लम्पी स्किन रोगको संक्रमणबाट कर्णाली प्रदेशमा ७ हजार ६ सय ३२ पशुवस्तु मरेका छन्। प्रदेशका १० जिल्लामा गरी दुई लाख सात हजार दुई सय ७३ वटा पशुवस्तुमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ।
यो रोगबाट सबैभन्दा बढी संक्रमण हुनेमा गोरु छन्। जसमा एक लाख १६ हजार गोरु, दुई सय ८२ चौरी, दुई हजार तीन सय ९१ भैंसी, ४५ हजार एक सय ३० गाई र ४२ हजार पाँच सय ६ बाच्छाबाच्छी छन्। गोरुमा लम्पी स्किनको प्रकोप बढी देखिएका कारण किसानलाई बर्खे खेती लगाउने समयमा समस्या भएको छ।
कर्णालीमा लम्पी स्किन रोगका कारण मर्नेमा पनि सबैभन्दा धेरै गोरु चार हजार दुई सय ६४ वटा छन्। यस्तै, एक हजार आठ सय ७१ गाई, एक हजार दुई ४७ बाच्छाबाच्छी, दुई सय ४९ भैँसी र २ वटा चौरी मरेको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।
दैलेख, जाजरकोट, हुम्ला र सल्यान बढी प्रभावित
लम्पी स्किन रोगबाट सबैभन्दा बढी दैलेख, जाजरकोट, हुम्ला र सल्यान जिल्ला प्रभावित भएका छन्। दैलेखमा ७४ हजार तीन सय १५ वटा पशुमा रोगको संक्रमण देखिएको छ। जसमा चार सय ७४ वटा पशुको मरेका छन्। मृत्युतर्फ सबैभन्दा बढी जाजरकोटमा दुई हजार चार सय ३० वटा पशु छन्।
यस्तै, हुम्लामा एक हजार चार सय ६६, सल्यानमा एक हजार १३, सुर्खेतमा एक हजार २८ पशुवस्तु मरेका छन्। संक्रमण दैलेखपछि क्रमश: सल्यान, सुर्खेत, रुकुमपश्चिम, हुम्ला र जाजरकोटमा बढी देखिएको छ। कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा २ वटा चाैँरी मरेका छन् भने डोल्पामै ३१ वटा र जुम्लामा एक सय ६० वटा चौँरीमा लम्पी स्किनको संक्रमण देखिएको छ।
कर्णालीमा संक्रमित पशुवस्तुका आधारमा मर्नेदर ३ दशमलव ६८ प्रतिशत देखिएको छ। भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कर्णालीमा सबैभन्दा पहिला सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाका विभिन्न क्षेत्रका गाई, गोरुमा समस्या देखिएको जनाएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट ती क्षेत्रका शंकास्पद पशु चौपायाको सिरम र छालाको भागका नमुना संकलन थालिएको थियो।
०७९ चैत २५ गते उक्त नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडाैं पठाएर परीक्षण गर्दा सबै नमुनामा लम्पी स्किन पोजिटिभ देखिएको थियो।
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पशुपन्छी विकास महाशाखाका पशुविकास अधिकृत प्रचण्ड खड्काले पहिलोपटक मन्त्रालयको टिम सल्यान पुगेर रोगबारे जनचेतनामूलक कार्यक्रम गरे पनि औषधि पत्ता नलागेका कारण संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको जानकारी दिए।
एक लाख पशुको उपचार, ९ हजारभन्दा बढी खोप लगाइयो
यस्तै मन्त्रालयका अनुसार संक्रमितमध्ये एक लाख २५ हजार ९१ वटा पशुबस्तुको उपचार गरिएको छ। पशुपन्छी विकास महाशाखाका पशुविकास अधिकृत प्रचण्ड खड्काले लम्पी स्किन रोग कर्णालीका कुनाकुनामा फैलिएको जानकारी दिए।
उनका अनुसार जम्मा नौ हजार नौ सय एक डोज खोप पशुवस्तुमा लगाइएको छ। सुर्खेतमा एक हजार पाँच सय २५, डोल्पामा एक हजार पाँच सय ८५, मुगुमा पाँच सय, जुम्लामा पाँच सय, कालीकोटमा एक हजार, दैलेखमा दुई सय ७५, सुर्खेतमा एक हजार नौ सय ९४, सल्यानमा नौ सय ७, रुकुमपश्चिमा एक हजार एक सय ७५, जाजरकोटमा चार सय ४० पशुबस्तुमा खोप लगाइएको कृषि मन्त्रालयले जनाएको छ।
पशुविकास अधिकृत खड्काले लम्पी स्किन रोगको संक्रमण नभएका पशुवस्तुमा लगाइएको जानकारी दिए। उनले भने, ‘संक्रमण नभएका पशुवस्तुमा रोग नलागोस् भनेर खोप लगाइएको छ। तर, सबैतिर रोग फैलिसकेकाले खरिद गरिएको खोप पनि स्टक राख्नुपर्ने अवस्था छ।’
मन्त्रालयले महामारी रोग नियन्त्रण कार्यक्रमबाट पहिलो गत वैशाख ४ गते लम्पी स्किन रोगविरुद्धको २ हजार ५ सय डोज खोप खरिद गरेको थियो। त्यसमध्ये पाँच सय जाजरकोट, एक हजार रुकुम पश्चिम र एक हजार सल्यानमा पठाइएको थियो।
यस्तै, पशुपन्छी विकास निर्देशनालय सुर्खेतबाट एक हजार डोज खरीद गरी पशु अस्पताल तथा पशु सेवा कार्यालयमार्फत पालिकाहरुमा पठाइएको मन्त्रालयले जनाएको छ। अहिले लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि ४० लाख रकमान्तर गरी १४ हजार डोज खोप तथा अन्य औषधी खरिद गरिएको छ।
मन्त्रालयले हालसम्म जम्मा १७ हजार खोप खरिद गरिएको जनाएको छ। जसमध्ये ९ हजार ९०१ डोज खोप प्रयोग भइसकेका छन् भने सात हजार ९९ डोज खोप बाँकी छन्।
Shares
प्रतिक्रिया