रोजगारीका लागि माल्टा र सिंगापुर पुर्याइदिने भन्दै ठगी गर्ने सुर्खेतका कमानसिंह कामीविरुद्ध नगरपालिकामा दर्ता भएको उजुरीबारे सुनुवाइ नभएको पीडितहरूले गुनासो गरेका छन्।
गुर्भाकोट नगरपालिका–९ का कमानसिंहविरुद्ध गत असार १४ गते उजुरी दर्ता भएको थियो। नगरको न्यायिक समितिका सदस्य चित्रबहादुर विकले उजुरी दर्ता पनि गरेका थिए।
पीडितहरूका अनुसार दर्ता नम्बर १९ मा उजुरी दर्ता भएको थियो। उनले एक हप्ताभित्र दुवै पक्षलाई बोलाएर छलफल गर्ने पनि बताएका थिए।
तर, हप्तौं बित्दापनि कुनै ठोस छलफल नभएको पीडितहरूको गुनासो छ। कमानसिंह सम्पर्कमा नभएपछि न्यायका लागि नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएको पीडितमध्येका एक तुलबहादुर बुढा बताउँछन्।
कमानसिंहले विभिन्न बहानामा राम्रो कमाइ हुने आश्वासन देखाउँदै ठगी गरेको आरोप पीडितहरूको छ। यसरी ठगी गर्नेमा कमानसिंहसहित उनका जेठान नाता पर्ने दाङका यामबहादुर विक पनि रहेका छन्।
गुर्भाकोट नगरपालिका–९ का तुलबहादुर बुढा, शेरबहादुर पुन मगर, नन्दलाल घर्ती, लक्ष्मी पुन, दीपक वली, कमल वली, छविकुमार खत्री, गुर्भाकोट–४ का हरिबहादुर वली, कीर्तिलाल डाँगी र खुमबहादुर वली गरि जम्मा १० जनाले नगरपालिकामा उजुरी दर्ता गराएका हुन्।
गुर्भाकोट नगरपालिका–९ बोटेचौरका राजु खड्का र सोही ठाउँका जीवन भट्टराईलाई साक्षी राखेर उजुरी निवेदन तयार पारिएको अर्का पीडित हरिबहादुर वलीले जानकारी दिए।
पीडितको गुनासो:
उपप्रमुखकै श्रीमान्बाट ठगी
यसरी ठगी गर्ने कमानसिंह अरू कोही नभएर सोही नगरपालिकाकी उपप्रमुख मैना विकका श्रीमान् हुन्।
विक गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन्। श्रीमान्ले गरेको ठगीको उजुरी दर्ता भएको निकायको संयोजक उनै उपप्रमुख विक छिन्।
तर, श्रीमान् महिनादिनदेखि नै आफ्नो सम्पर्कमा नभएको भन्दै पीडितहरूको न्यायका लागि आफू प्रतिवद्ध रहेको उनले बताउँदै आएकी छिन्।
नगरमा दर्ता भएको उजुरीमाथि घरमा छलफल!
नगरपालिकामा दर्ता भएको उक्त उजुरीमाथि उपमेयर विकले घरमा बोलाएर छलफल गरेको पीडितहरूले बताएका छन्।
उजुरी दर्ता भइसकेपछि उपप्रमुख विकले न्यायिक समितिका सदस्यहरूसहितलाई घरमा बोलाएर छलफल गरेकी हुन्।
छलफलमा पीडितहरूसहित वडा नम्बर ९ का वडाध्यक्ष ज्ञानबहादुर खत्री, नेपाली कांग्रेस वडा सभापति प्रेमबहादुर वली लगायत उपस्थित थिए।
‘कमानसिंह सम्पर्कमा नआएपछि उजुरी हालेका थियौं,’ पीडित बुढाले भने, ‘उहाँ न्यायिक समितको संयोजक पनि हुनुहुन्छ। तर, उहाँले नगरपालिकामा नभई घरमै बोलाएर छलफल गराउनुभयो।’
छलफलको क्रममा उपप्रमुख विकले पैसा आए नआएको बैंक स्टेटमेन्ट हेर्ने र न्याय दिने आश्वासन दिएकी थिइन्। तर, उक्त छलफलमा कुनै लिखित सहमति भने भएको थिएन।
अर्की पीडित लक्ष्मी पुनले गाउँकै मान्छे भएकाले पैसा नफस्ला भनेर विश्वास गरेको बताइन्।
‘आफ्नै गाउँको मान्छे भएकाले पैसा फस्दैन् होला, विदेश जान सजिलो हुन्छ भनेर विश्वास मान्यौं,’ उनले भनिन्, ‘विदेश पठाउने कुनै चासो दिनुभएन्। आज–आज÷भोली–भोली भन्दै ढाँट्नुभयो। त्यसपछि हामी ठगीएको थाहा पाएपछि न्यायका लागि विभिन्न ठाउँमा धाएका छौँ।’
उपप्रमुख भन्छिन्– क्षेत्राधिकार बाहिरको मुद्धा हेर्न मिल्दैन
उप–प्रमुख विकले न्यायिक समितिमा ठगीको मुद्दा दर्ता भएको तर, नगरपालिकाको क्षेत्रधिकार भित्र नपर्ने बताइन्।
‘उहाँहरुले नगरपालिकमा म नभएको बेला मुद्दा दर्ता गराउनु भएको रहेछ। त्यो क्षेत्राधिकार भन्दा बाहिरको मुद्दा पनि हो। हामीले हेर्न नमिल्ने हो,’ उनले नेपालखबरसँग भनिन्, ‘तर, त्यो दिन पत्रकारसहितको टोली निवेदन दर्ता गर्न जाँदै गर्दा न्यायिक समितिका साथीहरूले दर्ता गरिदिनु भएछ।’
उनले पीडितहरुको पैसा एक वर्षभित्र फिर्ता गर्ने वातावरण बनाउने पनि बताइन्।
‘म न्यायिक समितिको संयोजक मैनालाई हैन् होला, उहाँहरूले हालेको मुद्दा कमानसिंहलाई होला,’ विकले भनिन्, ‘कमानसिंहलाई अपराधबाट बचाइदेउ मैले भन्न पनि नमिल्ने होला। जसले गल्ती गरेको छ उ नै सजायको भागीदार हुनुपर्छ।’
‘प्रतिव्यक्तीको एकमुस्ट यती हुन्छ। यदी तपाईंहरूले पैसा फिर्ता गर्दाका लागि मसँग आश गर्नुभएको छ भने मैले वकालत गर्ने कुरा बाँकी छ। म त्यो गर्छु,’ उनले भनिन्,‘उसैको (कमानसिंह) घर बेचेर भएपनि सबैको पैसा एकवर्षभित्र फिर्ता गर्ने वातावरण मैले मिलाउँछु।’
उनले आफू कागज गर्न पनि तयार रहेको बताइन्।
Shares
प्रतिक्रिया