रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना भएको छ। बिहीबार (आज) बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको हो।
सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बाँफिकोट रुकुमपश्चिमले जनाएको छ।
प्रहरीलाई खबर प्राप्त भएको र प्रारम्भिक जानकारीअनुसार अन्दाजी तीनजनाको मृत्यु भएको छ।
जिपमा १४ जना सवार रहेको बुझिएको छ। घटनास्थलमा रहेका बाँफिकोट गाउँपालिका–८ का वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार पाँच जनाको अवस्था गम्भीर छ। यस्तै अन्य पाँचजना घाइते भएका छन्।
अन्य जिपमा सवार सबै घाइते भएका छन्। जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन।
हाल स्थानीय तथा प्रहरीले दुर्घटनामा घाइतेहरुको उद्धार गरिरहेका छन्।
यस्तै वडाअध्यक्ष खत्रीले घाइतेहरुको उपचारका लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको जानकारी दिए।
Shares
प्रतिक्रिया