कालिकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडास्थित सुनथराली विमानस्थल फागुन १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने भएका छन्।
प्रधानमन्त्री प्रचण्ड, संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराँती, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा र मन्त्रीहरुको सहभागितामा औपचारिक रुपमा विमानस्थलको उद्घाटन हुने भएको हो।
नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले फागुन १४ गते औपचारिक रुपमा विमानस्थलको उद्घाटन हुने जानकारी दिए।
फागुन १४ गते कोटवाडामा आएर विमानस्थलको औपचारिक उद्घाटनमा सहभागी हुन आम नागरिकलाई पनि निम्तो दिइएको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाअध्यक्ष प्रदीप बोहोराले जानकारी दिए
उनले भने, ‘यसअघि पनि पटक–पटकको सूचना भएर स्थगित हुँदै आएको उद्घाटन कार्यक्रम यही फागुन १४ मा पनि हुन्छ कि हुन्न भन्ने आशङ्का नागरिकले गरेका थिए। यो पटक तोकिएकै समयमा विमानस्थल उद्घाटन हुने पक्का भएको छ।’
२०४२ सालमा तत्कालीन जिल्ला विकास समितिको निर्णय अनुसार सुरुमा एक लाख बजेट विनियोजन गरेर निमार्ण कार्य सुरु गरेको विमानस्थल ३८ वर्ष लगाएर निर्माण सम्पन्न भएको थियो।
डोल्पाको जुफाल विमानस्थल फागुन १६ गतेदेखि बन्द
यता, डोल्पामा रहेको जुफाल विमानस्थल फागुन १६ गतेदेखि बन्द हुने भएको छ। विमानस्थलको धावन मार्गको मर्मतका लागि फागुन १६ गतेदेखि चैत्र १६ गतेसम्म बन्द गर्न लागिएको हो।
विमानस्थलको १८५ मिटर स्तरोन्नति हुने र जसका लागि ६ करोड खर्च लाग्ने अनुमान गरिएको छ।
यस्तै, नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालका प्रमुख अमित चौरासियाले विमानस्थल बन्द गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले सूचना पठाइसकेको जानकारी दिए।
उनका अनुसार माघ २९ गते ठूलिभेरी नगरपालिका जुफालमा नगर प्रमुख सुवर्ण बुढाको अध्यक्षतामा बसेको बसेको जिल्लास्थित सरोकारवाला निकायको बैठकले विमानस्थल बन्द गर्नका लागि नागरिक उड्डयन प्राधिकरण काठमाडौंलाई सिफारिस गरिएको थियो।
Shares
प्रतिक्रिया