माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने सुर्खेतका कमानसिंह कामी र गुर्भाकोट नगरपालिकाकी उपमेयर समेत रहेकी उनकी श्रीमति मैना विक पीडितसँगै भारतको दिल्ली पुगेको खुलेको छ।
गत माघमा भारतमा मेडिकल लगायतको कामका लागि भन्दै उपमेयर विकसहित पीडितहरू दिल्ली पुगेर एउटै होटलमा बसेका पाइएको छ।
उनीहरू उपमयेर विकसँगै ताज महल लगायत भारतका विभिन्न ठाउँमा सँगै घुमेका पनि भेटिएको छ।
पीडितमध्येका एक मायाकुमारी गिरीका अनुसार उपमेयर, कमानसिंह र सिंगापुर जान तयार टोली सँगै होटलमा बसेका थिए।
उनीहरूले उपमेयरसँगै टिकटक भिडिओ बनाएर पोस्ट गरेको देखिएको छ। सल्यानको शारदा नगरपालिका–४ की सुशीला योगीसँग टिकटक भिडिओमा उनी देखिन्छिन्।
अर्की पीडित सल्यानको शारदा नगरपालिका–४ की मायाकुमारी गिरीले बायोमेडिकलका लागि कमानसिंहले उनीहरूलाई दिल्ली लगेको बताइन्।
‘बायोमेडिकल गर्नको लागि उपमेयर, कमानसिंह र माल्टा तथा सिंगापुर जाने टोलीहरु सँगै भारत गएका थियौँ। हामी दिल्ली जाँदा पनि सँगै गएका हौँ,’ उनले भनिन्, ‘उहाँ (मैना विक) लाई थाहा नहुने भन्ने हुँदैन। सँगै खाएका हौँ। एउटै होटेलमा बसेका हौँ। त्यसपछि घुम्न पनि सँगै गएका हौँ।’
यस विषयमा बुझ्न विकलाई सम्पर्क गर्दा उनको फोन उठेन।
भिडओ:
उपमेयरको तर्क!
श्रीमान्बाट ठगीमा परेकाहरूले नगरपालिकाको न्यायिक समितिमा दर्ता भएको उजुरीको छलफल घरमै गरेकी विकले पीडितहरूको रकम कमानसिंहको घर नै बेचेर भए पनि एक वर्षभित्र आफैं तिर्ने बताउँदै आएकी छिन्।
यसबीचमा सम्पर्कविहीन भएका श्रीमान्को खोजीभन्दा पनि उनले घर बेचेर भए पनि पैसा तिर्न एक वर्षको समय दिन पीडितहरूसँग आग्रह गरेका थिइन्।
तर, उपमेयर विकले नेपालखबरलाई खण्डन भन्दै पठाएको पत्रमा कमानसिंहको अनुमतिबिनै खातामा २/२ लाख पैसा हालेको जिकिर गरेकी छिन्।
उपमेयर विकले नेपालखबरमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै सार्वजनिक पद र व्यक्तिगत चरित्रहत्या हुने काम भएको दाबी गरेकी छन्।
आरोपित कमानसिंहले आफूले ठगी नै नगरेको बरु माल्टा र अमेरिका जान्छु भनेका टोलीले राजीखुसीमा पैसा दिएको तर्क उनले गरेकी छिन्।
गत साउन ८ गते सोमबार नेपालखबरले ‘माल्टा पठाउने भन्दै ठगीमा उपमेयरकै श्रीमान, उजुरीको सुनुवाई भएन (भिडिओ)’ शीर्षकको समाचारमा उनले आपत्ति जनाएकी हुन्।
१० जनाले मेडिकल रिर्पोट गरी पासपोर्ट र पैसा बुझाएको र बाँकी १४ जना नेपाल फर्किएको, १० जनाको सिंगापुरको ओरजिनल वर्कपरमिट, जहाज टिकट आएको देखेपछि नेपाल फर्किएका १४ जना फेरि दिल्ली गई प्रक्रिया सुरु गरेको उप–प्रमुखको भनाइ छ।
उनले दाङ्ग घोराहीका यामबहादुर विकको छोरा सुनिल विकको अगुवाईमा पैसा पठाएको दाबी गरिन्।
पीडितहरूले नेपालखबरलाई उपलब्ध गराएको प्रमाणका आधारमा श्रीमान्माथि नगरमा दर्ता भएको उजुरीबारे घरमा बसेर छलफल गर्नु, दिल्लीका होटलमा पुगेर सँगै बस्नु, कमानसिंहको ठगीविरुद्धको मुद्दा दर्ता नहुनु लगायतले उनीमाथि पनि प्रश्न उठाएको हो।
यसअघि प्रकाशित समाचारहरु:
Shares
प्रतिक्रिया