कात्तिक १० गते बिहान मुगुको छायानाथ रारा नगगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या भएको खबर बाहिरियो।
कात्तिक ८ गते (दसैँ टीकाको भाेलिपल्ट) कै राति उनीहरूको हत्या गरिए पनि घटनाको जानकारी दुई दिनपछि अर्थात् कात्तिक १० गते बिहान करिब ९ बजे मात्र प्रहरीसम्म पुगेको थियो।
खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय (मुगु) बाट प्रहरी टोली घटनास्थलतर्फ लाग्यो। प्रहरी घटनास्थलमा पुगेपछि घरमा नयाँ ताल्चा लगाएको अवस्थामा २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ८ महिनाका छोरा रहर, ८ वर्षीया छोरी अप्सरा र ११ वर्षीय छोरा मनोजको शव फेला पर्यो।
त्यसपछि प्रहरीले सिंगो गाउँलाई निगरानीमा राखेर अनुसन्धान थाल्यो। यसको दुई हप्तापछि प्रहरीले २ जना आफन्तलाई पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार घटनामा संलग्न आशंकामा मुगुको छायानाथ रारा नगरपालिका–७ पिना घर भई हाल बाँके कोहलपुरको चिसापानी बस्ने ३१ वर्षीय गोर्खराज शाही ठकुरी र मृतककै गाउँका ३१ वर्षीय गोपाल बोहरा पक्राउ गरिएको हो।
गोर्खराजलाई प्रहरीले गएको सोमबार बाँकेको कोहालपुरबाट प्रकाउ गरेको हो। उनलाई पक्राउ गरी मुगु ल्याएर थप अनुसन्धान गर्दा स्थानी मुन्दु गाउँकै गोपाल पनि पक्राउ परेको स्रोतले जानकारी दिएको छ।
गोर्खराजबारे छानबिन गर्दा उनले घटनामा बोहोरा पनि संग्लन रहेको बताएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो।
हत्या आरोपित गोर्खराज श्रीदेवीका काका र गोपाल देवर नाता पर्छन्।
मृतक श्रीदेवीका श्रीमान् दीपक बोहरा ७/८ वर्षदेखि वैदेशिक रोजगारीमा छन्।
स्रोतले दिएको जनकारी अनुसार मृतक श्रीदेवीका श्रीमान्ले विदेशमा कमाएको रकमले मुगु सदरमुकाममा ४०/४२ लाख बराबरको जग्गा किनेका छन्।
प्रहरी स्रोतका अनुसार लुट्ने योजनाका साथ सामूहिक हत्या गरिएको पाइएको छ।
प्रहरी स्रोतका अनुसार गोर्खराज गाउँमा राम्रो चरित्रका मानिँदैनन्।
‘गोर्खराजले पहिला मृतक श्रीदेवीकी काकीसँग विवाह गरेका रहेछन्। ती आन्टी कोहलपुरमा बस्दै आएकी छन्। तर, गोर्खराजले बहुविवाह समेत गरेका सुन्नमा आएको छ’, स्रोतले नेपालखबरलाई भन्यो।
प्रहरीले हत्या आरोपमा प्रकाउ परेका उनीहरूलाई आज (शुक्रबार) दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने मुगुका डीएसपी (प्रहरी नायब उपरीक्षक) वीरेन्द्र थापाले नेपालखबरलाई जानकारी दिए।
यस क्रममा प्रहरीले घटनाबारे विस्तृत विवरण दिने जनाएको छ।
Shares
प्रतिक्रिया