कोशीका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेसँगै एमाले असन्तुष्ट बनेको छ।
माओवादीबाट गणेश उप्रेती र समाजवादीबाट कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेसँगै एमालेमा सरकारबाट बाहिरिने विषयमा छलफल सुरु भएको छ।
नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीले कांग्रेस र एमालेका १–१ जना समावेश गरेर सरकार गठन गरेका थिए।
तर, शुक्रबार गठबन्धनलाई समावेश गरेर सरकार विस्तार गरेपछि कोशीको राजनीति नयाँ मोडमा जाने सम्भावना बढेको छ।
यसै विषयमा नेपालखबरले कोशी प्रदेशका एमाले संसदीय दलका नेता हिक्मत कार्कीसँग कुराकानी गरेको छ।
कुराकानीका क्रममा कार्कीले केन्द्रको गठबन्धन कोशीमा पनि ब्युँताउनेगरी सरकार पुनर्गठन गरिए एमाले सरकारबाट बाहिरिने बताए।
कार्कीसँगको संक्षिप्त कुराकानीः
कोशीमा माओवादी र समाजवादी समेटिएर सरकार विस्तार भएछ, सल्लाहमै हो?
अहिले सरकार पुनर्गठन भन्ने हल्ला भएको छ। हामीसँग कुनै सल्लाह भएको छैन। यदि त्यस्तो भयो भने त हामी बाहिरिनुपर्यो। हामीले गठबन्धनलाई ब्युँताउनेगरी सरकार गठन गर्ने हो भने हामी हुँदैनौं भनेर भनिदिएका छौं।
माथिको गठबन्धनलाई कपी गर्ने हो भने हामी हुँदैन भनेर भनेका छौँ। सरकार गठन वा पुनर्गठन मुख्यमन्त्रीको जिम्मामा हुने हो। हामीसँग सल्लाह भएको छैन। हामीले त्यस्तो केही सल्लाह पनि दिएका छैनौँ।
यसबारे मुख्यमन्त्रीसँग सल्लाह भएकै छैन?
मुख्यमन्त्रीलाई हामीले स्पष्ट पारेका छौँ– माथिको गठबन्धनमा हामी हिजो पनि थिएनौँ, आज पनि हुँदैनौँ भनेका छौं। बजेट पास लगायतका काम कारबाही वा पार्लियामेन्ट चलाउने कुरामा तपाईंको प्रष्ट कुरा आओस्, हामी सहयोग गर्न तयार छौँ भनेका छौँ।
तपाईं सरसल्लाह बेगर अन्तै सल्लाह गरेर अघि बढ्नुहुन्छ भने हाम्रो साथ रहँदैन भनेका छौँ।
तपाईंहरूको कुरा चाहिँ के हो त?
उहाँलाई गठबन्धनले मुख्यमन्त्री बनाएको होइन। एमालेको साथ सहयोगमा मुख्यमन्त्री बनेपछि हामीसँग सल्लाहमा चल्नुपर्यो भनेका हौँ।
एमालेसँग सल्लाह गरेर माओवादीलाई पनि क्याबिनेटमा समावेश गर्न पाइयो उसोभए?
हामीसँग सल्लाह हुँदा चाहिँ कानुन र संविधानभित्र रहेर जे गर्दा पनि भयो। जुन गठबन्धन माथि छ, त्यो यहाँ बन्ने हो भने हिजो, आज र भोलि हामी हुँदैनौँ।
त्यसो भए माओवादी र समाजवादीलाई सरकारमा ल्याउन हुन्न भन्ने कुरा हो?
हामीले गठबन्धनलाई समर्थन गरेका होइनौँ। केदार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार गरेका हौँ। त्यो अनुसार उहाँ सहमतिमा जानुहुन्छ भने सहयोग गर्न तयार छौँ।
यदि उहाँले केन्द्रको गठबन्धन अनुसार सरकार पुनर्गठन गर्नुभयो भने हामी हुँदैनौँ।
Shares
प्रतिक्रिया