दैलेखको आठबीस नगरपालिका–६ स्थित भामे ठूलामेला सामुदायिक वनमा मंगलबारदेखि नै आगो लागिरहेको थियो। त्यही क्षेत्रमा बुधबार दिउँसो २ बजे, चर्को घाममा स्थानीयहरु बाटाे विस्तारको काममा व्यस्त थिए। प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत उनीहरु काममा खटिरेहका थिए। जंगलमा फैलिएको डढेलो एक्कासि उनीहरु नजिकै आइपुग्यो। काम गर्दै गरेका मजदुरहरुको भागाभाग भयो। आगो चारैतिर फैलिसकेको थियो। भाग्ने कुनै ठाउँ नभएपछि उनीहरु नजिकैको ओढारभित्र छिरे। तर आगो त्यहाँ पनि आइपुग्यो र १२ जना जलेर घाइते भए। जसमध्ये केहीको अवस्था गम्भीर छ।
‘हामीले बाटो खनिरहेको ठाउँमा आगो आयो। नजिकै रहेको एउटा ओढारमा गएर बस्यौं। ओढारमा आगो आउँदैन होला भन्ने ठान्यौं। तर, चारैतिरबाट आगो बल्दै हामी भएको ठाउँमा समेत आइपुग्यो। फालहाल्ने ठाउँ पनि भएन, अनि ओढारमै बसेका बेला शरीरमा आगो सल्कियो’, आगोले जलेकी १८ वर्षीया छत्रा विकले भनिन्।
उनको अहिले नेपालगन्ज मेडिकल कलेज (बाँके) मा उपचार भइरहेको छ। मेडिकलका अनुसार उनको अवस्था सामान्य छ।
यस्तै छत्राले काम गर्न गएका सबै ओढारमा बसेको बताइन्। उनले भनिन्, ‘वनमा आगो लागेको थियो। त्यो आगो हामीले काम गर्ने ठाउँमै आइपुग्यो। हामी चिच्चायौँ, करायौं कसैले सुनेन, त्यतिबेलासम्म धेरैजना आगोले जलिसक्नुभएको थियो। आगो निभेपछि मात्रै बाहिर आयौं। त्यतिबेलासम्म उद्धारका लागि कोही पनि आएनन्। मेरो दाइ प्रज विकले स्थानीयलाई खबर गरे।’
स्थानीय जुना विक र मीना विक भने आगो लागेको समयमै त्यहाँबाट भागेका कारण उनीहरुलाई आगोले धेरै पोल्न नपाएको छत्राले बताइन्।
यस्तै नेपालगन्ज मेडिकल कलेजमै उपचाररत ५५ वर्षीय मोतिराम कामीले बाटो खन्दै गर्दा आगो एक्कासि आएको बताए। उनले भने, ‘बाटो काट्न लागेका थियौँ। यताबाट आगो निभेको थियो। तर, खनिरहेको समयमा अर्को ठाउँबाट एक्कासि आगो आयो। त्यहाँबाट भाग्यौं। नजिकै ओढार थियो। त्यो ओढारमा टाँसियौं। तलमाथिबाट परेको आगोको झिल्काले हामी पोलियौं। बाहिर भएकालाई धेरै पोल्यो। भित्र भएका कम पोलियौं।’
यस्तै नेपालगन्ज मेडिकल कलेजमा मोतीराम, छत्रा विकसँगै ३५ वर्षीया वसुन्धरा विक, २४ वर्षीया जौकला विक पनि उपचाररत छन्।
नेपालगन्ज मेडिकल कलेजका डाक्टर विनोद कर्णका अनुसार दुई जनाको अवस्था सामान्य छ। दुई जनालाई काठमाडौँ रिफर गर्नुपर्ने अवस्था पनि आउनसक्छ।
यस्तै घाइते अन्य चारजनालाई भेरी अस्पताल नेपालगन्ज भर्ना गरिएको छ। भेरी अस्पतालका कार्यवाहक मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजन पाण्डेले घाइते चारमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जानकारी दिए।
उनले भने, ‘यहाँ उपचाररत चारजनामध्ये दुईजना ५५ वर्षीया भैरव विक र ३३ वर्षीय नवीन विकको अवस्था गम्भीर छ। उहाँहरुलाई काठमाडौँ वा लखनउ रिफर गर्नुपर्ने अवस्था आउनसक्छ।’
मेसु पाण्डेले गम्भीर घाइते भैरवको झन्डै ९० प्रतिशत शरीर जलेको र नवीनको अनुहारमा आगोले धेरै घाउ बनाएको र उनीहरुलाई आईसीयूमा राखिएको जानकारी दिए। भेरी अस्पतालमै उपचाररत ३२ वर्षीया नैना विक र ३१ वर्षीय प्रज विकको अवस्था सामन्य छ।
जिल्ला प्रशासन कार्यालय दैलेखको पहलमा गम्भीर घाइतेलाई उपचारका लागि नेपालगन्ज ल्याइएको हो। उनीहरुमध्ये चारजनाको भेरी अस्पताल र चारजनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।
सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ।
Shares
प्रतिक्रिया