यतिबेला पशुबस्तुमा लम्पी स्किन रोगले महामारीको रुप लिएको छ। जसको प्रत्यक्ष असर कर्णाली प्रदेशमा समेत परेको छ। कर्णाली प्रदेशभर यस रोगबाट करिब एक लाख पशुवस्तु संक्रमित भइसकेका छन्।
सन् २०२० मा नेपालमा पहिलो पटक ‘लम्पी स्किन’ रोग देखा परेको थियो। मुख्य गरेर गाई/भैंसीमा देखिने लम्पी स्किन रोगका कारण कर्णालीका पाँच जिल्लाहरु प्रभावित बनेका छन्। हाल यो रोग कर्णाली प्रदेशका हुम्ला, सुर्खेत, जाजरकोट, सल्यान र रुकुम पश्चिम जिल्लाहरुका देखिएको छ।
घरपालुवा पशुवस्तुमा यो रोग देखा परेपछि किसानहरू चिन्तित बनेका छन्। कैयौँ चौपायाको यसै रोगका कारण मृत्यु समेत भइसकेको छ।
पशुपन्छी विकास निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरि एक लाख बढी गाईभैंसीमा यो रोग देखा परिसकेको जनाएको छ। निर्देशनालयमा दैनिक १० जना किसान लम्पी स्किन रोगबाट संक्रमित गाईभैंसी लिएर आउने गरेका छन्।
यो रोगबाट कर्णाली प्रदेशमा सबैभन्दा बढी सल्यान जिल्ला प्रभावित बनेको निर्देशनालयले जनाएको छ। सल्यानमा महामारीकै रुपमा रोग फैलिएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशुपन्छी महाशाखाका प्रमुख प्रचण्ड खड्का र पशुरोग अन्वेषण तथा प्रयोगशालाका डा. विकास श्रेष्ठको टोली प्राभावित क्षेत्रहरुमा खटिएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले ‘लम्पी स्किन’ भाइरसबाट संक्रमित गाईभैंसी मरेको एकिन तथ्याङ्क आइनसकेको बताए।
प्रवक्ता कठायत भने, ‘हाम्रो टोली अहिले युद्धस्तरमा संक्रमण फैलिएको क्षेत्रमा प्रारम्भीक उपचारसँगै सचेतना फैलाउने, रोग देखिएको क्षेत्रको सर्भे गर्ने र गाईभैंसीलाई तत्काल प्रभावित क्षेत्रमा प्रवेश रोक लगाउन स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको छ।’
सल्यानमा मात्रै करिब ३५ हजार गाईभैंसीमा यो रोग महामारीकै रुपमा फैलिएको मन्त्रालयका पशुपन्छी महाशाखाका प्रमुख प्रचण्ड खड्का जानकारी दिए। उनका अनुसार हालसम्म यो रोग नेपालका ४७ जिल्लामा देखिएको छ।
सुर्खेतमा भने एक महिना अघिदेखि नै कृषकहरु लम्पी स्किन रोगको समस्या लिएर आउने गरेको पशुपन्छी विकास निर्देशनालयका डा. सोविना मल्लले बताइन्।
‘सुर्खेतका पनि सबै पालिकाहरुमा यो रोग महामारीकै रुपमा देखा पर्न थालेको छ,’ डा. मल्लले भनिन्, ‘तत्काल चिंगाडमा शिविर सञ्चालन गर्ने गृहकार्यमा निर्देशनालय जुटेको छ।’
लिम्पी स्किन रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छर लगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिंगान बग्ने जस्ता लक्षणहरु देखा पर्ने गर्दछन्।
चिकित्सकको टोली प्रभावित क्षेत्रमा
सुर्खेतमा रहेको प्रयोगशालामा वैशाख दोस्रो साता लम्पी स्किन रोग पुष्टी भएको थियो। उक्त रोग पुष्टि भएपछि कर्णाली प्रदेशको कृषि मन्त्रालयले चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा मन्त्रालयले खटाएको छ। एक्कासी कर्णालीका जिल्लाहरुमा कसरी यो रोग फैलियो भन्नेमा मन्त्रालय र निर्देशनालयले खोजी थालेको छ। तर, तराईका जिल्लाहरुबाट गाईभैंसी कर्णालीमा ल्याउँदा भित्रिएको अनुमान दुवै निकायको छ।
यस्तै, छिमेकी राष्ट्र भारतबाट यो रोग लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ जिल्लामा देखिएको त्यहीँबाट कर्णालीका जिल्लाहरुमा प्रवेश गरेको मन्त्रालयले जनाएको छ। अफ्रिकाबाट मध्यपूर्व हुँदै यो रोग भारत र बंगलादेशमा सन् २०१९ मा पनि देखा परेको थियो।
यो रोग बाच्छाबाच्छी र पाडापाडीमा समेत फैलिएको छ। रोग लाग्दा गर्भअवस्थाका गाईभैंसी तुहिने र दूध उत्पादनमा कमी हुने गर्दछ। यही रोगका कारण करिब ८० प्रतिशतसम्म दूध उत्पादन घटाउन सक्ने पशुपन्छी विकास निर्देशनालयका डा. सोविना मल्लले जानकारी दिइन्। उनका अनुसार यसको मृत्युदर १ देखि १० प्रतिशतसम्म रहेको छ।
भ्याक्सिन खरिद गर्न १० लाख बजेट विनियोजन
प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तत्काल लम्पी स्किन भ्याक्सिन खरिद गर्न १० लाख बजेट विनियोजन गरेर गृहकार्य थालेको छ।
भारतसँग सीमा जोडिएका जिल्लाका पशुहरु संक्रमित पशुसँगको सम्पर्कमा आएको वा झिंगा लामखुट्टे लगायतको टोकाइबाट सरेको हुन सक्ने मन्त्रालयका प्रवक्ता कठायत बताए।
कठायतले भने, ‘मन्त्रालयले हाल प्रोटोकल निर्माण गरेर किसानहरुलाई रोगबारे सचेतना दिने काम गरिरहेको छ। हाल पशु प्राविधिकहरुले संक्रमित पशुहरुलाई लक्षणको आधारमा उपचार विधि अपनाइरहेका छन्। लम्पी स्किन रोग एक भाइरसबाट लाग्ने भएकाले लक्षणको आधारमा उपचार भइरहेको छ।’
यस्तै, मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा पशु तथा चौपायाहरु ओसापसार र बेचबिखन नगर्न आग्रह समेत गरेको छ। साथै रोगसँग मिल्दो लक्षणहरू अन्य स्थानमा पनि देखा परेकोले पशुचौपायलाई घरमै बाँध्न, गाईभैंसीको ओसारपसार, संक्रमित र स्वस्थ गाईभैंसीलाई उपचारको क्रममा एउटै सुईको प्रयोग नगर्न आग्रह गरेको छ। साथै, प्राकृतिक तथा कृत्रिम गर्भाधानमा संक्रमित साँढेको प्रयोग नगर्न भनेको छ।
यस्तै, कर्णालीका पाँच जिल्लामा मात्रै देखा परेको यो रोगको फैलावट असोजसम्म हुन सक्ने पशु विज्ञले चेतावनी दिएका छन्। झिंगा, किर्ना, लामखुट्टे जस्ता जीवहरुको फैलावट अझै बढ्ने भएकाले रोग असोजसम्म सर्न सक्ने सम्भावना रहेको निर्देशनालयको भनाई छ।
निर्देशनालयकाअनुसार घाम पानी र मनसुनी समयमा यस्ता जीवहरु बढ्ने भएकाले यी जीवहरुले संक्रमित पशुबाट अन्यलाई सार्न सक्ने सम्भावना धेरै हुन्छ।
Shares
प्रतिक्रिया