ad ad

कर्णाली


दस वर्षदेखि खोला किनारमा बसेका बाढीपीडितलाई वन कार्यालयको दबाब

भन्छन् : अब कहाँ जाने, के खाने!
दस वर्षदेखि खोला किनारमा बसेका बाढीपीडितलाई वन कार्यालयको दबाब

आफ्नै बस्तीमा बाढीपीडित संघर्ष समितिकी अध्यक्ष सिर्जना विक


दिनेश बुढा
साउन ३१, २०८१ बिहिबार १२:४, सुर्खेत

२०७१ साउन २८ र २९ गते भेरी नदीको बाढी सुर्खेतका साविक लेखपराजुल, वीरेन्द्रनगर, हरिहरपुर गाविसका विभिन्न बस्तीमा पस्यो। जसबाट १ हजार ४५ परिवारको उठीवास भयो। जिल्ला प्रशासन कार्यालयका अनुसार त्यसबेला बाढीपहिरोबाट सुर्खेतका विभिन्न ठाउँमा गरी १ हजार १५९ घर पूर्ण रूपमा तथा २५५ घर आंशिक रूपमा क्षति भए। घटनामा २५ जनाको मृत्यु भयो भने ९१ जना बेपत्ता भए।

त्यसबेला विस्थापित परिवार हाल वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र, भेरीगंगाको पाँडुले र वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाको सिमाना गिरीघाटमा त्रिपालको भरमा बसिरहेका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि ९ किलोमिटरको दूरीमा रहेको बराहताल गाउँपालिका-२ गिरिघाट खोला किनारमा त्रिपालले छाएको बस्ती भेटिन्छ। उक्त बस्ती २०७१ साउनमा आएको बाढीले विस्थापित परिवारको हो।

गिरीघाटस्थित सुकुमवासी बस्ती

कर्णाली राजमार्गको छेउमै कोही खरको छानो हालेर त कोही पाल टाँगेर बसेका छन्। गिरीघाटमा हाल ९५ भन्दा बढी परिवार पालको भरमा जिन्दगी कटाइरहेका छन्। 

२०७१ को बाढीमा परेर बराहताल गाउँपालिका सिस्नेरीमा ९, पाग्मामा २, दुबिचौरमा ६ र थापाडेरामा १० जनाको ज्यान गयो। सिस्नेरीबाट ३२ परिवार विस्थापित भए। साविक हरिहरपुर गाविस वडा नम्बर १, २, ३, ४, ५ र ६ स्थित भेरी नदी किनारका बस्तीमा बाढी पसेको थियो।

यो विपद् भएको मंगलबार (साउन २९ गते) १० वर्ष पूरा भएको छ। अझै पनि ती बाढीपीडितका आँखा ओभाएका छैनन्। बाढीले सबै सम्पत्ति बगाएपछि उनीहरू टहरोमा बसेर बिहान–बेलुकीको छाक टार्न संघर्षरत छन्।

बाढीले भएभरको जग्गा बगरमा परिणत गरिदिएपछि अन्यत्र जग्गा किनेर घर बनाउने क्षमता उनीहरूको छैन। अहिले उनीहरू बसिरहेको छानोले हावा, पानी, घाम थेक्नै सक्दैन। अर्कातिर वन कार्यालयले पनि राजमार्गको छेउमा बसेको भनेर पटक–पटक बस्ती हटाउन दबाब दिइरहेको बाढीपीडित गुनासो गर्छन्। 

बाढीपीडित ४७ वर्षीय रुपलाल विकले भने, ‘हामीलाई सरकारबाट पुर्स्थापना हुन्छ भन्ने आस नै मरिसक्यो। बरु उल्टै बस्ती खाली गर्न सरकारी निकायबाटै दबाब आएको छ। अब कहाँ जाने, के खाने, परिवारमा चिन्ता बढेको छ।’

५८ वर्षीय शेरबहादुर कामीको १० कठ्ठा जमिन २०७१ मा भेरी नदीले बगर बनाएपछि घरबारविहीन भए। अहिले उनी चार जनाको परिवार पाल्न वीरेन्द्रनगर बजार क्षेत्रमा मजदुरी गर्छन्। उनले कमाएर नल्याए उनको चुल्हो बल्दैन। छोराछोरी सानै छन्। श्रीमती पनि दीर्घरोगी छिन्।

उमेर ढल्किँदै गएपछि पहिलाजस्तो काम गर्न नसकेको शेरबहादुर बताउँछन्।

३० वर्षीया गीता विकको दु:ख पनि उस्तै छ। गुजाराको कुनै उपाय नभएपछि उनका श्रीमान् मजदुरीका लागि भारतमा छन्। उनले पैसा नपठाए गीतालाई घरखर्च टार्न समस्या पर्छ। भन्छिन्, ‘सुरुमा गिरीघाट र काँसीगढ खोलाबाट गिट्टी, बालुवा तथा जंगलबाट दाउरा संकलन गरेर अलिअलि आर्थिक जोहो हुन्थ्यो। तर, अहिले गिट्टी, बालुवा बिक्री हुन छाड्यो। सामुदायिक वनले दाउरा काट्न दिँदैनन्।’

बाढीपीडित संघर्ष समितिकी अध्यक्ष सिर्जना विकले त्रिपालमुनि विशेषगरी महिला तथा बालबालिकालाई बढी समस्या हुने गरेको बताइन्। महिनावारी भएका बेला झन् समस्या हुने उनी बताउँछिन्। उनले भनिन्, ‘राजमार्गको छेउमा खुला झुप्रामा हुर्केका छोरीहरूलाई गलत दृष्टिकोण भएका व्यक्तिहरूबाट जोगाउनै सकस छ। मजदुरीका लागि पुरुष भारतमा छन्। उचित बासको व्यवस्थापन नहुँदा बालबालिकाको पढाइमा पनि ठूलो असर परेको छ।’

गिरीघाटमा आश्रय लिइरहेका बाढीपीडितहरू गिट्टी कुट्ने, बालुवा चाल्ने, दाउरा काट्ने, ट्याक्टरमा समान लोड/अनलोड गर्ने गरेर जसोतसो जीवन धानिरहेका छन्। 

घर नजिकको सरकारका रूपमा चिनिने स्थानीय सरकारले पनि आफूहरूका विषयमा कुनै चासो नदिएको बाढीपीडितको दुखेसो छ।

बाढीपीडितहरूको समस्या समाधानका लागि आवाज उठाउन गठित दबाब समूहकी अध्यक्ष सिर्जनाले उक्त बस्तीमा भोट माग्न आउने नेताहरूको ‘एजेन्डा’ जहिले पनि आफूहरूको समस्या हुने तर चुनाव जितेर गएपछि वास्तै नगर्ने गुनासो गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .