आज (शनिबार) बिहान कालीकोटमा भएको बम विस्फोटमा घाइते बालिका सरस्वती रानाको मृत्यु भएको छ। उनको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको हो।
कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडामा बालबालिका खेलिरहेको अवस्थामा बम विस्फोट भएको हो। जसमा परी घटनास्थलमै ४ वर्षीया झरना थापाको मृत्यु भएको थियो।
विस्फोटका कारण चारजना बालबालिका घाइते भएका छन्।
यस्तै, गम्भीर घाइते भएका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, तीन वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती रानालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमा प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको थियो।
प्रदेश अस्पतालमा उपचारका क्रममा चार बालबालिकामध्ये ४ वर्षीया सरस्वती रानाको मृत्यु भएको तिला गुफा नगरपालिकाबाट अस्पतालमा खटिएका कर्मचारी कम्प्युटर अपरेटर चक्रप्रसाद अधिकारीले जानकारी दिए। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए।
यस्तै नेपाली सेनाको टोली, जिल्लाबाट नेपाल प्रहरी र तिलागुफाका कर्मचारीहरु घटनास्थलतर्फ गइरहेको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए।
उनले भने, ‘नगरपालिकाको कार्यालय केन्द्रबाट घटनास्थलतर्फ पुग्न करिब १० किलोमटिर हिँड्नुपर्ने भएकाले हामी घटनास्थलतर्फ जाँदै छौं। बिहान बम विस्फोट भएको खबर पाएपछि घटना अनुसन्धानका लागि प्रहरी, नेपाली सेनालगतयको टोली घटनास्थलतर्फ लागेको छ। अनुसन्धानपछि घटनाबारे थप जानकारी प्राप्त हुनेछ।’
Shares
प्रतिक्रिया