ad ad

कर्णाली


कर्णाली प्रदेश अस्पतालमा शल्यक्रिया गराएकी सुत्केरीको मृत्यु, लापरबाही भएको आरोप

कर्णाली प्रदेश अस्पतालमा शल्यक्रिया गराएकी सुत्केरीको मृत्यु, लापरबाही भएको आरोप

सुर्खेतस्थित प्रदेश अस्पताल र त्यहाँ सुत्केरी हुँदा मृत्यु भएकी जानकी रेग्मी (फाइल तस्बिर)


नेपालखबर
भदौ ३१, २०८० आइतबार १३:४५, सुर्खेत

सुर्खेतको कालागाउँस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा सुत्केरीको मृत्यु भएको छ। उक्त अस्पतालमा बच्चा जन्माएकी पञ्चपुरी नगरपालिका-२ घर भई हाल वीरेन्द्रनगर–४ निवासी ३० वर्षीया जानकी रेग्मी अधिकारीको मृत्यु भएको हो। 

जानकीका ससुरा नाता पर्ने तिलकराम अधिकारीका अनुसार  सुत्केरी व्यथाले च्यापेपछि अस्पताल भर्ना भएकी जानकीको शल्यक्रियापश्चात् जनरल वार्डमा सारिएको २४ घण्टापछि मृत्यु भएको हो।

प्रदेश अस्पताललाई पछिल्लो समय प्रदेशकै सुविधा सम्पन्न अस्पतालका रुपमा लिने गरिन्छ। तर, सामान्य अवस्थामा शल्यक्रियामार्फत सुत्केरी गराइएकी जानकीको मृत्यु हुनुमा अस्पतालको लापरबाही भएको आरोप परिवारले लगाएका छन्।

‘सुविधा सम्पन्न मानिएको यस अस्पतालमा सुत्केरीको मृत्यु हुन पुग्यो। अस्पतालबाट एक सय मिटर दूरीमा रहेको परिवार र छिमेकी यतिबेला शोकमा छन्।’

अधिकारीले भने, ‘सकुशल बच्चा जन्मिएपछि सुत्केरीलाई केही समस्या नहोस् भनेर डाक्टरको निगरानीमा राखेर वार्डमा उपचार गर्ने प्रचलन छ। तर, वार्डमा भर्ना भएको २४ घण्टामा आफन्तलाई मृत्युको खबर आयो।’ 

अधिकारीले सुत्केरी जानकीका बुवा नरेन्द्रराज रेग्मीको भनाइ उद्धृत गर्दै भने, ‘छोरीको मृत्युको भएको जानकारी मात्रै आयो। के कारणले मृत्यु भएको भन्ने कुरा अहिलेसम्म अस्पतालले दिनसकेको छैन।’

‘राज्यले सुत्केरीका नाममा यत्रो लगानी गरेको छ। अस्पताललाई लगानी ओइरिरहेको छ। अस्पतालको वार्डमा भर्ना भएको सामान्य बिरामी यसरी मरीरहनुपर्ने कहिलेसम्म हो सरकार? यो लापरबाही नभयर के हो’ अधिकारी प्रश्न गर्छन्। 

परिवारले अस्पतालको लापरबाहीले जानकीको मुत्यु भएको दाबी गरिरहँदा अस्पतालले भने मृत्युको कारण खुलाएको छैन। 

यता अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकीको शल्यक्रियापश्चात् वार्डमा सारेर उपचार भइरहेको अवस्थामा एक्कासि सास फेर्न गाह्रो भएपछि सघन कक्षमा राखी उपचार गर्ने क्रममा मृत्यु भएको बताएका छन्। 

जानकीको पोस्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने सूचना अधिकारी बस्नेतको भनाइ छ। 

नवजात शिशु अस्पतालमै छन्। 

पछिल्लो समय विभिन्न मन्त्रीले कर्णाली आएका बेला यस प्रदेश अस्पतालको नियमित अनुगमन गर्ने गरेका छन् र अस्पतालको निकै वर्णन गरेर फर्किन्छन्। बाहिर भवन र बस्ने ठाउँ भए पनि उपचार कक्षमा पुगेपछि बिरामीहरुको बेहाल हुने गरेको छ। 

उपचारका लागि लाइनमा बस्न बिरामीहरु बिहान ७ बजेदेखि भोकभोकै अस्पताल पुग्छन्। तर, सम्बन्धित डाक्टरहरु १० बजे आउनुपर्नेमा ११ बजेसम्म पनि नआउने गरेको गुनासो छ। 

केही बिरामीले पावर र पँहुचका आधारमा उपचार पाए पनि प्रदेश अस्पतालमा सर्वसाधरणलाई भने सेवा पाउन कठिन छ। प्रदेश अस्पतालमा कार्यरत अधिका‌ंश डाक्टर सुर्खेतमै रहेका निजी अस्पतालमा काम पनि गर्ने गर्छन्। उनीहरु प्राय: हाजिर लागउन मात्रै कालागाउँ पुग्ने गरेको बिरामीको गुनासो छ। 

यस्तै डाक्टरहरुले गर्नुपर्ने काम सबै ओजेटीमा आएका सिकारुहरुले गर्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .