कस्तो रह्यो भन्नेबारे व्यापक समीक्षा हुन्छ। केही कुरा त लिखित दस्तावेजहरुमा बाहिरै आएको छ। ती सबै दस्तावेज स्थायी कमिटीमा आधिकारिक रुपमा आउला। त्यसलाई पढिसकेपछि त्यसमाथि छलफल हुन्छ। अर्का अध्यक्ष केपी ओली कमरेडले पनि लिखित नै ल्याउँछु भन्नुभएको छ। प्रचण्डले लिखित नै ल्याइसक्नुभयो। यो हाम्रो पार्टीमा अलि फरक स्थिति पनि हो। हाम्रो पार्टीमा महाधिवेशनको बेलामा मात्र दुईवटा फरक फरक दस्तावेजहरु आउँथे। केन्द्रीय समितिको बैठकमा आजसम्म एकीकृत दस्तावेज, प्रतिवेदन आउथे। अब अहिले फरक प्रस्तावहरु आएका छन्। ती प्रस्तावहरु अध्ययन गर्छाैं। दुबैका राम्रा कुराहरु मिलाएर अगाडि बढाउने प्रयत्न गछौं, मिलेन भने त्यसपछि के गर्ने बैठकमा छलफल हुन्छ।

raghuji panta 6

तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले कार्यकारी अध्यक्षले ल्याएको प्रस्ताव आरोप पत्र मात्रै रहेको भन्दै त्यसलाई खारेज गर्ने बताउनुभएको छ। उहाँले आरोप पुष्टि भएन भने प्रचण्डले अध्यक्ष छोड्नुपर्छ भनिसक्नुभएको छ नि?
होइन, हामी पार्टी कमिटीमा छलफल गर्छौं नि। कतिपय कुरा लेखिएलान, कतिपय कुरा व्यवहारमै प्रष्ट देखिएको छ, भोगिएको कुराहरु छन्। त्यसैले प्रचण्डजीको जुन प्रस्तावहरु छन्, जसलाई सचिवालयका बहुमत सदस्यले समर्थन गर्नुभएको छ। त्यसमा पनि छलफल हुन्छ। त्यसमा लागेका आरोपहरु प्रधानमन्त्री ओलीले खण्डन कसरी गर्नुहोला? स्थायी कमिटीका सदस्यहरुले कतिपय कुरा भोगेकै छन् नी।उनीहरुलाई पार्टीको पनि माया छ, देश र जनताको पनि माया छ, त्यस आधारमा के गर्नुपर्छ बैठकमा छलफल भएपछि नै के गर्ने भन्ने कुरा निश्चित हुन्छ।

प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावका कारण एकता भंग हुनसक्ने प्रधानमन्त्री ओलीले संकेत गर्नुभयो नी?
हेर्नुस्, पार्टी कुनै एउटा व्यक्तिले बनाएको होइन। कुनै एकजना व्यक्तिले भत्काएर पार्टी भत्किँदा पनि भत्किदैँन। समाप्त पनि हुँदैन। पार्टीले सबैलाई समेटेर जाने एउटा निर्णय लिनुपर्छ। कसैमाथि आरोप, आग्रह, पूर्वाग्रह राख्नुहुँदैन। तर, कोही पनि मानिस कुनैपनि हालतमा पार्टीमा बस्दिन भनेर हामी कसैले भन्छौं भने त त्यसको उपचार त हुँदैन। जस्तो भनौं न– म पार्टीमा बस्दै बस्दिन भनेर सबलाई गाली गरेर, मलाई चित्त बुझेन, मैले भनेको जस्तो भएन म निस्किन्छु भनेर म भन्छु भने, त्यसको उपचार के हुन्छ र? हुँदैन। त्यस्तो अवस्थामा पार्टीको बहुमतको निर्णय सबैले मान्नुपर्छ। आफ्नो चित्त बुझे पनि नबुझे पनि। बहुमतको निर्णय चित्त बुझे मान्छु नत्र मान्दिन भन्ने हो भने त संसारमा कुनैपनि पार्टी चल्दैन। यो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तो भइहाल्यो नी। चुनाव हारिसक्यो म जितिराछु भनिरहेका ट्रम्पको जस्तै हामीले पनि कार्यशैली अपनाउने हो भने त ट्रम्प र हामीमा के फरक रह्यो र?

तर, प्रचण्डले ल्याएको राजनीतिक प्रतिवेदनबारे प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकमै राखेका धारणाले त नेकपा निकै संकटमा परेको देखिन्छ नि होइन र?
हेर्नुस्। पार्टीका आन्तरिक मामिलामा, पार्टीका कमिटीहरु सर्वोच्च हुन्। सचिवालयको बहुमतले गरेको निर्णय उहाँलाई चित्त बुझदैन भने स्थायी कमिटीको बैठक राख्न सक्नुहुन्छ, स्थायी कमिटीको निर्णय चित्त बुझ्दैन भने केन्द्रीय कमिटीमा जान सक्नुहुन्छ। केन्द्रीय कमिटी सर्वाेच्च हो। त्यसले गरेको निर्णय सबैका लागि मान्य हुनुपर्छ। म मान्दिन भन्नुभयो भने त पार्टी कसरी चल्छ र? जसले पनि मान्नुपर्छ। चित्त बुझे पनि नबुझे पनि केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल सबैले मान्नुपर्छ। पार्टीका कतिपय कुरा, व्यवहार हामीलाई चित्त बुझेकै छैन तर, अहिलेसम्म पार्टीमा चित्त नबुझ्या धेरै कुरा हामीले मान्दै आएका छौं। फरक मत राखेर पनि पार्टी निर्णय मान्दै आइरहेका छौं। अनि यो कुरा हाम्रो लागि मात्र हो कि अन्य सबैको लागि पनि हो?

त्यसो भए, के भयो भने पार्टी फुट रोकिएला?
त्यसरी अहिले जाने होइन। यो बैठकमा छलफल गर्ने विषय हो। सबै विषयमा छलफल गरेर पार्टीलाई एकताबद्ध बनाउन बैठकमा छलफल गर्ने हो। के छोड्ने, के राख्ने भन्ने कुरा बैठकमा छलफल हुन्छ। त्यहाँबाट आएका निष्कर्षलाई सबैले मान्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .