कर्णालीमा प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो बैठक आह्वान गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको बैठकले यही जेठ १० गते संसद बैठक आह्वानका लागि सिफारिस गरेको हो।
मन्त्रिपरिषद्को बैठकले जेठ १० गते दिउँसो ३ बजेका लागि बैठक आह्वानका लागि प्रदेश प्रमुख तिलक परियार समक्ष सिफारिस गरेको सरकार प्रवक्ता कृष्ण जिसीले जानकारी दिए।
बजेट अधिवेशन समेत भएकाले बैठक आह्वान गरिएको उनको भनाइ छ। गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि प्रदेशसभाको पहिलो बैठक गत पुस १८ गते बसेको थियो। चार महिनाको अवधिमा कर्णाली प्रदेशसभामा जम्मा १५ वटा बैठक मात्र बसेर हिउँदे अधिवेशन अन्त्य गरिएको थियो।
संसदको दोस्रो कार्यकालको पहिलो बैठक अवधिमा संसद्बाट एउटा पनि विधेयक पारित हुन सकेन। सत्ता परिवर्तन र राजनीतिक अस्थिरताका कारण संसद् निस्क्रिय जस्तै बनेको सरकारले प्रतिक्रिया दिने गरेको छ।
चार महिनामा बसेका १५ वटा बैठकमध्ये तीनवटा बैठक त मुख्यमन्त्रीले विश्वासको मत लिएका थिए।
Shares
प्रतिक्रिया