कालीकोटमा एमाले र माओवादी केन्द्रका हेभिवेट नेताबीच टक्कर हुने भएको छ। १ प्रतिनिधि सभा र २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको कालिकोटमा प्रतिनिधि सभातर्फ गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही उम्मेदवार छन्। शाहीसँग चुनावी मैदानमा एमालेका प्रभावशाली नेता नगिन्द्र शाही छन्।
आगामी मंसिर ४ गते हुने आम निर्वाचनको मिति नजिकिँदै जाँदा कर्णालीमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारहरु मतदाता केन्द्रित हुन थालेका छन्। कालीकोट जिल्लामा पनि उम्मेदवारहरुले आ–आफ्ना योजना लिएर मत माग्न थालेका छन्।
प्रतिनिधि सभामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका महेन्द्रबहादुर शाही जनयुद्धका एक कमान्डरसमेत हुन्। साथै पार्टीभित्र प्रभावशाली नेताका रुपमा पनि उनी परिचित छन्।
०७४ सालको निर्वाचनमा कालीकोटबाट एमाले माओवादी गठबन्धनबाट उम्मेदवार बनेर प्रदेश सभाको निर्वाचन जितेका शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बने।
शाहीले एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जसमेत रहेका नगिन्द्रसँग मुख्य रुपमा प्रतिस्पर्धा गर्नेछन्। नगिन्द्र पहिलो पटक निर्वाचन लड्न लागेका हुन्।
बागीले समस्या, गठबन्धनको भर
कालीकोटबाट प्रतिनिधि सभाको एक सिटका लागि स्वतन्त्र तथा विभिन्न दलबाट सात जना उम्मेदवार बनेका छन्। जसमा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही, नेकपा एमालेबाट नगिन्द्र शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धनबहादुर बुढा, नेपाल मजदुर किसान पार्टीबाट खड्गराज शाही, नेपाली कांग्रेस (बिपी)बाट पंखबहादुर विष्ट र स्वतन्त्र काशीचन्द्र बराल र धनप्रसाद पाण्डे उम्मेदवार छन्।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीलाई बागीले समस्या बनाएको छ। गठबन्धन दल नेपाली कांग्रेससँगै समाजवादीबाट असन्तुष्टि हुँदाहुँदै पार्टी भित्रैबाट बागी उम्मेदवारले गर्दा शाही थप अफ्ठ्यारोमा परेका हुन्।
काशीचन्द्र बरालले शाहीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन्। माओवादी केन्द्रको केन्द्रीय लेखा अयोगको सदस्यसमेत रहेका बरालले उम्मेदवारी दिँदा महेन्द्र शाहीलाई थप समस्या भएको हो। यद्यपी बरालले पार्टीलाई नै सहयोग गर्ने विश्वासमा माओवादी छ।
‘सायद आज भोलिको दिनमा छलफल गरेर माओवादीलाई नै समर्थन गर्ने सम्भावना कायम नै छ। शिर्षनेताहरुको सम्पर्कमा उहाँ हनुहुन्छ। माओवादी केन्द्र कालीकोटका संयोजक लक्ष्मीप्रसाद चौलागाईले नेपालखबरसँग भने, ‘यस्तै एकीकृत समाजवादीका जिल्ला अध्यक्ष विश्वराज बमले प्रदेश सभा (२) मा केन्द्रबाट कोटा नपर्दा पनि उम्मेदवारी दिनुभएको छ। त्यो उम्मेदवारी पनि फिर्ता हुन्छ भन्ने हामीमा विश्वास छ। साथै ६ गतेको गठबन्धनको बैठकबाट यो कुरा पनि सहज रुपले ब्याक हुन्छ।’
यस्तै, कालीकोटमा नेपाली कांग्रेसले मागेको क्षेत्र नपाउँदा असन्तुष्ट बनेको छ। कांग्रेस कालीकोटका एक प्रभावशाली नेताले भने, ‘पार्टी भित्रकै योग्य नेतालाई टिकट दिएन, हामी जिल्लाका नेतामाथि षडयन्त्र भयो। पार्टीभित्रै सामन्ति सोच, निरंकुसता हावी भयो।’
ती नेताले आफूले टिकट पाएको खण्डमा निर्वाचत जित्न सक्ने माहोल बनाइसकेको दाबी गरे।
यता, माओवादी कालीकोट संयोजक चौलागाईं भने कांग्रेसभित्र कुनै असन्तुष्टि नभएको दाबी गर्छन्।
‘केही नेता साथीहरुले स्वतन्त्र उम्मेदवारी हाल्नु भएको थियो, फिर्ता लिई सक्नु भयो। जसमा प्रदेश सभा (१)मा माओवादीको एक जना र प्रदेश सभा (२)मा कांग्रेसको दुई जनाले फिर्ता लिएर विश्वासको वातावरण सिर्जना गर्नु भएको छ’ संयोजक चौलागाईंले भने।
साथै, उनले शुक्रबार मात्रै कालीकोटमा गठबन्धनको संयुक्त प्रशिक्षणका साथै बसेको बैठकले शनिबारदेखि पालिकास्तरमा बैठक, प्रशिक्षण तथा चुनावी गतिविधिहरु सञ्चलान गर्ने निर्णय भएको जानकारी दिए। उनले गठबन्धनले साझा चुनावी प्रतिबद्धतासमेत लेखिरेको बताए।
उनले भने, ‘विशेष गरेर कालीकोटमा ग्रामीण सडकको स्तोरोन्नति, कालोपत्रे, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा, कालीकोटमा सबै वडामा विद्युतको राष्ट्रिय प्रशारण लाइन पुर्याउने लगायतका विषय समावेश हुने छन्।’
गठबन्धनका बागीले एमालेलाई राहत
यता, गठबन्धन भित्रै भएको असन्तुष्टि र पार्टीभित्रै भएको बागीको उम्मेदवारीले एमालेले भने राहत महसुस गरेको छ। एमालेबाट उम्मेदवार बनेका नगिन्द्र शाही गठबन्धनका आधा मत बागी उम्मेदवारले काट्ने दाबी गर्छन्।
गठबन्धन भित्रको तिक्तता र माओवादी पार्टी भित्रको आन्तिर किचलोको फाइदा एमालेले उठाउने उनको तर्क छ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका एक विद्यार्थी नेताले नेपालखबरसँग कुरा गर्दै प्रतिनिधि सभामा मुख्यगरी चार जनाको रस्साकस्सी हुने बताए।
उनले भने, ‘मुख्यगरी चार जनाको लडाइँ हुने देखिन्छ। जसमा गठबन्धनको तर्फबाट माओवादीका महेन्द्रबहादुर शाही, एमालेका नगिन्द्र शाही, राप्रपाका धनबहादुर बुढा र स्वतन्त्र उम्मेदवार काशीचन्द्र बराल।’
उनले थपे, ‘माओवादीबाट बागी बनेका उम्मेदवार बरालले कम्तिमा पनि माओवादीका करिब १८ हजार मतमा ५ हजार हराहारीमा काट्छन्, राप्रपाले धेरैमा ४ हजार भोट काट्छ।’
साथै, उनले प्रदेश सभा (१)मा कांग्रेसले टिकट नपाएका कारण माओवादीलाई भोट कम आउने भएकाले एमाले ढुक्क रहेको दाबी गरे। एमाले कालीकोटले कालीकोटबाट एक प्रदेश सभा र प्रतिनिधि सभा ढुक्कका साथ जित्ने दाबी गरेको छ।
यस्तै, कालीकोटमा दुई प्रदेश सभाका लागि १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। प्रदेश सभा (१)मा गठबन्धनको तर्फबाट दुर्गबहादुर रावत र एमालेका कुर्मराज शाहीबीच टक्कर हुने भएको छ।
एमालेका शाही कर्णालीमा फ्लोर क्रस गर्ने नेता हुन्। उनी एमालेबाट टिकट पाउनु अघिल्लो दिनसम्म समाजवादीमा थिए। समाजवादीको कालीकोट इन्चार्जसमेत रहेका शाही समाजवादीलाई गठबन्धनले नमिसाउने भएपछि एमालेमा फर्केका थिए।
माओवादीका रावत र एमालेका शाहीसँगै प्रतिस्पर्धामा राप्रपाका सूर्यबहादुर शाही, नेमकिपाका रविन्द्रबहादुर शाही छन्।
यस्तै, प्रदेश सभा (२)मा एमालेबाट वीरेन्द्रबहादुर बोगटी, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट हिक्मतबहादुर विष्ट, समाजवादीबाट विश्वराज बम, नेमकिपाबाट जनकबहादुर विष्ट, नेपाली कांग्रेस (बिपी)बाट कर्णबहादुर विष्ट र स्वतन्त्रबाट लक्ष्मणबहादुर बम उम्मेदवार बनेका छन्।
यस्तो छ, हिसाब
०७४ को प्रतिनिधि सभा निर्वाचनमा माओवादीका दुर्गबहादुर रावत निर्वाचित भएका थिए। उनले २१ हजार ११२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेका युवा नेता भूपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत प्राप्त गरेका थिए।
यता, प्रदेश सभामा भने बाम गठबन्धनबाट (१) मा एमालेबाट कुर्मराज शाहीले ११ हजार ९३५ मत ल्याएर निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका टेकबहादुर शाहीले ४ हजार ४८९ मत प्राप्त गरेका थिए।
प्रदेश सभा (२)मा माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाहीले १२ हजार १५३ मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कालिबहादुर सहकारीले ९ हजार ३४२ मत प्राप्त गरेका थिए।
प्रदेश सभा (१)मा खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, महाबै र शुभकालिका गाउँपालिका पर्दछन् भने प्रदेश सभा (२)मा नरहरीनाथ, पचालझरना, पलाता, सान्नीत्रेविणी गाउँपालिका र रास्कोट नगरपालिका पर्दछन्।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले प्राप्त गरेको मतका आधारमा माओवादी नै बलियो देखिएको छ।
माओवादी केन्द्रले १८ हजार ३४७ मत पाएको छ। यस्तै, नेपाली कांग्रेसले १२ हजार ८२०, समाजवादीले ३ हजार ५०३ र नेकपा एमालेले १२ हजार ६१३ मत पाएको छ।
Shares
प्रतिक्रिया